इसाई धर्मावलम्बीहरूको महान् पर्व ख्रिस्टमसको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिस्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इसाई धर्मावलबीहरूको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिए। उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् ।
अध्यक्ष मल्लका अनुसार ख्रिस्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ । ख्रिस्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।