पहिलो शताब्दीका युनानी इतिहासकार तथा दार्शनिक प्लुटार्क ‘वृद्ध मानिसले राजनीतिमा संलग्न हुनुहुन्छ कि हुँदैन’ भन्ने विमर्शमा ‘राज्यहरू अप्ठेरोमा पर्दा वा सन्त्रासमा रहेका बखत वृद्धहरूको शासनका लागि लालायित हुन्छन्’ भनेर लेखेका छन् । उनी केवल वृद्धहरूसित उमेरजन्य विवेक र अनुभवले खारिएको धैर्य हुनेमा विश्वास गर्थे । ‘जुन राज्यले शासनमा वृद्धहरूलाई नकार्छ, त्यो राज्य निश्चय पनि प्रतिष्ठा र शक्तिका भोका तर राजनेताको जस्तो बुद्धि नभएका युवाहरूले भरिएको हुनुपर्छ,’ उनी भन्छन् ।
गत महिना डोनाल्ड ट्रम्पसँगको बहसमा जो बाइडेनको निराशाजन प्रदर्शन र नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार रहिरहने उनको जिद्दीबारे प्लुटार्क के भन्थे होलान् ? प्लुटार्कले बुढापाका मानिस कमजोर हुन सक्ने कुरा स्विकारेका थिए । तर, ‘उमेरजन्य शारीरिक कमजोरीभन्दा उनीहरूको सजगता र विवेकले दिने लाभ धेरै ठूलो भएको’मा उनी जोड दिन्छन् ।
बाइडेनबारे उनको विचार जेसुकै होस् प्लुटार्कले समकालीन राजनीतिक विश्वका पक्षहरूलाई बुझेका हुन सक्छन् । कुरा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बनेका दुवैजना ८१ र ७८ वर्षका छन् भन्ने मात्र होइन । अमेरिकी विधायकहरू पनि वृद्ध नै छन् । हाउस अफ रिप्रेजेन्टेटिभ्सका सदस्यहरूको औसत उमेर ५८ वर्ष र सिनेटमा ६५ वर्ष छ । एकतिहाइभन्दा बढी सिनेटर ७० वर्षभन्दा माथिका छन् ।
हामी युवा र युवा संस्कृति मन पराउने समाजमा बाँचिरहेका छौँ, तर राजनीतिक शक्तिको चाबी भने बुढा नेताहरूलाई नै सुम्पिन्छौँ
वृद्धतन्त्र अमेरिकामा मात्रै छैन । भ्लादिमिर पुटिन पनि ७१ वर्षका भए । सी जिनपिङ ७१ वर्षका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७३ वर्षका भए । मोदीका पाकिस्तानी समकक्षी सहबाज सरिफ उनीभन्दा एक वर्ष कान्छा छन् भने बंगलादेशकी शेख हसिना तीन वर्ष जेठी हुन् । बेन्जामिन नेतन्याहु ७४ वर्षका भए । प्यालेस्टिनी प्राधिकारका नेता महमुद अब्बास त ८८ वर्षका छन् ।
इरानका सर्वाेच्च नेता आयतुल्लाह अली खमेनी ८५ वर्षका भए । हाललाई विश्वका सबभन्दा वृद्ध नेता क्यामरुनका राष्ट्रपति पल बिया हुन्, जो ९१ वर्षका छन् । उनी बाइडेनभन्दा एक दशकले जेठा छन् । युवाहरू पनि छन् नेतृत्वमा । फ्रान्सका प्रधानमन्त्री गेब्रियल अत्तल ३५ वर्षका छन् । अहिलेका लागि उनी नै विश्वका सबैभन्दा कान्छा शासक हुन् । तर, धेरै लामो समयका लागि भने होइन । यद्यपि, ‘जेरोन्टोक्रेसी’ (वृद्धहरूको शासन) तर्फको प्रवृत्ति समकालीन विश्वको एउटा उल्लेखनीय विशेषता भएको छ ।
पूर्वआधुनिक विश्वमा सामाजिक सुव्यवस्था र अनुशासन कायम राख्ने सामाजिक संरचनामा नै वृद्धहरूप्रतिको आदरभाव बुनिएको थियो । ‘विवेक परिपक्वताबाट र समझ उमेरसँगै आउँछ,’ हिब्रु भाषामा लिखित बाइबल अर्थात् पुरानो करार (वल्र्ड टेस्टामेन्ट)मा जबको भनाइ आउँछ ।
आधुनिकताको आगमनसँगै वृद्धहरूको सामाजिक स्थितिमा परिवर्तन आएको देखिन्छ । ‘राजनीतिक आधुनिकताको उद्भवकालमा फ्रान्सेली क्रान्तिकारीले सत्तासीनलाई अपदस्थ गर्दा वृद्धहरूको सशक्तीकरणमाथि निसाना साधेका थिए । उनीहरूले सर्वसाधारणका पक्षमा अभिजात वर्गलाई र छोराका खातिर बुबाहरूलाई पनि सत्ताच्यूत गर्न खोजेका थिए । अझ व्यापक रूपमा भन्दा युवा–बहुमतका खातिर जेरोन्टोक्रेसीप्रतिको सदियौँदेखिको मोहलाई पनि वशमा पार्न खोजेका थिए,’ मोयन तर्क गर्छन् । तर, समय बित्दै जाँदा ‘वृद्धहरूको प्राधिकार’ पुनः स्थापित हुन थाल्यो र ‘युवा भएको ढोंङ गर्ने’ विस्थापित भए ।
समकालीन समाज विशेषगरी पश्चिमको विरोधाभास के छ भने एकातिर कुनै समय वृद्धहरूलाई सहयोग उपलब्ध गराउने सामाजिक संरचना गम्भीर रूपमा भत्किँदै गएको छ । समाज तीव्र रूपमा एकांगी र व्यक्तिवादी बन्दै गइरहेको छ । राजनीतिक शक्तिबारे राम्रो सुझबुझ राख्ने वृद्धहरू उपेक्षित भइरहेका छन् । अर्काेतिर हामी युवा र युवा संस्कृति मनपराउने समाजमा बाँचिरहेका छौँ, तर राजनीतिक शक्तिको चाबी भने बुढा नेताहरूलाई नै सुम्पिन्छौँ ।
यी विरोधाभास उत्पन्न किन हुन्छन् भने आधुनिक जेरोन्टोक्रेसी समाजकै उपज हो, जसमा शक्ति र धन निश्चित परिवार र एक निश्चित वर्गमा थुप्रिँदै गएको हुन्छ, र राजनीतिक प्रणालीको डिजाइन कठोर र अनुत्तरदायी किसिमले बाहिरियाबाट व्यवधान कम हुने गरी डिजाइन गरिएका हुन्छन् ।
समाजशास्त्री आरोन रिभ्स र साम फ्राइडम्यानले ‘द मेकिङ एन्ड रिमेकिङ अफ द ब्रिटिस एलिट’ शीर्षकमा आफ्नो प्रकाशोन्मुख पुस्तक ‘बोर्न टु रुलु’मा अभिजात्य वर्ग र ‘नव अभिजात्यवर्ग’को रूपान्तरणका बारेमा कुरा गरेका छन । उनीहरूले शासन व्यवस्थाले एक शताब्दीअघि जस्तै आफूलाई पुनरुत्पादन गरेको र सम्भ्रान्त वर्गको निर्माणमा धेरै हदसम्म पहिलेकै ‘निरन्तरता’ रहेको उल्लेख गरेका छन् । निःसन्देह, नयाँ सामाजिक समूह ( विशेषगरी महिला र जातीय अल्पसंख्यक)ले बेलायतको उच्च ओहोदाको विशेषाधिकारमा दाबी गरेका छन् । तर, रिभ्स र फ्रिडम्यानका अनुसार शीर्ष एक प्रतिशतमा जन्मिएकाहरू नै आज पनि एक सय २५ वर्षअघिकै जस्तो सम्भ्रान्त वर्गमा पुग्छन् । उही परिवार, उही विद्यालय र उही संस्थाहरूले शासक वर्गलाई आकार दिन्छन । निःसन्देह यसले धन र शक्तिमा डुबेका वृद्धहरूलाई नै महत्वपूर्ण लाभ पुर्याउँछ ।
साथै, लोकतान्त्रिक रूपान्तरणका लागि अस्तित्वमा आएका राजनीतिक प्रणालीहरू त्यस्तो संरचनामा विकसित भएका छन्, जसमा स्थिरता नै सबैभन्दा महत्वपूर्ण हुन्छ । र, तिनको डिजाइन राजनीतिक व्यवधानलाई न्यून बनाउने गरी गरिएका छन् । बेलायतको ‘फस्ट पास्ट द पोस्ट (पहिलो हुनेले जित्ने)’ प्रणालीदेखि प्रतिस्पर्धी दलविरुद्ध अधिकतम मत प्राप्त गर्न दोस्रो चरणको प्रयोग गरिने फ्रान्सेली चुनाव र कम जनसंख्या भएका राज्यलाई पनि सहरी जनसंख्या भएका ठूला राज्य समान प्रतिनिधित्व प्रदान गर्ने अमेरिकी सिनेटसम्मका राजनीतिक एवं निर्वाचन प्रणालीमा बाहिरी व्यक्तिहरूबाट चुनौती नहुने गरी सुरक्षाकवच निर्मित छ ।
‘आँधीबेहरीले युक्त युवाले सार्वजनिक मामिलामा टाउको उठाउनेछ, भिडलाई आँधीबेहरीले उछालेको समुद्रजस्तै बनाउनेछ’, भन्ने प्लुटार्कको डरले अझै पनि धेरैलाई सताउँछ । तर, आजका युवाभन्दा ‘पपुलिस्ट’ नेताहरू डरलाग्दा छन् । राजनीतिक व्यवधान कम गर्ने यसै प्रयासले वृद्ध एवं पुराना नेताहरूलाई सत्तामा टाँसिरहन सक्षम बनाइरहेको छ । बाइडेनका लागि चिन्ताजनक उमेरका बाबजुद उनलाई डेमोक्य्राट्सको राष्ट्रपतीय उम्मेदवार बनिरहने सुनिश्चितता प्रदान गर्ने संयन्त्र र उनलाई प्रतिस्थापित गर्न उनका आन्तरिक प्रतिस्पर्धीले सामना गर्नुपरेका कठिनाइले यो प्रक्रियालाई राम्रोसँग चित्रण गर्छन् ।
पश्चिममा, विशेषगरी वृद्ध जनसंख्याको जनसांख्यिकीय परिवर्तनले वृद्धतन्त्रको शक्ति कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यद्यपि, राजनीति जनसांख्यिकीभन्दा पर निहित छ । जेरोन्टोक्रेसी प्लुटोक्रेसीकै सहजात हो । हामीले सामना गर्नुपरेका मुद्दा मूलतः न वृद्ध भर्सेस युवाको हो, न पुस्ताको हो । मुद्दा त वर्ग र शक्तिको हो, सम्पत्तिमाथिको कब्जा र विद्रोही अर्थात् बाहिरियाहरूलाई सीमान्तकृत गर्ने प्रयासको हो । बेलायतले १४ वर्षे टोरी शासन अन्त्य गर्दै गर्दा र आधा विश्व चुनावमा जाँदै गरेको परिप्रेक्ष्यमा हामीले प्रणालीको रूपमा जेरोन्टोक्रेसीबारे चिन्ता गर्नुभन्दा पनि पुराना वा वृद्ध–विचार र वृद्धतन्त्रलाई सत्तामा टिकाइराख्ने अन्तर्निहित कारणबारे बढी चिन्ता गर्नुपर्छ ।
द गार्डियनबाट