१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०९:४०:००
Read Time : < 1 मिनेट
नयाँCity

गल्फमा अब्बल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०९:४०:००

प्रदीपकुमार श्रेष्ठ स्कुलमा फुटबल, बास्केटबल र क्रिकेट खेल्थे । भारतको दार्जिलिङस्थित नर्थ प्वाइन्ट कलेज पढ्दा फुटबलको ‘टिम क्याप्टेन’ थिए । त्रिभुवन विश्वविद्यालय पढ्दा पनि फुटबल टिमको ‘क्याप्टेन’ भए । तर, अहिले फुटबल खेल्दैनन् । ‘समय दिन नसक्ने भएपछि फुटबल छाडेँ,’ उनको कथन छ ।

खेललाई भने उनले माया मारेका छैनन् । अहिले गल्फ खेल्छन् । गल्फ चाहेको समयमा खेल्न सकिने र शारीरिक दबाब नपर्ने हुँदा उनलाई समय मिलाउन सहज छ । उनी बिदाको दिन गोकर्ण फरेस्ट गल्फ कोर्स पुग्छन् । गल्फ खेलेरै दिन बिताउँछन् । अरू दिन एयरपोर्टको गल्फ कोर्स जान्छन् । बिहान ७ देखि ९ बजेसम्म खेल्छन् ।

प्रदीपले एयरपोर्टको रोयल नेपाल गल्फ क्लबबाट खेल्न सुरु गरेका थिए । खेल्न थालेको तीन दशक नाघिसक्यो । ‘अब त गल्फ नखेली बस्नै सक्दिनँ,’ उनको कथन छ ।उनले स्वदेश तथा विदेशमा थुप्रै प्रतियोगिता खेलेका छन् । साउथ अफ्रिका, क्यानडा, फिलिपिन्स, टर्की, अस्ट्रेलिया, क्यानडा, अमेरिकाका प्रतियोगितामा भाग लिएका छन् । साउथ अफ्रिका, अस्ट्रेलिया र क्यानडामा त अवार्ड नै जितेका छन् । ‘विश्वको उत्कृष्ट गल्फरसँग पनि खेल्न सक्छु,’ उनले आत्मविश्वास देखाए ।

व्यापारमा करोडौँ नाफा गरेभन्दा बढी खुसी गल्फ जित्दा लाग्ने उनको अनुभव छ । व्यवसाय कम्पनीले गर्ने हो । नाफा–घाटा टिमवर्कमा भर पर्छ । ‘व्यवसायमा बर्सेनि नाफा–घाटा भइरहने हुनाले नियमित प्रक्रियाझैँ लाग्छ,’ प्रदीप भन्छन्, ‘गल्फ सुरुदेखि नै आफ्नो नियन्त्रणमा हुन्छ, राम्रो नखेले हारिन्छ, जितेको क्षण आनन्ददायी हुन्छ ।’