Skip This
पेरिस ओलम्पिक खेल्ने सात नेपाली खेलाडी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असार २१ शुक्रबार १o:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पेरिस ओलम्पिक खेल्ने सात नेपाली खेलाडी

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १o:o९:oo

२६ जुलाईदेखि ११ अगस्टसम्म हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने अन्तिम सूची यस्तो छ :

फ्रान्सका विभिन्न १६ सहरमा ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुँदै छ । ३३औँ संस्करणको ओलम्पिक २६ जुलाईदेखि ११ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा ३२ खेलमा ३२९ इभेन्ट्स समावेश छन् । ओलम्पिकमा ६ महादेशका १० हजार पाँच सयभन्दा बढी खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले रुस र बेलारुसलाई प्रतियोगितामा सहभागी गराएको छैन । १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाएको नेपालले यसपटक पनि सहभागिता जनाउनेछ । नेपालबाट समग्रमा सात खेलाडीले पेरिस ओलम्पिकमा आफ्नो भाग्य चम्काउने प्रयास गर्नेछन् । यसमध्ये टेबुलटेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका हुन् । अन्य खेलाडीले वाइल्ड कार्ड पाएका हुन् । नेपाल ओलम्पिक कमिटीका अनुसार सहभागी हुने नेपाली खेलाडीमा चार महिला र तीन पुरुष छन् । युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेल्न लागेका हुन् । डुवाना र एलेक्जेन्डरसँग ओलम्पिक खेलको अनुभव छ । प्रिन्स, सुष्मिता र मनीषले दुई वर्षदेखि ओलम्पिक सोलिडारिटीको सहयोगमा मासिक ७५० अमेरिकी डलर पाउँदै आएका छन् । 

स्यान्टु श्रेष्ठ (टेबुलटेनिस)
स्यान्टु पेरिस ओलम्पिकमा सीधै छनोट हुने सातमध्ये एक्ला खेलाडी हुन् । नेपालमा पहिलोपटक भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जित्दै स्यान्टुले पेरिस ओलम्पिकको टिकट काटेका थिए । उनले फाइनलमा नेपालका संयोग कपालीलाई ४–३ को सेटले हराएका थिए । टेबुलटेनिस इतिहासमा ओलम्पिक खेल्ने उनी पहिलो खेलाडी हुन् । ओलम्पिक छनोट खेल्न उनी अस्ट्रेलियाबाट नेपाल आएका थिए । छनोटअन्तर्गत सेमिफाइनलमा स्यान्टुले श्रीलंकाका चामिरा गिनिगेलाई हराउँदै फाइनल स्थान पक्का गरे । नेपालबाट यसअघि तेक्वान्दोका दुई खेलाडीले मात्र छनोट चरण पार गरी ओलम्पिकमा स्थान पक्का गरेका थिए । २००४ को एथेन्स ओलम्पिकमा संगिना वैद्यले पहिलोपटक छनोट पार गरी प्रतियोगिता खेलेकी थिइन् । त्यसपछि २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोकै दीपक विष्टले छनोट चरण पार गरी स्थान पक्का गरेका थिए । 

प्रिन्स दाहाल (ब्याडमिन्टन)
पेरिस ओलम्पिकमा छनोट हुने नेपाली खेलाडीमध्ये ब्याडमिन्टनका प्रिन्स पहिलो खेलाडी हुन् । उनले वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न लागेका हुन् । संयोग कस्तो रह्यो भने प्रिन्स नेपालको ब्याडमिन्टन खेल इतिहासमा ओलम्पिक खेल्ने एक मात्र खेलाडी हुन् । २०१८ मा उनी उमेर समूहतर्फ विश्व ब्याडमिन्टनको शीर्ष वरीयतामा पुगेका थिए । १९ वर्षीय प्रिन्सले ओलम्पिकको तयारीका लागि दुई महिनादेखि श्रीलंकामा प्रशिक्षण गरिरहेका छन् । विश्वव्यापी कोटाअन्तर्गत पेरिस ओलम्पिकमा सहभागी गराउन नेपाल ब्याडमिन्टन संघले एनओसीको प्रक्रिया अगाडि बढाउँदै प्रिन्सले ओलम्पिक खेल्ने पक्का गरेका हुन् । 

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
धाविका सन्तोषीको पनि यो पहिलो ओलम्पिक यात्रा हुनेछ । उनी वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न लागेकी हुन् । २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा उनले १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । पछिल्लो समय आफ्नो विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन दौडमा उत्कृष्ट प्रदर्शन गरेकी सन्तोषीलाई एनओसी र नेपाल एथलेटिक्स संघको सिफारिसमा युनिभर्सालिटी कोटामा समावेश गरिएको हो । पेरिस ओलम्पिक खेल्ने उनी एक्लो नेपाली धाविक हुन् । उनले गत वर्ष असोजमा चीनको हाङझाउमा भएको १९आँं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले नेपालमै ओलम्पिकको तयारी गरिरहेकी छिन् । 

एलेक्जेन्डर शाह (पौडी)
एलेक्जेन्डरको यो दोस्रो ओलम्पिक यात्रा हो । २०२० मा टोकियो ओलम्पिकमा उनी पहिलोपटक सहभागी भएका थिए । पेरिस ओलम्पिकमा पौडीबाट सहभागी हुने उनी दोस्रो खेलाडी हुन् । डुवानाजस्तै उनले पनि युनिभर्सल कोटामा स्थान बनाएका हुन् । एलेक्जेन्डर अमेरिकामा छन् । उनले अमेरिकामै रहेर ओलम्पिकको प्रशिक्षण गरिरहेका छन् । उनले पेरिसमा सय मिटर फ्री स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्जेन्डर पनि विभागीय आर्मी क्लबमा आबद्ध छन् । २१ वर्षीय यिनले गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद खेलेका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा ५० मिटर फ्री स्टाइलको आफ्नै कीर्तिमान सुधार गरेका थिए ।

मनिता श्रेष्ठ (जुडो)
जुडोकी मनिताको ओलम्पिक खेल्ने सपना अन्तिम समयमा पूरा भएको हो । नेपालबाट प्रतिनिधित्व गरी ओलम्पिक खेल्ने उनी सातौँ खेलाडी हुन् । २५ वर्षीय मनिताले ५७ केजी समूहमा चुनौती प्रस्तुत गर्नेछिन् । उनी कन्टिनेन्टल छनोटमा स्थान बनाउन सफल भइन् । मनिताले दक्षिण एसियाली खेलकुद (साग)को १२औँ र १३औँ संस्करणमा रजत हात पारेकी थिइन् । उनीसँग एसियाली खेलकुदको १८औँ र १९औँ संस्करण खेलेको अनुभव छ । ओलम्पिकमा सहभागी हुने मनिता छैटौँ नेपाली जुडो खेलाडी बनेकी छिन् । यसअघि १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपुल्हामु खत्री र २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए । 

डुवाना लामा (पौडी)
नेपाल पौडी संघ र एनओसीले डुवानाको ओलम्पिक खेल्ने सुनिश्चित गर्न वाइल्ड कार्ड सिफारिस गरेका थिए । यसै सिफारिसमा उनले वाइल्ड कार्ड पाउँदै ओलम्पिक खेल्ने सुनिश्चित गरेकी हुन् । अहिले उनी थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छिन् । डुवानाले पेरिसमा दुई सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । नेपाली बुबा र आइरिस आमा भएकी डुवानाले घरेलु प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छिन् । उनले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित नौ स्वर्ण जितेकी थिइन् । २०१९ को १३औँ सागमा उनले नेपाललाई दुई सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाईमा रजत पदक दिलाइन् ।

सुस्मिता नेपाल (सुटिङ)
सुटिङकी सुस्मिताले अन्तिम समयमा पेरिस ओलम्पिक खेल्न सुनिश्चित गरेकी हुन् । ३३औँ ओलम्पिकका लागि उनले आमन्त्रण कोटामा स्थान बनाएकी हुन् । उनले १० मिटर एयर राइफलमा आफ्नो चुनौती प्रस्तुत गर्नेछिन् । १९८८ को सोल ओलम्पिकमा नेपालले पहिलोपटक सुटिङमा भाग लिएको थियो । २०१६ मा भएको रियो ओलम्पिकमा सुटिङका खेलाडी छनोट भएनन् । उनले गत वर्ष जकार्तामा भएको एसियन सुटिङ च्याम्पियनसिपमा ६१६.२ अंक प्राप्त गरेकी थिइन् । 

पारा ओलम्पिकमा तीन खेलाडी
पारा ओलम्पिकमा यसपटक तीन खेलाडी सहभागी हुँदै छन् । तेक्वान्दो खेलाडीद्वय पलेशा गोवद्र्धन र भरतसिंह महतासँगै पौडीका भीम कुमालले प्रतिस्पर्धा गर्ने भएका छन् । पलेशाले एसियाली छनोट प्रतियोगिता जितेर सीधै ओलम्पिक पक्का गरेकी हुन् । चीनको ताइवानमा भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उनले स्वर्ण जित्दै ओलम्पिकको यात्रा सुनिश्चित गरेकी हुन् । उनी छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो पारा खेलाडी हुन् । 

भरतसिंहले वाइल्ड कार्ड पाएर खेल्न लागेका हुन् । उनले के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । दार्चुलाका २७ वर्षीय भरतले एसियाली छनोटमा एक खेल र भियतनाममा भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा एक खेल जितेका थिए । 

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ पाएपछि भीमले ओलम्पिक खेल्ने निश्चित गरेका हुन् । उनले पुरुष ५० मिटर फ्री स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । यस स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

ad
ad
ad
ad