
गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ। गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्वकानुन तथा संघीय मामिलामन्त्री पदमकुमार गिरी र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले संयुक्त रूपमा गीत सार्वजनिक गरेका हुन्।
सुवेदीको पहिलो गीत ‘घाम जस्तो चम्किलो जून हुँदैन’समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका रूपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे।
उनले भने, ‘घाम जस्तो चम्किलो जून हुँदैन' भन्ने उक्त गीत जनजनको मुखमा झुन्डिएको थियो। गीत–संगीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’ संगीत समाजका लागि अपरिहार्य कुरा रहेको बताउँदै उनले सर्जकअनुकूल नीति निर्माणका पक्षमा आफू सधैँ उभिएको बताए। आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने उनको भनाइ थियो।
प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा. सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताइन्। युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेका वेला यस्ता गीत आउनु सुखद् रहेको उनको भनाइ थियो।
उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समीक्षा गरेका थिए। गीतकार अधिकारीले लोक संगीत मुटुको गीत रहेको बताए। उनले भने, ‘शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ। यो गीतमा मैले गहिरो साहित्य, बिम्ब र स्पष्ट दर्शन भेटेको छु।’
त्यसैगरी, अर्का समीक्षक बगरले डा सुवेदीका गीतमा सधैँ फरकपन भेटिने उल्लेख गरे। ‘लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ। यो त्यसैको निरन्तरता हो, तर यसपल्ट संगीतमा केही फरक आभास गरेको छु,’ उनले भने।
समीक्षक महतले गीतकार डा. सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए। जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाइ थियो। पहिलो गीत सार्वजनिक हुँदा आफू रेडियोकर्मी भएको स्मरण गर्दै उनले थपे, ‘म उहाँको पहिलो गीतबाट नै प्रभावित भएको थिएँ। त्यसपछि निरन्तर उहाँको संगीतयात्रा नियालिरहेको छु। हरेकपल्ट उहाँले झनभन्दा झन् राम्रो कोसेली पस्किरहनुभएको छ।’
कार्यक्रममा गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो। उक्त गीतमा कुलेन्द्र विक र शान्तिश्री परियारको स्वर रहेको छ। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र ललन चिमोरियाले अभिनय गरेका छन्।