नेपाल र अमेरिकाबिच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ । सो सहमतिसम्बन्धी समझदारीपत्रमा दुई देशबिच सोमबार हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्त राज्य अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले वासिंटनडिसीमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् परराष्ट्रमन्त्री डा. राणा र अमेरिकी उपविदेशमन्त्री बासबिच नेपाल–अमेरिका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्री डा. राणाले यो सम्झौता नेपाल र अमेरिकाबिचको सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्न यस सम्झौतामार्फत सहयोग पुग्ने धारणा राखिन् ।
साथै यस सम्झौताले दुई देशबिच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्गप्रशस्त गर्ने पनि मन्त्री डा. राणाले बताइन् ।