नेपाल र ओमानबिच श्रम सम्झौता गर्ने सहमति भएको छ । दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका ओमानका विदेशमन्त्री सड्ढयद बद्र हमाद हमुद अल बुसाइदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबिच मंगलबार मन्त्रालयमा भएको द्विपक्षीय वार्तामा श्रम सम्झौता गर्ने सहमति भएको हो ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौता गर्ने सहमति भएको र त्यहीअनुसार तयारी गरिने जानकारी दिइन् । उनका अनुसार नेपाल र ओमानबिच दुवैतर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका विषयमा छलफल भएको छ । नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न ओमान इच्छुक देखिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो ।
वार्तामा परराष्ट्रमन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरिन् । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरे पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनको आग्रह थियो । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने जवाफ दिएको मन्त्रालयले जनाएको छ ।
नेपालले नेपाली श्रमिकको हकहित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । ओमान पक्षले पनि नेपाली श्रमिक काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो ।
परराष्ट्रमन्त्री राणाले नेपालको प्राकृतिक सौन्दर्य, सगरमाथालगायत विश्वका आठ हजारभन्दा अग्ला हिमाल एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमनलगायत अन्य सम्भावनामा संयुक्त रूपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन् ।
ब्राजिलको ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल
ब्राजिललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक हिँडेका १७६ नेपाली सकुशल रहेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने सूचना आएको र ट्रान्जिटमा रहेका १७६ जना नेपाली नागरिक सकुशल रहेको उल्लेख गर्दै दूतावासले आवश्यकताअनुसार नेपालीलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको जानकारी गराएको छ । दूतावासले मंगलबार विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा (भिसा) लिएर मात्र ब्राजिल आउन वा ट्रान्जिट बनाउन अपिलसमेत गरेको छ ।
संगठित रूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी अमेरिका प्रवेश गर्ने उद्देश्यले नेपालबाट समेत युवाहरू ब्राजिललगायत दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढिरहेको भन्दै दूतावासले विनाभिसा यात्रा नगर्न भनेको छ । भिसाविना यात्रा गर्दा कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको भन्दै दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी अवैध, जोखिमपूर्ण र अनिश्चित यात्रा नगर्न भनेको हो ।
ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको जानकारी दिँदै दूतावासले प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन अनुरोध गरेको छ । ‘अबउप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने, तर विमानस्थलमा शरणार्थीको मान्यता दिनेछैन,’ दूतावासले भनेको छ ।