१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
रासस कास्की
२o८१ भदौ १० सोमबार १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १८:५८:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक संसद्का दुवै सदनबाट पारित भएसँगै अब सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताएका छन्।

सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा सोमबार पोखरामा उनले लामो समयको मेहेनतपछि टिआरसी विधेयक टुंगो लागेको बताए।

अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै बेपत्ता योद्धाका बारेमा आयोगले छानबिन गर्ने र अब अवस्था पत्ता लगाउन धेरै समय नलाग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘सहिदका लागि मात्र होइन, बेपत्ता योद्धाको अवस्था पत्ता लगाउने बाटो खुलेको छ। आयोगले छानबिन गर्छ, अब धेरै समय लाग्दैन। बेपत्ताले पनि सहिदको सम्मान र परिपूरण पाउँछन्।’

माओवादी केन्द्रको नेतृत्वमा रहेको अघिल्लो सरकारले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको उनले उल्लेख गरे। ‘अरू सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो। त्यो पनि योपटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होइन, राजपत्रमै प्रकाशित गरियो। सबै सहिद राष्ट्रिय सहिदको दर्जामा जानुभयो,’ प्रचण्डले भने।

बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीडामा रहेको बताए। ‘हाम्रा परिवारका सदस्यको अवस्था अहिलेसम्म पनि हामीलाई केही थाहा हुन सकेन। हामीले जातीय परम्पराअनुसारको कर्म गर्न पाएका छैनौँ। परिवार पीडामा बाँचिरहेका छौँ,’ उनले भने।