लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन्। रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताएका हुन्।
प्रदेश सरकारले बृहत् लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको उनको भनाइ छ। तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने उनले बताए। ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ। तिलौराकोटदेखि नवलपरासीको रामग्राम सम्मका सम्पदाहरूलाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ,’ उनले भने, ‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्ने गरी यो अवधारणा हामीले अघि सारेका हौँ। बृहत् रूपमा लुम्बिनी सर्किटको अवधारणा छ।’