मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १९ शनिबार
  • Wednesday, 15 January, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ श्रावण १९ शनिबार o६:२३:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कक्षा १२ को नतिजा : ५२.९१ प्रतिशत  विद्यार्थी उत्तीर्ण, अनुत्तीर्णमा छात्रा धेरै

दुई विषयसम्म अनुत्तीर्ण १ लाख २७ हजार ७०७ परीक्षार्थीले २५ र २६ भदौमा पूरक परीक्षा दिन पाउने

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १९ शनिबार o६:२३:oo

कक्षा १२ मा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ४८.०९ प्रतिशतको नतिजा अनुत्तीर्ण (ननग्रेड) आएको छ । ननग्रेडमा छात्राको संख्या धेरै छ । 

नियमिततर्फ तीन लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ एक लाख १९३ (ग्रेडवृद्धि ०७८/०७९ तर्फ ९६ हजार ३५१ र ग्रेडवृद्धि ०७६/०७७ तर्फ तीन हजार ८४२) जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । परीक्षा दिएकामध्ये नियमिततर्फ दुई लाख तीन हजार ८४७ र ग्रेडवृद्धितर्फ २७ हजार ३८९ जना गरी जम्मा दुई लाख ३१ हजार २३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

नतिजाअनुसार नियमिततर्फ एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यसमा दुईवटा विषय लागेर अर्थात् एनजी आएर पूरक परीक्षा दिन पाउने विद्यार्थी संख्या एक लाख २७ हजार ७०७ छ । गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा चार लाख ९१ हजार ६१ विद्यार्थी सहभागी थिए ।

नतिजाले कक्षाकोठामा पठनपाठन र कक्षाकोठाको सिकाइ राम्रो नभएको देखाउँछ : महाश्रम शर्मा, अध्यक्ष, परीक्षा बोर्ड
यसपटकको कक्षा १२ को नतिजामा गत वर्षभन्दा थोरै करेक्सन त भयो । तर, सन्तोष मान्न सकिँदैन । ५२ प्रतिशत उत्तीर्णले कक्षाकोठामा पठनपाठन र कक्षाकोठाको सिकाइ राम्रो नभएको देखाउँछ । अंग्रेजी, अकाउन्ट, गणित, सामाजिकलगायत विषयमा नतिजा कमजोर देखिन्छ । एउटा विषयमा राम्रो अंक ल्याएको विद्यार्थी अर्को विषयमा कमजोर छ । अब शिक्षण सिकाइमा बढी सुधार हुनुपर्छ ।

गत वर्षको कक्षा १२ को परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण (ग्रेडेड) भएका थिए । त्यसबेला अनुत्तीर्ण (नन्ग्रेड) हुनेको संख्या ४९.०९ प्रतिशत थियो । 

यसपटकको नतिजामा गत वर्षभन्दा सुधार भएपनि सन्तोषजनक नआएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘यसपटकको कक्षा १२ को नतिजामा गत वर्षभन्दा थोरै करेक्सन त भयो । तर, सन्तोष मान्न सकिँदैन । लगानी अनुसारको नतिजा नै भएन । ५२ प्रतिशत उत्तीर्णले कक्षाकोठामा पठनपाठन र कक्षाकोठाको सिकाइ राम्रो नभएको देखाउँछ’, उनले भने, ‘अंग्रेजी, अकाउन्ट, गणित, सामाजिकलगायत विषयमा नतिजा कमजोर देखिन्छ । एउटा विषयमा राम्रो अंक ल्याएको विद्यार्थी अर्को विषयमा कमजोर छ । अब शिक्षण सिकाइमा बढी सुधार हुनुपर्छ ।’

उनका अनुसार पास भएका विषयमा पनि सबै विद्यार्थीको सबै विषयमा राम्रो नतिजा देखिँदैन । त्यसकारण अबको शिक्षण सिकाइमा बढी सुधार हुनुपर्ने र सरकारका सबै निकायले यसमा गम्भीर भएर छलफल गर्न जरुरी रहेको अध्यक्ष शर्माले जोड दिए । 

बोर्डको नतिजा अनुसार सबैभन्दा माथिल्लो जिपिए अर्थात् जिपिए ३.६१ देखि जिपिए ४.० ल्याउने विद्यार्थी संख्या नौ हजार ५९१ छ । यो जिपिएका सबैभन्दा धेरै विद्यार्थी बागमती प्रदेशका छन् । उच्च जिपिएमा बागमती प्रदेशबाट ६ हजार ७५२ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट २४ जना मात्रै छन् ।

यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी संख्या ४६ हजार ८९३, जिपिए २.८१ देखि ३.२० सम्म ल्याउने विद्यार्थी संख्या ७८ हजार ७५, जिपिए २.४१ देखि २.८० ल्याउने ६१ हजार ३६, २.१ देखि २.४० ल्याउने संख्या ८ हजार २४०, र जिपिए १.६१ देखि २.० ल्याउने विद्यार्थी संख्या १२ जना मात्रै रहेको छ । 

नतिजामा एनजी ल्याउने जम्मा विद्यार्थी संख्या एक लाख ८७ हजार २१ छ । जसमा कोशिका ३५ हजार १३१, मधेश प्रदेशका २६ हजार ८६, बागमती प्रदेशका ३८ हजार १४६, गण्डकीका १६ हजार ३३, लुम्बीनिका ३४ ६८६, कर्णालीका १५ हजार ३५७ र सुदुरपश्चिमका २१ हजार ५८२ जना विद्यार्थी अनुतिर्ण भएका छन् ।

शिक्षाविद् विद्यानाथ कोइरालाले यसपटकको नतिजाले धेरै जिज्ञासा उब्जाएको बताए । ‘यस पटकको नतिजा हेरेर मलाई दुई/तीनवटा कुरा मनमा आएको छ, एउटा– केटाकेटीलाई गरिखाने ठाउँ र सीप दिनुपर्‍यो वा देखाउनुपर्‍यो, किनभने विदेश गएकाहरू आउने बेला पो चिटिक्क परेका आएका हुन्, त्यहाँ हुने बेलामा त झुत्रे भएरे मेहनतका साथ काम गर्छन् नि,’ उनले भने, ‘त्यसकारण हामीले १२ पछि विदेश जाने सोच बनाएकालाई यही रोक्नुपर्छ । तराई, पहाड र हिमालका सम्भावना देखाउनुपर्छ । दोस्रो कुरा– यसपटक केटाहरू भन्दा केटीहरू बढी फेल भए । अब केटिहरूलाई पढाउने छुट्टै किसिमको कार्यक्रम र शैली चाहियो ।’ 

उनले कक्षा १० मा सबै विषय एनजी आएपनि जाँच दिन पाउने र १२ मा दुई विषयमा मात्रै दिन पाउने भनिएको छ । १२ मा पनि सबै विषय लागेकालाई परीक्षा दिन पाउने व्यवस्था लागू गर्दा उचित हुने उनको भनाई छ ।

यसपटकको नतिजाले पनि प्रणाली र शिक्षणकला कमजोर भएको देखाएको उनको बुझाई छ । ‘कक्षाकोठामा शिक्षक र प्रविधिलाई बराबर प्रयोग गर्न थालौं । विद्यार्थीले पढ्दैनन् भन्ने भाष्य पनि छ तर शिक्षकले पनि पढाउन जाँन्दैनन् भन्न त पाइन्छ नि ! ’, उनले भने । 

यी विषयमा धेरै विद्यार्थी अनुतिर्ण 
बोर्डको नतिजा अनुसार यसपटक सबैभन्दा बढी विद्यार्थी अनुतिर्ण हुने विषय अंग्रेजी, अकाउन्ट र सामाजिक हुन् । यसमध्ये पनि धेरै विद्यार्थी अंग्रेजीमा अनुतिर्ण भएका छन् । बोर्डका अनुसार अंग्रेजीमा १ लाख २ हजार २ सय ६, एकाउन्टमा ४७ हजार र सामाजिकमा ५१ हजार विद्यार्थी अनुतिर्ण भएका छन् । 

अनुतिर्ण हुनेमा छात्रा धेरै 
यसपटक १२ को नतिजामा अनुतिर्ण हुनेमध्ये छात्राको संख्या धेरै छ । परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ५ सय जना छात्रा परीक्षामा सहभागी भएकोमा ९५ हजार ५ सय ४ जना नन्ग्रेड अर्थात अनुतिर्ण भएका छन् । १ लाख ९ सय ९७ जना उत्तीर्ण भएका छन् । त्यस्तै छात्रतर्फ परीक्षामा १ लाख ९४ हजार ३ सय १९ जना सहभागी भएकोमा ९१ हजार ४ सय ८७ अनुतिर्ण भएका छन् भने १ लाख २ हजार ८३२ जना उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । 

पुरक परीक्षा भदौ २५ र २६ मा 
बोर्डले नतिजा सार्वजनिकसँगै अनुतिर्ण अर्थात् दुईवटा विषय लागेका विद्यार्थीको लागि पुरक परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार जारी सूचना अनुसार पुरक परीक्षा २५ र २६ भदौमा सञ्चालन गरिने छ । दुई वटा विषयमा अनुतिर्ण १ लाख २७ हजार ७०७ परीक्षार्थीले पुरक परीक्षा दिन पाउनेछन् । अन्य विद्यार्थीले भने अर्को वर्ष नै कुर्नुपर्ने छ । तर, विद्यार्थीले अर्को वर्ष परीक्षा दिँदा जुन जुन विषयमा एनजी आएको छ सोहि विषयको मात्रै परीक्षा दिए पुग्छ । 

विश्वविद्यालयमा विद्यार्थीको अभाव हुने डर 
धेरै विद्यार्थी अनुतिर्ण हुँदा विश्वविद्यालय तहसम्म त्यसको असर पर्छ । शिक्षाविद् कोइरालाले कमजोर नतिजाको असर विश्वविद्यालय तहमा समेत देखिने बताए । कक्षा १२ पासपछि विदेश जाने परम्परा बढ्दै जाँदा विश्व विद्यालयका अधिकांश कार्यक्रममा शैक्षिक असर परिरहेका छ । यस्तोबेला कम विद्यार्थी पास हुँदा झन् असर पर्ने देखिन्छ । त्रिभुवन विश्व विद्यालय, परीक्षा बोर्ड, एनओसी कार्यालयलगातको तथ्यांक अनुसार पछिल्ला केही वर्षहरूमा कक्षा १२ मा उत्तीर्ण आधा विद्यार्थी नेपालका विश्व विद्यालयका पढ्न जाँदैनन् । उनीहरू मध्ये धेरैजसो रोजगारी वा वैदेशिक अध्ययनका लागि बाहिर जाने गरेका छन् । कक्षा १२ मा पास भएका आधा विद्यार्थीमात्रै उच्च शिक्षामा भर्ना हुने र त्यो संख्याले नेपालका विश्वविद्यालयका सबै कार्यक्रमका कोटा अनुसारको विद्यार्थी पुर्ति हुँदैनन् ।