मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Thursday, 19 December, 2024
दीपक भट्ट रामेछाप
२o८१ भदौ १० सोमबार o६:१२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

पहिरोले घर बगाउँदा एकै परिवारका चारसहित ६ को मृत्यु, चार बेपत्ता

०७२ को भूकम्पमा चिरा परेको जमिनमै थियो बस्ती, अहिले वर्षासँगै बग्न थाल्यो

Read Time : > 2 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार o६:१२:oo

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरस्थित लेखखर्कमा पहिरोले चार घर बगाउँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ । शनिबार मध्यरातिको पहिरोमा चार बेपत्ता छन् । प्रहरीका अनुसार चार घरमा सुतेका ११ जनामध्ये एकजनाको जीवितै उद्धार गरिएको पहिरोले पुड्की पहरी, काले पहरी, उर्मिला पहरी र चण्डिका थापामगर (श्रेष्ठ)को घर पुरेको/बगाएको हो ।

रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकै परिवारका आमा ५७ वर्षीया उर्मिला पहरी, छोरा विज्ञान पहरी तथा नातिहरू सन्दीप पहरी र सन्तोष पहरीको ज्यान गएको छ । त्यस्तै, स्थानीय कुशेश्वर आधारभूत विद्यालयका बालकक्षा शिक्षकसमेत रहेकी ३२ वर्षीया चण्डिका थापामगर (श्रेष्ठ) र उनका १८ महिने छोरा आमुस श्रेष्ठको पनि ज्यान गएको छ । 

चण्डिकाको घरमा सुत्न आएकी अञ्जना पहरीको सेना र प्रहरीले जीवितै उद्धार गरेका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको छ । पहिरोमा परी ५५ वर्षीय काले पहरी तथा उनका दुई छोरीहरू झ्याउँकिरी र विनिता बेपत्ता भएका छन् । एक्लै बस्दै आएकी ९० वर्षीया पुड्की पहरी पनि घरसहित पहिरोमा परेकी छिन् । उनको अवस्था पनि अज्ञात छ । 

आइतबार दिनभर प्रहरी, सेना र स्थानीयले पहिरोमा बेपत्ताको खोजी गरेका थिए । ‘भिरालो र चिराचिरा परेको जमिन छ । थलथले हिलो छ, जहाँ टेक्यो त्यहीँको माटो भासिन्छ,’ दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले भनिन्, ‘सोमबारबाट फेरि खोजी हुन्छ । गाउँभरको जमिन चिरा परेको र ठाउँठाउँमा पोल ढलेकाले विद्युत् प्राधिकरणले गाउँमा विद्युत्समेत काटेको छ । मोबाइल चार्जसमेत गर्न नपाउँदा स्थानीयले आफन्तलाई घटनाबारे जानकारी दिन सकेका छैनन् । 

 राज्यमन्त्री पुगे घटनास्थल
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हेलिकोप्टरमा गएर लेखखर्क पहिरोपीडितलाई भेटेका छन् । उनले घटनास्थलको स्थलगत अनुगमन गरी मृतक परिवारका सदस्यलाई जनही १०–१० हजारका दरले व्यक्तिगत रकम प्रदान गरेका छन् । जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सार्न स्थानीय तहका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिए । उनले घाइते, मृतकका परिवार र पहिरो विस्थापितका लागि संघ सरकारबाट आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । राज्यमन्त्री तामाङ घटनास्थलको अवलोकन गरी आइतबार नै राजधानी फर्किएका छन् ।

 मिल्तीमा बाढीले पाँच घरमा क्षति
शनिबार रातिको वर्षाले मन्थली नगरपालिका– १३ मिल्ती खोलाको बाढीले मिल्ती बजारमा क्षति गरेको छ । रामेछाप र दोलखा जोड्ने मिल्ती खोलाको पुलको रामेछापतर्फ भूभाग कटान गर्दा पाँच घर तथा पसलमा क्षति गरेको छ । 
बाढीले विकास मगरको ट्रसले बनेको दुईतले घर, पोखरीका गणेश खड्काको ट्रसले बनेको एकतले घर र किराना पसल तथा मिल्तीका देवेन्द्रबहादुर मगरको ब्लक र जस्ताले बनेको एकतले घरमा क्षति गरेको प्रहरीले जनाएको छ ।

युवराज खत्रीको ढुंगामाटोले बनेको एकतले घर, पोखरीका सरोजकुमार तामाङको ब्लक र जस्ताले बनेको एकतले घरमा पनि क्षति भएको जनाइएको छ । पुष्पलाल राजमार्गअन्तर्गत मिल्ती खोलामा रहेको रामेछाप र दोलखा जोड्ने पक्की मोटरेबल पुलमा समेत क्षति पुगेको रामेछाप प्रहरीले जनाएको छ । 

६५ परिवार विस्थापित
पहिरोले लेखखर्कका ६५ परिवार विस्थापित भएका छन् । विस्थापित १८० जनालाई गाउँपालिकाको सहयोगमा टोकरपुरस्थित कठ्ठेश्वर माध्यमिक विद्यालयमा राखिएको छ । लेखखर्कको भिरालो जमिनमा परापूर्वकालदेखि नै बस्ती थियो । भिरालो र कमसल बलौटे माटो भएकाले ०७२ को भूकम्पले जमिनमा चिराचिरा पारेको थियो । यसपटक अविरल वर्षासँगै चिरामा पानी पस्नुका साथै भिरालो जमिन बगाएर पहिरो गएको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए । 

‘बस्तीका चार घर त पूरै बगेका छन् । अन्य घरमा पनि चिरा र धाँजा फाटेर क्षतविक्षत छ, त्यही भएर ६५ परिवारलाई सारिएको हो,’ उनले भने । विस्थापित परिवारलाई तत्काल खाना र सुत्न आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । मृतकका परिवारलाई राहत, घाइतेको उपचार र विस्थापित परिवारलाई खाद्यान्न सहयोग गर्न गाउँपालिकाले सोमबार सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकबाट निर्णय गरी आवश्यक राहत रकम प्रदान गरिने अध्यक्ष मोेक्तानले बताए ।