मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १४ शुक्रबार
  • Sunday, 15 December, 2024
दीपक डल्लाकोटी
२o८१ भदौ १४ शुक्रबार १o:४३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली विद्यार्थीको अस्ट्रेलिया मोह 

Read Time : > 2 मिनेट
दीपक डल्लाकोटी
नयाँ पत्रिका
२o८१ भदौ १४ शुक्रबार १o:४३:oo

नेपाली युवालाई स्वदेशमै रोक्नुको साटो सरकारका तर्फबाटै विदेशीसित आफ्ना युवालाई शिक्षा र रोजगारी दिन कहिलेसम्म अनुनय गरिरहने ?

हाम्रा पुर्खाले परापूर्वकालदेखि नेपाललाई नै जन्मभूमि र कर्मभूमि बनाए । एक मुठी सास र एक थोपा रगत रहेसम्म नेपाली माटो र समाजलाई छोडेनन् । गाउँघरमा पैँचो, मेलापर्म, साथसहयोग, हातेमालो चलिरहन्थ्यो । संसारकै नौलो सामाजिक र आर्थिक परिवेश थियो हामीकहाँ । 

यस्तो देशमा आजका युवाले हातमा १२ कक्षा पास भएको प्रमाणपत्र पर्नासाथ पासपोर्ट च्यापेर साउनको भलबाढीझैँ देश छाडेको समाचार पढ्दा कुन नेपालीको मन नदुख्ला ? यसमा दोष सबैको होला । भागमा परेको दोष बाँडेरै सहुँला । 

नेपालको संविधान ०७२ का केही अपवादलाई छाडेर हेर्ने हो भने ती लेखिएका दफा, उपदफा, नियम–कानुनले देशमा अस्थिर सरकार निर्माण, सात प्रदेश, सयौँ मन्त्री र तिनका आर्थिक भार तथा प्रशासनिक भ्रष्टाचारलाई पक्षपोषण गरेको देखिन्छ । सार्वभौम संसद्का सांसदले दुई–चार सयको लोभमा खाजा पनि आइएनजिओको पैसाले खाएका समाचार आउँदा दुःख लाग्छ । यस्तै सानातिना कार्य हुँदै नेपाली राजनीति र प्रशासनमा विदेशीको हस्तक्षेप बढ्ने हो । यसलाई रोक्नुपर्ने जिम्मेवार राजनीतिक नेतृत्व मौन रहनु उदेकलाग्दो छ । पुर्खाले बचाएको हाम्रो गौरवपूर्ण पहिचानमाथि पश्चिमा शक्तिले पैसाको आडमा शैक्षिक हमला गरेको नबुझी हामी युवायुवती झोलातुम्बा बोकी कुदिरहेका छौँ या कुद्न बाध्य बनाइएका छौँ ।

कुनै पनि देशको स्थायी संस्था भनेकै शैक्षिक संस्था हुन् । जुन धरापमा परेकाले विदेशको चुस्त शैक्षिक प्रणाली र विकसित पठ्यक्रमले नेपालको सामाजिक परिवेशमाथि हमला गरी देशलाई दिशाहीन बनाएको प्रस्ट छ । हाम्रै पालामा मौलाएका राजनीतिक पार्टी र विद्यार्थी संगठनले नेपालीपन र नेपाली सभ्यतालाई खण्डित गराउन संस्कृत र नैतिक शिक्षालाई पाठ्यक्रमबाट हटाइदिए । परिणामतः पश्चिमा संस्कार तथा अनुत्पादक शैक्षिक प्रणालीले जोसिला नेपाली युवायुवतीलाई आकर्षित गर्दा उनीहरू आफ्नो मौलिक सामाजिक र पारिवारिक परिवेश त्यागी विदेशी भूमिमा प्रवेश गर्न तँछाडमछाड गरिरहेका छन् । आज जति नेपाली युवायुवती अस्ट्रेलिया, युरोप, अमेरिका तथा क्यानडा पुगेका छन्, तिनका आआफ्नै कथाव्यथा छन् । तर, अस्ट्रेलिया आएका युवायुवतीबारे विभिन्न दुःखद समाचार दिन–प्रतिदिन बढ्नाले यी विषय यहाँ उल्लेख गर्दै छु । 

१८–१९ वर्षको उरन्ठेउलो उमेरमा अस्ट्रेलिया आइपुगेकामध्ये कतिलाई आफ्नो जिम्मेवारीभन्दा आरामदायी, सिर्जनशीलभन्दा आवेगी र चिन्तनशीलभन्दा लहैलहैमा आधारित अपरिपक्व संस्कारले गाँजेको देखिन्छ । अझ अभिभावकका त के कुरा, अरूको देखासिकी, फलानो त्यस्तो, उसको उस्तो, मेरो चाहिँ किन यस्तो भन्दै १२ कक्षा पास गरेका छोराछोरीलाई स्वदेशभन्दा परदेश नै ठिक भन्दै मानसिक दबाब दिने गरेको पाइन्छ । अभिभावकले आफ्ना सन्तानको क्षमता, सीप, ज्ञान र रुचिलाई नजरअन्दाज गरी लहैलहैमा लगानी गर्दा त्यो सब बालुवामा पानीजस्तो भइरहेको छ । 

जसोतसो ऋणधन गरी अस्ट्रेलिया आएका हजारमा सय विद्यार्थी आफ्नै क्षमता, भनसुन, नजिकका आफन्तले तानतुन गरेर जसोतसो बाँचेका होलान्, तर बाँकी नौ सयको अवस्था कहालीलाग्दो भएको यथार्थ हो । नेपाली विद्यार्थीले अस्ट्रेलियामा पाइला राख्दा तिनलाई स्वर्गमै पुगेकोजस्तो अनुभूति हुन्छ । दुई–चार महिना त नेपालबाट ल्याएको पैसा र यहाँको भौतिक सुविधाले सगरमाथाको टुप्पोमै पुगेझैँ पनि लाग्छ । 

तर, जब कलेजका दिन सुरु हुन्छन्, समय बित्दै जान्छ, पढाइको भार थपिँदै जान्छ र पैसाको अभावले पेट पोल्न सुरु गर्छ । सातामा दुई–तीन दिनको पढाइ, कलेज जाउआउ, साँझ वा रातको कामको खोजी वा चार–पाँचघन्टे कामको थकानले आफ्नै स्वास्थ्यको चिन्ताले धेरैलाई सताइरहेको हुन्छ । यता गोजीको पैसा सक्किनु, उता कलेजको शुल्क तिर्ने सूचना, घरबेटीको भाडाको सूचना, फोनको बिल, नेपालबाट आउने फोन कल आदिले विद्यार्थीको टाउको खान थाल्छ । पैसाको अभाव बढ्दै जाँदा भएका धेरथोर साथीभाइ पनि टाढिँदै जान्छन्, एक्लोपनले छोप्दै जान्छ ।

उता नेपालमा रहेका अभिभावक छोराछोरी काममा होलान्, पढाइमा व्यस्त होलान्, फोन उठाउन भ्याएनन् भन्ठान्छन्, यता अस्ट्रेलिया बस्नेका कथाव्यथा बुझिनसक्नुको हुन्छ । नेपाल छँदा आमाले कर गरीगरी खुवाएका र बुबाले माया गरी स्कुल पुर्‍याएका क्षणको कम्ति याद आउँदैन । यता दिनदिनै न भोकको याद रहन्छ, न दिनरात घुमिरहने घडीको सुईकै चासो हुन्छ । हरेक दिन मोबाइलको घन्टीसँगै सुरु हुन्छ दैनिकी । कलेजदेखि कामको चापले शरीरमा आलस्यले सताउँछ, सामाजिक–आर्थिक मनोवेदनाले जीवनमा शून्यता छाउँछ र मानसिक द्विविधायुक्त परिस्थितिले मन बरालिन थाल्छ । भौतिक शरीर बार, रेस्टुरेन्ट वा जुवाघरमा व्यस्त भए पनि मन भने भित्रभित्रै जलिरहेको हुन्छ । नेपालमा हुने अभिभावकलाई यसबारे समयमै थाहा हुँदैन । जब थाहा हुन्छ, त्यतिखेर निकै ढिलो भइसकेको हुन्छ । कलिला युवायुवती बेसहारा भई कठिन जीवन बाँच्न अभिशप्त छन् यहाँ । 

सात समुद्रपारिको चमकधमकले नेपालका घरपरिवार दिनदिनै रित्तिँदै गएका समाचार आइरहन्छन् । गाउँघर त उजाडिइसके । त्यहाँका सुन फल्ने उर्वर जमिन बन्जर चउर र झाडीमा परिणत भइसके । तैपनि, नेपाली युवालाई स्वदेशमै रोक्ने कुनै योजना राज्यले ल्याएको देखिन्न । बरु सरकारका जिम्मेवार मन्त्रीहरू नै विदेशी सरकारसित आफ्ना युवालाई बोलाएर शिक्षा र रोजगारी देऊ भनी अनुनय गरिरहेका हुन्छन् । यस्तो अव्यवस्थामा हाम्रो देश कहिलेसम्म चल्ला ? 

के हाम्रो राज्यले स्वदेशी शैक्षिक संस्थालाई बलिया बनाएर तिमीले यहीँ गुणस्तरीय शिक्षा पाउन सक्छौ, शिक्षा प्राप्तिपछि रोजगारी सुनिश्चित छ । आफ्नो घर, समाज र देश छाडेर विदेश नजाऊ । यहीँ बसेर देश बनाउन सघाऊ भन्न सक्ने अवस्था सिर्जना गर्न सक्दैन ? हामी विद्यार्थी जिम्मेवार जवाफको प्रतीक्षामा छौँ । 

(डल्लाकोटी टोरेन युनिभर्सिटी, अस्ट्रेलियामा अध्ययनरत छन्)