मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Thursday, 19 December, 2024
बिहीबार रातिको भीषण वर्षापछि आएको मोहना नदीको बाढीले कैलालीको कैलारी गाउँपालिकाका डुबानमा परेका गाउँ
मोहन विष्ट कञ्चनपुर
२o८१ भदौ २९ शनिबार o६:o४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीले कैलाली, कञ्चनपुर र  बर्दियामा ३२८ परिवार विस्थापित

Read Time : > 3 मिनेट
२o८१ भदौ २९ शनिबार o६:o४:oo

- पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात अवरुद्ध
- सुर्खेत–जुम्ला सडक ३० घण्टापछि सुचारु

बाढी र डुबानले कैलाली, कञ्चनपुर र बर्दियामा ४४५ परिवार विस्थापित भएका छन् । कैलालीमा १६२, कञ्चनपुरमा दुई सय र बर्दियामा ८३ परिवार विस्थापित भएको स्थानीय प्रशासनले जनाएका छन् । विस्थापित परिवार विद्यालय, सामुदायिक भवन र आफन्तको शरणमा छन् ।

कर्णाली नदीको बाढीले विस्थापित भएका टीकापुर नगरपालिका– ८ वनगाउँमा ११० परिवार वडा कार्यालयको भवनमा बसिरहेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पथरैया नदीको बाढीले जानकी गाउँपालिका– ४ र ७ का ३२ परिवार विस्थापित भएका छन् । त्यस्तै, भजनीमा १३, गोदावरीमा तीन तथा जोशीपुर र कैलारी गाउँपालिकामा दुई–दुई परिवार विस्थापित भएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार कञ्चनपुरका दुई सय विस्थापित परिवारलाई सामुदायिक भवन र विद्यालयमा राखिएको छ । ‘दोधाराचाँदनी– ३ पटराखल्लाका २७ परिवार विद्यालयमा छन् । उनीहरूलाई अलि लामो समयसम्म विद्यालयमा राख्नुपर्ने देखिन्छ,’ सापकोटाले भने, ‘बाँकी क्षेत्रमा रहेकाहरू शनिबारसम्म घर फर्किसक्नुहुन्छ होला ।’

दोदा नदीले पुनर्वास नगरपालिका–५सिमरी रातोखोले दशरथ बस्तीका ७० परिवार विस्थापित भएका हुन् । दोदासँगै भुजेला खोलाले भीमदत्त नगरपालिका ११, १२ र १३ का ४० परिवार र जगबुडा नदीले दोधाराचाँदनी नगरपालिका–३ पटराखल्लाका २७ परिवार, १० निसानी टोलका ४०, कुतियाकबर टोलका ४० परिवार विस्थापित छन् । 

त्यस्तै, कर्णाली र बबई नदीको बाढीले बर्दियाका ८३ परिवार विस्थापित भएका छन् । कर्णालीको राजापुरस्थित भदाली नाला भएर बस्तीमा पस्दा ८० घर र गेरुवा गाउँपालिका– २ राजीपुरमा तीन घरपरिवार विस्थापित भएको स्थानीय प्रशासनले जनाएको छ । उनीहरू छिमेकीको घरमा बसिरहेका छन् । बबई नदीको पानीले गुलरिया नगरपालिका– ५ बालापुरका पाँच घरमा पानी पसेको छ । 

बाढीले बगाउँदा दुई बालिका बेपत्ता
डोटी र डडेल्धुरामा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ धनुसेकी १४ वर्षीया प्रतिमा धामी र डोटीको केआइसिंह–४ वायलका आठ वर्षीया निर्मला चन्द खोलामा बगेर बेपत्ता भएकी हुन् ।

धामी घरबाट बिहान ट्युसन पढ्न विद्यालय जाने क्रममा स्थानीय जमरानी खोलामा बगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनी स्थानीय बैजनाथ माविमा १० कक्षामा अध्ययनरत थिइन् । स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्य भट्टका अनुसार छिमेकी पालिका बोग्टान फुड्सिलको गगुडा घर भएकी चन्द मामाघर बस्दै आएकी थिइन् । स्थानीय बजारमा बिहान दुध पुर्‍याउन जाने क्रममा खोलाले बगाएको हो । 

त्यस्तै, बड्डीकेदार गाउँपालिका पहिरोमा पुरिएर श्रीमान्–श्रीमती घाइते भएका छन् । अविरल वर्षापछि बिहीबार राती घरमाथि खसेको पहिरोमा पुरिएर बड्डीकेदार–४टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकीश्रीमती ४० वर्षीय भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ । घरमा केही चौपायासमेत पहिरोमा पुरिएका छन् ।

पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात अवरुद्ध
पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ । कैलाली, कञ्चनपुरलाई पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । शुक्रबार बिहानैबाट राजमार्ग अवरुद्ध बनेपछि कैयौँसवारीसाधन बिचबाटोमै रोकिएका छन् ।

कैलालीको भाँसु, डोटीको बुडर र डडेल्धुराको मेलखर्कमा पहिरोले भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । भाँसुमा शुक्रबार दिउँसो पहिरो गएको हो । भाँसुकै अर्को ठाउँमा बिहान गएको पहिरो दिउँसो पन्छाइएको थियो । त्यस्तै, बुडरमा पहिरो पन्छाइएको ठाउँमा बेलुकी पुनः खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । त्यहाँ बिहान गएको पहिरो दिउँसो डोजरले पन्छाएको केही समयमै पुनः खसेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गंगादत्त भट्टले भीमदत्त राजमार्गमा पहिरो पन्छाउने काम नसकिएको र विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी रहेकाले राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको जानकारी दिए । उनले डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको बताए । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन र यात्रुहरूबिचबाटोमै अलपत्र परेका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको साहुखर्कमा बिहीबार राति गएको पहिरो शुक्रबार बेलुकीसम्म एकतर्फी गाडी चल्न सक्ने गरी पन्छाइएको छ ।  भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा पनि पहिरो पन्छाउने काम सकिएको छैन । ‘पहिरो पन्छाएर एक ठाउँमा खोले अर्को ठाउँमा गइहाल्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब निरीक्षक प्रकाश धामीले भने, ‘पहिरोले राजमार्ग अवरुद्ध बनेपछि सवारीसाधनहरूबिचमै रोकिएका छन् ।’ डडेल्धुराको सदरमुकाममा समेत पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । 

डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग पनि पहिरोका कारण बिहानैदेखि पूर्णरूपमा अवरुद्ध छ ।  राजमार्गअन्तर्गत रडुवाखोलादेखि कोरालखोलासम्म सात ठाउँमा सानाठुला पहिरो गएको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए । यो राजमार्ग भएर डोटी, अछाम र बाजुरा पुगिन्छ ।

भीमदत्त राजमार्गअन्तर्गत सत्बाँज–गोकुले खण्ड अवरुद्ध छ । बैतडीको खोड्पेदेखि बझाड जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध छ । राजमार्गअन्तर्गत बझाडको छबिसपाथीभेरा गाउँपालिकाको जालीबगर र केदारस्युँ गाउँपालिकाको बालुवाटार खण्डमा पहिरो गएको हो ।

सुर्खेत–जुम्ला सडक ३० घण्टापछि सुचारु

वर्षासँगै ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध भएका कर्णाली प्रदेशअन्तर्गतका सडक शुक्रबार दिउँसोबाट सुचारु भएका छन् । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्डको गगने खोला क्षेत्रमा पहिरो खस्दा बिहीबार बिहानदेखि अवरुद्ध सडक ३० घण्टापछि शुक्रबार दिउँसोबाट सुचारु भएको हो । 

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार दुई साताअघि गगने खोला क्षेत्रमा पहिरो जाँदा चार दिन सडक अवरुद्ध भएको थियो । सुर्खेत–जुम्ला सडकअन्तर्गत तल्लो डुंगेश्वरनजिकै रहेको पाताले खोला क्षेत्रमा अवरुद्ध भएको सडक पनि सुचारु भइसकेको सडक डिभिजन कार्याल सुर्खेतका इन्जिनियर अशोक चौधरीले बताए । 

उनले शुक्रबार बिहान १० बजेबाट अवरुद्ध भएको सडक दिउँसो सञ्चालनमा आएको बताए । ‘पाताले खोला क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । जेसिबी लगाएर पहिरो पन्छायौँ । अवरुद्ध भएको करिब ६ घण्टापछि सडक सञ्चालनमा ल्याएका छौँ । पहिरो हटाउन जेसिबी तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।