Skip This
व्यापार घाटालाई रेमिट्यान्सको भरथेग
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३० आइतबार
  • Saturday, 16 November, 2024
२o८१ असार ३० आइतबार o९:३o:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यापार घाटालाई रेमिट्यान्सको भरथेग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३० आइतबार o९:३o:oo

११ महिनामा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन कुल व्यापार घाटाभन्दा १३ अर्बले बढी हो 

अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो अवस्थामा रहेको देखिन्छ । चालू खाता र शोधनान्तर अवस्था बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब रुपैयाँबराबर पुगेको छ, जसले साढे १२ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्नेछ । बाह्य क्षेत्रको यो मजबुतीमा नेपाली वस्तु तथा सेवा निर्यातको योगदान भने नगण्य रहेको छ । अर्थतन्त्रको बाह्य क्षेत्रलाई सन्तुलन राख्ने काम भने रेमिट्यान्सले गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ । 

चालू आर्थिक वर्षको ११ महिनामा नेपालको चालू खाता दुई खर्ब अर्ब ३९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ । नेपालले यसबीचमा १३ खर्ब १४ अर्ब रुपैयाँबराबरको वस्तु व्यापार घाटा व्यहोरेको छ । तर, यति ठूलो व्यापार घाटाबीच समेत नेपालको भुक्तानी भने सन्तुलनमा रहेको छ । भुक्तानी सन्तुलनमा सम्पूर्णजसो भरथेग रेमिट्यान्सले गरेको राष्ट्र बैंकको तथ्यांक छ । 

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले जति व्यापार घाटा व्यहोरेको छ, त्योभन्दा बढी रेमिट्यान्स भित्रिएको देखिन्छ । यो ११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ, जुन कुल व्यापार घाटाभन्दा १३ अर्ब रुपैयाँले बढी हो ।  

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापाले रेमिट्यान्स नेपालका लागि सञ्जीवनी बुटी नै सावित भएको बताए । यसले अर्थतन्त्रको बाह्य क्षेत्रमा भरथेग गर्न मात्रै नभई गरिबी निवारणसम्म महत्वपूर्ण योगदान गरिरहेको उनको भनाइ छ । ‘वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स (वैदेशिक मुद्रा)ले आयातमा बाहिरिने विदेशी मुद्रालाई सन्तुलनमा ल्याउन सहयोग पुर्‍याएको छ । त्यो अवस्थामा व्यापार घाटाभन्दा रेमिट्यान्य आम्दानी बढी हुनु राम्रो पक्ष हो,’ उनले भने । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स आउनु सकारात्मक पक्ष भएको बताए । यसले शोधनान्तर स्थिति र विदेशी मुद्रामा सकारात्मक योगदान दिने उनको भनाइ छ । त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमै पर्ने उनको भनाइ छ । ‘व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै आउनु राम्रो हो । यही कारण अहिले विदेशी मुद्रा सञ्चिति बढेको छ । बैंकिङ क्षेत्रमा तरतला बढेको छ भने ब्याजदर कम गर्न पनि सहयोग पुगेको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । अब विकास निर्माणसम्बन्धी आयात गर्न पर्याप्त विदेशी मुद्रा हुने भयो । समग्रमा यसले तत्काललाई सकारात्मक प्रभाव नै पार्छ । 

रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान गरिरहेको भन्दै उनले यसको उपयोगमा भने ध्यान दिनुपर्ने अर्थविद् थापाले बताए । ‘जुन देशसँग विदेशी मुद्रा हुँदैन, उसले विकास गर्न सक्दैन,’ उनले भने, ‘नेपालमा अहिले विदेशी मुद्रा सञ्चिति राम्रो छ । यसलाई विकास निर्माणमा परिचालन गर्नुपर्छ, उद्योगका लागि चाहिने अधिकांश कच्चा पदार्थ आयात गर्नुुपर्छ, मेसिनरी र प्रविधि खरिद गर्नुपर्छ ।’  

तर, रेमिट्यान्समा मात्रै चित्त बुझाएर बस्न भने नहुने उनको भनाइ छ । ‘वैदेशिक रोजगारी भरपर्दाे हुन्न । तर, त्यसको विकल्प नेपालमा तयार भइसकेको छैन । तसर्थ, अब नेपालमा रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि बहुराष्ट्रिय कम्पनी, विदेशी लगानी र प्रविधि अत्यावश्यक छ । त्यो भयो भने स्वदेशी उत्पादन बढ्छ र निर्यात बढाउन सकिन्छ ।’ 

निर्यात घट्दो अवस्थामा
नेपालले उत्पादन बढाएर निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गर्दै व्यापार सन्तुलन बनाउने नीति लिएको छ । तर, त्यसअनुसारको परिणाम भने आउन सकेको छैन । सरकारी नीतिविपरीत निर्यात अझै घट्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष ०८०/८१ को एघार महिनामा एक खर्ब ३९ अर्ब २६ करोड रुपैयाँबराबरको निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कुल ३ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा समेत निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो । 

सबैभन्दा ठूलो व्यापार साझेदार भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ । यसबीचमा पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, चियालगायत वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०८०/८१ को एघार महिनामा कुल वस्तु आयातसमेत १.८ प्रतिशतले घटेको देखिन्छ । यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँबराबरको आयात भएको तथ्यांक छ ।

रेमिट्यान्स सञ्जीवनी बुटी नै भएको छ : नरबहादुर थापा, अर्थविद्
नेपालमा रेमिट्यान्स र आयात एक–अर्कामा अन्तरसम्बन्धित देखिन्छन् । नेपालमा आवश्यकताअनुसार रोजगारी सिर्जना नभएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । एकातर्फ बर्सेनि लाखौँ नेपाली वैदेशिक रोजगारीमा जाँदा यहाँको उत्पादन प्रभावित भएको छ, खेतबारी बाँझो हुन थालेको छ, त्यसले आयात बढाएको छ । तर, वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स (वैदेशिक मुद्रा)ले आयातका लागि बाहिरिने विदेशी मुद्रालाई सन्तुलनमा ल्याउन सहयोग पुर्‍याएको छ । त्यो अवस्थामा व्यापार घाटाभन्दा रेमिट्यान्स आम्दानी बढी हुनु राम्रो पक्ष हो । रेमिट्यान्स नेपालका लागि सञ्जीवनी बुटी नै सावित भएको छ । यसले गरिबी घटाएको छ । आमनागरिकले शिक्षा र स्वास्थ्य सेवा लिन सकेका छन् । देशको विदेशी मुद्रा सञ्चितिमा पनि यसको ठूलो योगदान छ । 

रेमिट्यान्सले अर्थतन्त्रलाई नै लाभ दिएको छ : प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स आउनु सकारात्मक कुरा हो । यसले शोधनान्तर स्थिति र विदेशी मुद्रामा सकारात्मक योगदान दिएको छ । त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमै पर्छ । नेपालले बर्सेनि खर्बौेँ रुपैयाँ व्यापार घाटा व्यहोर्दै आएको छ । तर, त्यसलाई पूर्ति गर्ने विदेशी मुद्रा आर्जनको एकल स्रोत भने थिएन । त्यो अवस्थामा व्यापार घाटाभन्दा धेरै रेमिट्यान्स आउनु सकारात्मक पक्ष हो । व्यापार घाटाभन्दा रेमिट्यान्स धेरै हुँदा अहिले विदेशी मुद्रा सञ्चिति बढेको छ । बैंकिङ क्षेत्रमा तरतला बढेको छ भने ब्याजदर कम गर्न पनि सहयोग पुगेको छ । यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । अब विकास निर्माणसम्बन्धी आयात गर्न पर्याप्त विदेशी मुद्रा हुने भयो । समग्रमा यसले तत्काललाई सकारात्मक प्रभाव नै पार्छ ।