मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३२ शुक्रबार
  • Thursday, 19 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण ३२ शुक्रबार o६:११:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकाका ६६ स्थानमा ट्राफिक लाइट, तर ४८ ठाउँमा बल्दैन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ३२ शुक्रबार o६:११:oo

काठमाडौं उपत्यकाका ६६ स्थानमा मात्रै ट्राफिक लाइट जडान गरिएको छ । त्यसमध्ये ४८ स्थानका ट्राफिक लाइट बिग्रिएका छन् । ट्राफिक लाइट बिग्रिएपछि मुख्य सडक तथा चोकचोकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ । 

अधिकांश ट्राफिक लाइट बिग्रिएपछि हाल १८ स्थानमा मात्रै सञ्चालनको अवस्थामा छन् । ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र ट्राफिक प्रहरीले अनुमानको भरमा हात देखाउने तथा संकेत चिह्न प्रयोग गर्नुपर्ने बाध्यता छ । 

एसएसपी जीवनकुमार श्रेष्ठ, प्रमुख, उपत्यका ट्राफिक प्रहरी कार्यालय
अधिकांश ट्राफिक लाइट बिग्रिएका छन्, चलिरहेका पनि व्यवस्थित छैनन् । यो मर्मत गर्ने काम सडक विभाग र महानगरको हो । जेब्राक्रस, ट्राफिक लाइट, लेन मार्किङलगायत काम सडक पूर्वाधारभित्र पर्छ । हामीले ट्राफिक लाइट बनाउन सक्दैनौँ । ट्राफिक लाइट बिग्रिएका ठाउँमा हातको इसारामा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

जे–जति ट्रािफक लाइट सञ्चालनमा छन्, तिनीहरूको पनि सर्भर प्रणाली एउटै नहुँदा व्यवस्थित गर्न नसकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार ट्राफिक लाइट बिग्रिएका ठाउँमा हातको इसारामा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । 

‘अधिकांश ट्राफिक लाइट बिग्रिएका छन्, चलिरहेका पनि व्यवस्थित छैनन्,’ उनले भने, ‘यो मर्मत गर्ने काम सडक विभाग र महानगरको हो । जेब्राक्रस, ट्राफिक लाइट, लेन मार्किङलगायत काम सडक पूर्वाधारभित्र पर्छ । हामीले ट्राफिक लाइट बनाउन सक्दैनौँ ।’

एसएसपी श्रेष्ठका अनुसार सडकहरू तीन तहका सरकारले हेर्ने भएकाले यसबारे द्विविधा पनि छ । कतिपय सडक संघ, प्रदेश र स्थानीय सरकारमातहतका छन् । जसको मातहतमा रहेको सडक छ सो सडकको पूर्वाधार बनाउने त्यही निकायको नै हो । 

बिग्रिएका ट्राफिक लाइट बनाउन ट्राफिक प्रहरीसँग बजेट पनि नभएको एसएसपी श्रेष्ठ बताउँछन् । ‘हामीसँग ट्राफिक लाइट मर्मतसम्भार गर्ने बजेट छैन, यसको प्राविधिक पाटो अर्कै निकायले हेर्नुपर्छ, कतिपय ट्राफिक लाइट बैंक तथा वित्तीय संस्थाहरूले जडान गरिदिएका छन्, कतिपय एनजिओ–आइएनजिओले राखिदिएका छन्,’ उनले भने, ‘यी सबै ट्राफिक लाइटको एक्सेस हामीसँग छैन । सर्भर सिस्टम पनि फरक–फरक छ ।’ ट्राफिक लाइट जडान गरे ट्राफिक व्यवस्थापन अलि सहज हुने उनको भनाइ छ ।

यी स्थानमा मात्रै चल्छन् ट्राफिक लाइट
उपत्यकाका सीमित स्थानमा मात्रै ट्राफिक लाइट सञ्चालनमा छन् । सिंहदरबारअगाडि, बबरमहल, नक्साल, गैरीधारा, त्रिचन्द्र कलेजअगाडि, मीनभवन, सुन्धारा धरहराअगाडि, बल्खु चोक, बल्खु ललितपुरतर्फ, पुल्चोक, कालीमाटी, नयाँ बानेश्वर, कोटेश्वर, कौशलटार, सल्लाघारी, कमलपोखरी चोक, सानेपा र टिचिङ अस्पतालअगाडि रहेका ट्राफिक लाइट सञ्चालनमा छन् । अन्य ४८ स्थानमा रहेका ट्राफिक लाइट बिग्रिएका छन् । 

चलिरहेका ट्राफिक लाइट पनि छैनन् व्यवस्थित
उपत्यकामा सीमित स्थानमा राखिएका ट्राफिक लाइट मात्रै सञ्चालनमा छन् । तर, तीमध्ये पनि अधिकांश ट्राफिक लाइटको टाइमिङ र सिङ्क्रोनाइज नमिलेको ट्राफिक प्रहरीले जनाएको छ । एउटा चोकमा राखिएको ट्राफिक लाइट अर्को चोकसँग लिंक छैन । अर्थात् बानेश्वर चोकको ट्राफिक लाइटमा हरियो बल्दा मीनभवनमा रहेको ट्राफिक लाइटमा रातो बल्छ । नजिक–नजिक रहेका ट्राफिक लाइटको टाइमिङ पनि एउटै हुनुपर्छ । तर, एउटा ट्राफिक लाइटमा हरियो बल्दा अर्कोमा रातो बल्छ, जसका कारण एउटा चोकबाट अर्को चोकमा सवारीसाधन पुग्दा जाम हुने गर्छ । ‘एउटा चोकको ट्राफिक लाइट अर्को चोकसँग लिंक छैन, टाइमिङ मिलेको छैन, भएको लाइट पनि क्वालिटीको छैन,’ एसएसपी श्रेष्ठले भने, ‘एकातिर रातो बलेको वेलामा अर्कोतिर हरियो बत्ती बल्छ । कार्यालय समयमा ट्राफिक व्यवस्थापनमा निकै चुनौती हुन्छ । एउटै सर्भर सिस्टममा हुने हो भने मात्रै व्यवस्थित हुन सक्छ ।’ 

टाइमिङ नमिल्दा बन्द गरिन्छ ट्राफिक लाइट 
उपत्यकाका कुनै–कुनै चोकमा ‘पिक आवर’मा थेगिनसक्नु जाम हुन्छ, तर ती चोकका ट्राफिक लाइटमा सेट गरिएको समय कम हुन्छ  । यो सबै ट्राफिक प्रहरीको नियन्त्रणमा मात्रै छैन । जुन–जुन निकायले जडान गरिदिएका हुन्, उक्त लाइट ती निकायमै रहेका सर्भर सिस्टमबाट कन्ट्रोल हुने गरेका छन् । बिग्रँदा पनि ट्राफिक प्रहरीले जाँच्न सक्दैन । जता जाने सवारीसाधनको संख्या बढी छ, त्यसतर्फ बल्ने हरियो लाइटको टाइमिङ कम भएकाले कतिपय ठाउँका ट्राफिक लाइट कुनै–कुनै वेला बन्द पनि गरिन्छ । अत्यधिक जाम भयो भने सिंहदरबार, नयाँ बानेश्वर, कोटेश्वरलगायत सडकको ट्राफिक लाइट बन्द गरेर हातले ट्राफिक व्यवस्थापन गरिन्छ । अत्यधिक जाम हुने वेला लाइटमा सेट गरिएको टाइमिङले नपुग्ने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, राष्ट्रपति वा प्रधानमन्त्रीको सवारीका वेला पनि ट्राफिक लाइट बन्द गरिन्छ । 

१८ सय जनशक्ति परिचालन
प्रविधिको प्रयोगमा चासो नदिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो जनशक्ति खर्च भइरहेको छ । हाल उपत्यकामा एक हजार आठ सय ट्राफिक प्रहरी छन् । यसमध्ये २५० प्रहरी प्रशासनिक काममा र अन्य ट्राफिक प्रहरी जनशक्ति सडकमै परिचालन भइरहेका छन् । प्रविधिको प्रयोगले जनशक्ति घटाउन सकिने भए पनि त्यसतर्फ सडक विभाग र महानगरले चासो नदिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।