Skip This
बागमती सरकार : राजीनामा दिन मुख्यमन्त्रीको पर्खाइमा एमालेका मन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १o:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती सरकार : राजीनामा दिन मुख्यमन्त्रीको पर्खाइमा एमालेका मन्त्री

राजीनामा की विश्वासको मत, छलफलपछि टुंगो लाग्छः मुख्यमन्त्री जम्कट्टेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:५९:oo

एमालेबाट बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउने तयारी गरेका छन्। कांग्रेससँग मिलेर केन्द्रमा नयाँ सरकार बनाउन नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।

काठमाडौंमा रहेका मुख्मन्त्री जम्कट्टेल प्रदेशको राजधानी हेटौँडा आउनेबित्तिकै राजीनामा बुझाउने एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए । ‘मुख्यमन्त्री काठमाडौंमा हुनुहुँदोरहेछ । उहाँ आउनेबित्तिकै राजीनामा बुझाउँछौँ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ,’ उनले भने, ‘नयाँ गठबन्धनको स्पिरिटअनुसार नै बागमतीमा पनि नयाँ सरकार बन्छ।’ 

नेता थपलियाले आफूहरू मुख्यमन्त्रीको पर्खाइमा रहेको पनि बताए । उनले मुख्यमन्त्री आजभोलि नै आउने कुरा सुनेको जानकारी दिए । नेता थपलियाले केन्द्रको निर्देशनअनुसार नै बागमतीमा नयाँ सरकार गठन हुने पनि बताए । बागमतीमा कांग्रेसको नेतृत्वमा सरकारमा जाने कुरा भइरहेको उनको भनाइ छ । यद्यपि, पावर सेयरिङका विषयमा भने सत्तासाझेदार दलहरू बसेरै टुंग्याउने पनि उनले बताए । नेता थपलियाले नयाँ सरकार गठन कहिले हुन्छ भन्ने कुरामा भने मुख्यमन्त्री जम्कट्टेलमा भर पर्ने बताए । मुख्यमन्त्रीले तत्काल राजीनामा दिए नयाँ सरकार तत्कालै बन्ने, तर विश्वासको मत फेस गर्न चाहेमा भने नयाँ सरकार बन्न केही समय लाग्ने उनको भनाइ छ।

राजीनामा कि विश्वासको मत, छलफलपछि टुंगो लाग्छ : मुख्यमन्त्री जम्कट्टेल
यता मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेबाहेकका सत्तासाझेदार दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् । उनले एमालेका मन्त्रीहरूले समर्थन फिर्ता लिएर राजीनामा दिएपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा अरू सत्तासाझेदार दलहरूसँग छलफल गर्ने बताए । 

यद्यपि, मुख्यमन्त्री जम्कट्टेलले तत्काल राजीनामाभन्दा पनि विश्वासको मत फेस गर्न उपयुक्त हुने उल्लेख गरे । ‘एमालेका साथीहरूलाई मन्त्रीबाट राजीनामा बुझाउन हतार छ । म काठमाडाैंबाट एक–दुई दिनमै फर्किन्छु । उहाँहरूले राजीनामा दिएपछि कसरी अगाडि बढ्ने हो भन्ने कुरामा अन्य सत्तासाझेदार दलहरूसँग छलफल गरेर टुंग्याउँछौँँ,’ उनले भने ।
गत सोमबार कांग्रेस र एमालेबीचमा केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेशमा पनि त्यसको तरंग फैलिएको छ । १८ महिनामा तीनपटकसम्म विश्वासको मत लिएर सत्ता टिकाएका मुख्यमन्त्री जम्कट्टेललाई यसपटक बनेको समीकरणले भने सत्ताविमुख बनाउने निश्चित भएको छ ।

ad
ad
ad
ad