मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३० बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ श्रावण ३० बुधबार ११:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा तीन वर्षमा २४६ जनाले गरे आत्महत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ३० बुधबार ११:४३:oo

गुल्मीमा आत्महत्याको अवस्था बर्सेनि विकराल बन्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्रै १४४ पुरुष र १०२ महिला गरेर २४६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आर्थिक वर्ष ०७८/७९ मा २९ महिला ५० पुरुष, आर्थिक वर्ष ०७९/८० मा ३० महिला ५१ पुरुष र आर्थिक वर्ष ०८०/८१ मा महिला ४३ र पुरुष ४३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले बताए ।

याे अवस्था बढ्दै गएपछि आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन तथा सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालयको नीतिअनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका सरोकारवाला निकायको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानको लक्ष्य उद्देश्य र कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला अस्पताल,  शिक्षा विकास तथा समन्वय एकाइ, स्वास्थ्य कार्यालय, गुल्मी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, गैरसरकारी संस्था महासंघ, अमरकल्याण महिला विकास सहकारी संस्था, रेसुंगा नगरपालिका, रेडक्रस सर्कल, होटेल व्यवसायी मञ्च, फोर्टिन स्टार युवा क्लब, मनोसामाजिक परामर्शकर्ता, नेपाल स्काउट र नेपाल पत्रकार महासंघको तर्फबाट अभियानको सान्दर्भिकताको विषयमा राय तथा सुझाव राखिएको थियो ।

प्रहरी उपरीक्षक भुजेलले जिल्लादेखि पालिका तहसम्म अभियान कार्यान्वयन हुने भएकाले वास्तविक उद्देश्य प्राप्त गर्न सबैको सहयोग आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी शर्माले संयन्त्र प्रभावकारी भएर काम गर्ने र स्राेत–साधनका हिसाबले स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिए । विकसित मुलुकमा जस्तो नेपालमा पनि आत्महत्या भइरहेकाले न्यूनीकरणका उपायहरूको खोजी गरेर काम गर्न चुनौती रहेकाले अभियानमा सबै जोडिनुपर्ने तर्क राखे ।

सरोकारवालाको भेलाले प्रहरी प्रमुख राजन भुजेलको संयोजक तथा स्वास्थ्य कार्यालय गुल्मीका कृष्ण पन्थी सहसंयोजक रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सल्लाहकार र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक आशिष पाण्डेय सदस्यसचिव रहेका छन् । अरू सरोकारवाला कार्यालय र संस्थाका प्रतिनिधि सदस्यको रूपमा रहेका छन् ।