१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Saturday, 21 September, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नगर परिक्रमाका क्रममा पलेसासहित नेपाली टोली । तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ २० बिहीबार o६:४७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पलेसाको भव्य स्वागत : सरकारबाट दिइने ६५ लाख पुरस्कारमा कर छुट गरिने

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o६:४७:oo

पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनसहित नेपाली टोलीको बुधबार नगर परिक्रमासहित भव्य स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पलेसासहितको टोलीलाई भव्य स्वागत कार्यक्रम गरिने मंगलबार नै सार्वजनिक गरेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ८:३० बजे ओर्लेकी पलेसालाई खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत समर्थक तथा खेलकर्मीले स्वागत गरेका थिए । 

विशेष सुरक्षा व्यवस्थामा पलेसा विमानस्थलबाट बाहिरिएकी थिइन् । विमानस्थलबाहिर सयौँको संख्यामा उनको स्वागतमा समर्थक तथा खेलाडी उपस्थित थिए । पारा ओलम्पिकमा कांस्य जितेको खुसियालीमा धेरैले पलेसाको फोटोसहित शुभकामना ब्यानर बोकेका थिए । 

राखेपले व्यवस्था गरेको टोयोटा गाडीमा सवार हुनुअघि उनलाई समर्थकले घेर्दै फोटो लिने र बधाई दिने प्रयास गरेका थिए । सुरक्षा व्यवस्थाका कारण पलेसासँग फोटोसुट गर्न उनीहरूले पाएनन् । टोयोटा गाडीमा पलेसाको दायाँ मन्त्री चौधरी र बायाँ सदस्यसचिव घिसिङ पनि बसेका थिए । विमानस्थलदेखि राखेपको प्रांगणसम्म ओलम्पिकमा सहभागी पारा टोलीसँगै अन्य खेलसँग सम्बन्धित खेलकर्मीले नगर परिक्रमाका क्रममा स्कर्टिङ गरेका थिए । 

यसैगरी, राखेपले पलेसाको सफलता प्रचार गर्दै एउटा अलग गाडीमा माइकिङ गरेको थियो । बाजागाजासहितको टोलीले नगर परिक्रममा गरेकोे थियो । बाटोमा जाम नहोस् भनेर ट्राफिक व्यवस्थापन दुरुस्त पारिएको थियो । नगर परिक्रमा विमानस्थलबाट सुरु भएर गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा बधाई कार्यक्रम आयोजनासहित समाप्त भएको थियो । 

गत शुक्रबार पारा ओलम्पिकअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेसाले सर्बियाली खेलाडीलाई १५–८ को स्कोरमा हराउँदै कांस्य जितेकी थिइन् । यसअघि नेपाली खेलकुदमा एसियाली खेलकुद प्रतियोगितामा प्राप्त दुई रजत पदक नै सर्वोच्च थियो ।  

सम्मान थाप्न भ्याइनभ्याई
राष्ट्रिय खेलकुद परिषद्ले पलेसालाई आफ्नो प्रांगणमा भव्य स्वागतसहित सम्मान गरेको थियो । करिब डेढ घण्टा चलेको कार्यक्रमपछि पलेसा काठमाडौं महानगरपालिकाले नगदसहित राखिएको सम्मान थाप्न पुगिन् । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनको सम्मान गरेका थिए । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले उनको सम्मान गरेका थिए ।

सरकारबाट दिइने ६५ लाख पुरस्कारमा कर छुट गरिने

प्रधानमन्त्री केपी ओलीले नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन् । पुरस्कार राशिमा लाग्ने करसमेत छुट गरिने उनले बताए । ‘पलेसालाई ६५ लाख पुरस्कारसहित सम्मान गरिनेछ । पारा ओलम्पिकमा पलेसाले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने खेलाडीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ ।’ 

एनसेलले १० लाखसहित सम्मान गर्ने
एनसेलले पनि पलेसासहितका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । एनसेलले कांस्य पदक विजेतालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपिसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप सम्मान तथा सहयोग गर्न लागिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताएका छन् । 

काठमाडौं महानगरले दियो पाँच लाख
काठमाडौं महानगरपालिकाले पलेसालाई पाँच लाख नगदसहित सम्मान गरेको छ । बुधबार स्वदेश फर्किएकी पलेसा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले नगदसहित सम्मान गरेको हो । महानगरले प्रशिक्षक लामालाई तीन लाख रुपैयाँ सम्मानस्वरूप दिएको हो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेसा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । यसअघि राखेपबाट पलेसा र प्रशिक्षकलाई महानगरले स्कर्टिङ गरेर कमलादीस्थित मुख्य कार्यालयमा पुर्‍याएको थियो ।

कसले के भने ?

यो सुरुवात मात्र हो : पलेसा गोवर्द्धन, खेलाडी
प्रशिक्षणमा त्यति धेरै सुविधा थिएन । पेरिसको तयारीका लागि एक महिना मात्र प्रशिक्षण सम्भव भयो । प्रतियोगितामा सहभागी भएको दिन गर्न सक्छु भन्ने आत्मविश्वास थियो । जुन योजनाका साथ पेरिस पुगेको थिएँ । त्यो सफल भएको छ । यो सुरुवात मात्रै हो । अझ धेरै बाँकी छ । 

सफल प्रशिक्षक बनाएकोमा धन्यवाद : कविराज नेगी लामा, प्रशिक्षक
मेरो प्रशिक्षणमा ११ वटा पदक प्राप्त भएको छ । त्यसमध्ये सबैभन्दा ठुलो पदक पलेसाले पारा ओलम्पिकमा दिनुभयो । उहाँले मात्रै चारवटा पदक ल्याउनुभएको छ । सफल प्रशिक्षक बनाइदिएकोमा धन्यवाद ।

अर्कोपटक स्वर्णको अपेक्षा छ : रामचन्द्र पौडेल, राष्ट्रपति
पेरिसमा तपाईंले देशको शिर उँचो पार्नुभएको छ । मलाई विश्वास छ– अर्कोपटक स्वर्ण पदक राष्ट्रले पाउनेछ ।

यो कीर्तिमान इतिहासमा लेखिनेछ : केपी ओली, प्रधानमन्त्री

नेपालीले मौका पाएपछि गर्छ भनेर भन्दै आएको छु । पलेसाले नेपालको इज्जत बढाएकी छिन् । यो कीर्तिमान इतिहासमा लेखिनेछ । 

खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्छ : तेजुलाल चौधरी, खेलकुदमन्त्री 
पलेसाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद । राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्छ । खेल विकासमा संघ तथा संस्थाले ध्यान दिनु जरुरी छ । एकतबद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्छ । 

ओलम्पिकमा पदक जित्ने सपना पूरा : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
ओलम्पिकमा पदक जित्ने सपना पूरा भएको छ । ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको छ । अब मिसन– २०२६ एसियाली खेलकुदमा लागेका छौँ । एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य बनाएका छौँ ।