१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
२o८१ भदौ १० सोमबार २२:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

ब्लडमनी तिरेर साउदी जेलबाट मुक्त यादव माफी माग्न पीडित परिवारको घरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार २२:२५:oo

साउदी अरबमा रहँदा आफूसँगै बस्ने साथीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय भोगेका धनुषाका रामआशिष यादव स्वदेश फर्किएलगत्तै पीडित परिवारसँग माफी माग्न सोमबार भैरहवा आएका छन् ।

यादवले हात जोडेर रुपन्देहीवासी र दुर्गाप्रसाद शर्माको परिवारसँग माफी मागेका थिए । ‘एउटै कम्पनीमा काम गर्नेक्रममा झगडा हुँदा अन्जानमै दुर्गा दाइको ज्यान गएको थियो,’ उनले भने, ‘दाइको ज्यान गयो, तर त्यही जिल्लावासीले मेरो ज्यान जोगाइदिनुभयो । म माफी माग्न आएको छु,’ यादवले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सभाहलमा भने । एक दिन मदिरा पिएपछि जनै तानेको विषयमा झगडा हँुदा दुर्गा शर्मालाई धकेलेको र सोही क्रममा उनी स्टिलको रडमा खसेकाले मृत्यु भएको उनले बताए । 

रुपन्देही कञ्चन गाउँपालिका– ४ का दुर्गाप्रसाद शर्माको हत्या आरोपमा फाँसीको सजाय कुरिरहेका जनकपुरधाम उपमहानगरपालिका– १७ का यादवको जीवनरक्षाका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको अगुवाइमा शर्मा परिवारलाई ४६ लाख २५ हजार रुपैयाँँ ब्लडमनी तिरेर फाँसीको सजायबाट छुटाइएको थियो ।

यादवलाई साउदी अरबको अदालतले पाँच वर्षको जेल सजाय तोेकी त्यसपछि फाँसी दिने सजाय सुनाएको थियो । पीडित परिवारलाई ब्लडमनी दिएर सहमति गर्न सके फाँसीको सजाय माफ हुने प्रावधानअनुसार रामआशिषको परिवार दुर्गा शर्माको परिवारलाई भेट्न रुपन्देही आएको थियो । गत २५ असारमा पीडित परिवारसँग ब्लडमनीमा सम्झौता भयो र उनको ज्यान बच्यो । त्यसपछि जेलमुक्त भएर यादव नेपाल आएका हुन् । 

गत साता काठमाडौं ओर्लिएका यादव सोमबार जनकपुरबाट श्रीमती, छोरीहरू र आफन्तसहित रुपन्देही आएर जिल्ला प्रशासनमार्फत गल्तीको प्रायश्चित गर्दै पीडित परिवारसँग माफी मागेका छन् । ‘नेपाल फर्किन्छु भनेर सोचेको पनि थिइनँ,’ यादवले भने, ‘मलाई जुन किसिमले सीता भाउजूले माफी दिनुभयो, यो कहिल्यै बिर्सिन सक्दिनँ । यसका लागि उहाँसँग माफी माग्नलायक पनि छैन ।’ 

यादवलाई मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई ब्लडमनीबापत रकम उपलब्ध गराउन रुपन्देहीका ३० उद्योगी–व्यवसायी र सुरक्षा अधिकारीले ३६ लाख २५ हजार रुपैयाँ सहयोग जुटाएका थिए । यादव परिवारको १० लाखसहित ४६ लाख २५ हजार रुपैयाँ गत २५ असारमा जिल्ला प्रशासन कार्यालयमा मृतक शर्माकी श्रीमती सीताकुमारी शर्मालाई हस्तान्तरण गरिएको थियो ।