नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणमा १० खेलाडीले २ सय रन बनाएका छन्। जसमा ६ खेलाडी विदेशी र चार नेपाली छन्।
सर्वाधिक रन बनाउनेमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्था शीर्ष स्थानमा रहे। उनले १० खेलमा २९३ रन बनाए।
दोस्रो स्थानमा रहेका चितवन राइनोजका रवि भोपाराले २८६ र तेस्रो स्थानमा रहेका रोहित पौडेलले २७९ रन बनाए।
सुदुरपश्चिम रोयल्सका सेफ अली जैबले २७५, जनकपुरका जेम्स निशमले २४७, सुदुरपश्चिममा विनोद भण्डारीले २३५, सुदुरपश्चिमकै दीपेन्द्रसिंह ऐरीले २२७ रन बनाए।
त्यस्तै, पोखरा एभेन्जर्सका एन्द्रीस गौसले शतकसहित २२४, चितवनका कुशल मल्लले २२३ र सुदुरपश्चिमका ब्रान्डन म्याकमुलमले २०१ रन बनाएका छन्।
दुई सय रन कटाउनेमा सुदुरपश्चिममा मात्र तीन खेलाडी छन्।
एनपिएलको पहिलो संस्करणमा शनिबार सुदुरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो।