स्थलगत रिपोर्ट
राजधानीछेउकै काभ्रे बेथानचोकमा केही मान्छे अझै पनि बेपत्ता छन् । सडक, सञ्चार र विद्युत् पूर्ण रूपमा विच्छेद भएसँगै खाद्यान्न र औषधि पनि अभाव हुने स्थिति देखिएको छ ।
संघीय राजधानी काठमाडौंबाट मात्र ५० किलोमिटरको दूरीमा छ, काभ्रेको बेथानचोकस्थित ढुङखर्क बजार । तर, अहिले कर्णालीको विकट गाउँभन्दा कम छैन यहाँको अवस्था । आवागमनका लागि सडक छैन, सञ्चारका लागि टेलिफोन छैन, अँध्यारो हटाउन बिजुली छैन, पिउनलायक पानीसमेत छैन । अब त खाद्यान्न र औषधि पनि अभाव हुने अवस्थामा पुग्दै छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले भने, ‘ढुङखर्क बजार मात्रै होइन, बेथानचोकमा कुनै त्यस्तो गाउँ छैन जहाँ बाढी र पहिरोले क्षति नपुर्याएको होस् । सञ्चारबाट मात्रै होइन, सडक सञ्जालबाट समेत गाउँ पूर्ण रूपमा विच्छेद छ । स्थानीयले बिजुली बत्ती बाल्न पाएका छैनन् । न पिउनयोग्य पानीकै व्यवस्था छ । बाढी र पहिरोले बेथानचोकमा अपूरणीय क्षति पुर्याएको छ ।’
गत साता बुधबार (९ असोज) साँझदेखि शनिबार (१२ असोज) बिहानसम्म परेको अविरल वर्षाले स्थानीय सलाङदुङ खोलामा भीषण बाढी आयो । बाढीले खोलाआसपासका बस्ती सोहोर्दै बगरमा बदलिदियो । दुवैतर्फ व्यापक कटान गरेपछि आसपासका पाखाहरूमा पनि पहिरो गयो । घरहरू ढले, घरभित्रै मान्छेहरू पुरिए । वर्षा पूर्ण रूपमा रोकिएको तीन दिनसम्म पनि बाढी–पहिरोमा परेका कतिपय मानिस भेटिएका छैनन् ।
बेथानचोक– ३ की ४३ वर्षीया सबिता शंकर गत शुक्रबारको पहिरोमा पुरिइन् । १२ वर्षीय समीर शंकर पनि आमासँगै पहिरोमा पुरिए । तीन दिनपछि आइतबार स्थानीय र नेपाली सेनाको टोलीले उनीहरूको शव निकाल्यो । तर, दाहसंस्कार गर्ने परिवारका सदस्य गाउँबाहिर रहेकाले घर पुग्न सकेनन् । किनभने गाउँ पुग्ने सडक पूर्ण रूपमा ध्वस्त छ ।
मंगलबार बल्ल एक छोरा गाउँ पुगेपछि दुई दिनपछि शव उठ्यो । बिहान आमा–छोराको शव दाहसंस्कारका लागि घाटतर्फ लैजाँदै गर्दा भेटिएका ६० वर्षीय रामबहादुर स्याङ्तानले भने, ‘शुक्रबारको पहिरोले आमा–छोरा नै पुरिए, निकाल्न सकिएन । दुई दिनपछि बल्लतल्ल शव निकालियो, तर बाटो नभएकाले परिवारका सदस्य आउन नसक्दा दाहसंस्कार रोकियो । आज उनीहरू बल्लतल्ल आइपुगेपछि दाहसंस्कार हुने भयो ।’
सलाङदुङ खोला बेथानचोक गाउँपालिका– ४ को बगर बजार हुँदै पनौतीतिर बग्छ । पनौती र बेथानचोकको सीमारेखा नै यही खोला हो । सलाङदुङदेखि बेथानचोकको पालिका केन्द्र ढुङखर्कसम्मको दूरी ६ किमि मात्रै हो । बगर बजारबाट पक्की सडकमा गुडेर ढुङखर्क पुग्न बढीमा आधा घण्टा लाग्थ्यो । तर, अहिले सलाङदुङले सडक नै बगरमा बदलिदिएपछि पैदल हिँड्ने गोरेटोसम्म छैन । त्यसैले घुमाउरो यात्रा गर्दै ढुङखर्क पुग्न अहिले पाँच घण्टाभन्दा बढी समय लाग्छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘ढुङखर्क जोड्ने सडक अहिले सडकजस्तो छैन । पूर्ण रूपमा बगरमा परिणत भएको छ । सडक खन्ने एक्स्काभेटर मेसिन नै सहजै पुग्न सक्ने अवस्था छैन ।’
बिजुलीका पोल सडकमै ढलेका छन् । टेलिफोन र बिजुलीको तारका लट्ठा सडकमा धराप बनेर अड्किएका छन् । ढलेका रुख पनि असरल्ल छन् । ‘बिजुलीका पोल र तार तथा रुखहरू सडकमै असरल्ल छन् । ज्यानको बाजी थापेरै भए पनि स्थानीय सोही ठाउँबाट आउजाउ गर्न बाध्य छन्,’ बेथानचोक– ३ का जीवनाथ घिमिरेले भने ।
बेथानचोक गाउँपालिकाको कार्यालय छेवैबाट बग्छ, लड्कु खोला । शुक्रबारको बाढीले यो खोलामा पनि दुवै किनारको ग्याबिन वाल भत्कायो । बाढीमा सोहोरिएर आएका काठ, ढुंगा र माटोको लेदो गाउँपालिकाको कार्यालयभित्र छिर्यो । त्यति वेला सुरक्षागार्ड ४५ वर्षीय देवविक्रम तिमल्सिना कार्यालयमै सुतेका थिए । गडगडाउँदै आएको बाढीले उनलाई रातको करिब ११ बजे बिउँझायो । टर्च बालेर हेर्दा कोठाभित्र माटोको लेदो छिरिसकेको थियो । आत्तिएका उनी बल्लतल्ल कोठाबाट बाहिर निस्किए । कार्यालयको छतमा उक्लिएर ज्यान जोगाएको उनले बताए । ‘त्यो रातभर अविरल वर्षामा रुझेर छतमै बसेँ, अहिले सम्झिँदा पनि कहाली लागेर आउँछ,’ उनले भने ।
बेथानचोक– ३, सहेँलेकी ४५ वर्षीया मैया घिमिरेको सबै बारी पहिरोमा बग्यो । बारीमा पाकेका मकै थिए । ती पनि पहिरोसँगै बगे । त्यही पहिरो करेसाबारीमा पनि बज्रियो, आँगनभरि माटोको लेदो थुप्रियो । श्रीमान् र छोराछोरी लिएर उनी पहिरो छल्न अर्को दिशातर्फ भाग्न खोजिन् । तर, त्यता पनि हालत उस्तै देखियो । भाग्ने ठाउँ नपाएपछि उनीहरू रातभर घरको आँगनमै उभिएर जीवनको आशा गरिरहे । धन्न जोगिए । कोदालोले आँगनको लेदो पन्छाउँदै गरेकी उनले भनिन्, ‘दुई रोपनी बारीमा पाकेका मकै थिए, सबै पहिरोसँगै माटोमा मिले । घरमा खाने रासन छैन । न राहत लिएर कोही आएका छन् । पहिरोसँगै बगेर आएको माटो पन्छाएर अझै सकिएको छैन ।’
घिमिरेको भन्दा फरक छैन, सहेँलीकै ३७ वर्षीया रुकमाया वाइबाको अवस्था । पहिरोले लुँड्याएर ल्याएको भग्नावशेषले उनको घरको ढोका थुनिएको छ । माटोको लेदोले कोठा भरिएका छन् । घर धराप बनेको छ । ‘पहिरोमा त बल्लतल्ल बाँचियो, तर पहिरोले छाडेर गएको फोहोरले घरमा बसिसाध्य छैन । पहिरोसँगै खसेको ठुलो ढुंगाले घरको ढोका नै बन्द छ ।’
बाढी आउनुअघि बेथानचोक– ४, पाटीखर्कमा भव्य बजार थियो । घरहरू पक्की थिए । सडक कालोपत्रे थिए । बजारमा स्थानीयको चहलपहल बाक्लो थियो । तर, अहिले बजार सुनसान बगरमा बदलिएको छ । घरहरू ढुंगा र बालुवाले पुरिएका छन् । सडकको नामोनिसान भेटिँदैन । ‘यहाँ त बस्नै नसकिने भएपछि सबै स्थानीय पनौती र बनेपातर्फ हिँडेका छन्,’ पाटीखर्कमा भेटिएकी ४० वर्षीया अनिता महतले भनिन् ।
बेथानचोक– ४, पाटीखर्कभन्दा करिब एक किमिमाथि कम्तीमा १२ ट्रक बगरमा पुरिएको भेटिए । ट्रकमाथि अहिले सलाङदुङ खोला बगिरहेको छ । बाढी आउनुअघि त्यहाँ ठुलो क्रसर उद्योग पनि थियो । त्यहाँ भेटिएका बेथानचोक– २ का ६६ वर्षीय पुण्यप्रसाद तिमल्सिनाले भने, ‘यस्तो विध्वंस मैले जीवनमा देखेको थिइनँ । यसपालि के विपत्ति आइलाग्यो ? म कल्पना पनि गर्न सक्दिनँ,’ उनले भने ।
बेथानचोक गाउँपालिकामा बाढीले पुर्याएको विध्वंसको तह यस्तो छ कि पीडितहरूको उद्धार स्थानीय तहबाट मात्रै सम्भव देखिँदैन । स्थानीय जनप्रतिनिधि दिनरात उद्धारमा खटिए पनि जनअपेक्षाअनुसार उद्धार हुन सकेको छैन । सडक बिग्रिएर सबै ठाउँमा एक्स्काभेटर पुग्न नसक्दा बेपत्ताहरूको खोजीमा समस्या भएको छ । आइतबार मात्रै सेनाको टोली केही स्थानमा पुगेका छन्, तर आवश्यक औजार नहुँदा उद्धार प्रभावकारी हुन सकेको छैन ।
‘संघ र प्रदेश सरकारबाट उद्धारका लागि कुनै पनि पहल हुन सकेन । राजधानीबाट ५० किमि मात्र टाढा छ घटनास्थल । तैपनि यत्रो समयसम्म उद्धार र राहतको व्यवस्थापन भएको छैन,’ गाउँपालिका उपाध्यक्ष तारा तिमल्सिनाले गुनासो गरिन् ।