Skip This
फास्ट ट्रयाक सुरुङ : १६ सय १२ मिटर लामो लेनडाँडाको दोस्रो सुरुङमार्ग पनि छेडियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
२o८१ असार २१ शुक्रबार ११:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

फास्ट ट्रयाक सुरुङ : १६ सय १२ मिटर लामो लेनडाँडाको दोस्रो सुरुङमार्ग पनि छेडियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:४९:oo

काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत लेनडाँडामा निर्माणाधीन दायाँपट्टिको सुरुङमार्ग पनि छिचोलिएको छ । मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने १६ सय १२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

लेनडाँडामा आउने र जाने छुट्टाछुट्टै अर्थात् जोडी सुरुङ निर्माण भइरहेका छन् । त्यसमा बिहीबार निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ)तर्फको सुरुङमार्ग छिचोलिएको हो । बायाँतर्फ अर्थात् काठमाडौंबाट निजगढतर्फ जाने १६ सय ३३ मिटर लामो सुरुङमार्ग भने गत ४ जेठमा नै छिचोलिएको थियो । योसँगै लेनडाँडाको दायाँ–बायाँकै सुरुङमार्ग छिचोलिएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्दै उनले तोकिएको समयमा सुरुङमार्ग छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे । आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेतका कारण सफलता मिलेको बताउँदै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न पनि उनले निर्देशन दिए । अब छिचोलिएका सुरुङमार्गलाई केही समय होल्ड राखेर फिनिसिङ (कालोपत्रे, भित्ता ढलानलगायत)को काम प्रारम्भ गरिनेछ । 

द्रुतमार्गमा बन्ने कुल ६ वटा सुरुङ आयोजनामध्ये अहिले लेनडाँडासहित धेद्रे र महादेवटार गरेर तीन सुरुङमार्ग परियोजना निर्माणाधीन छन् । ०७८ जेठयता उक्त तीन सुरुङमार्ग खन्न सुरु भएको थियो । त्यसमा धेद्रे सुरुङमार्गअन्तर्गतको १६ सय ५३ मिटर लामो निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) टनेल गत ११ जेठमा छिचोलिसकिएको छ । 

अब धेद्रेमा काठमाडौंबाट निजगढतर्फ जाने (बायाँ) सुरुङ र महादेवटारको दुवैपट्टिको सुरुङ छिचोल्न बाँकी छ । त्यसमा धेद्रेको बायाँ सुरुङ साउन तेस्रो सातासम्म छिचोलिने नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिए । कुल १७ सय २८ मिटर लामो हुने उक्त सुरुङको १५ सय ६४ मिटर खण्ड सम्पन्न भइसकेको छ ।  उक्त सुरुङमार्गको अब एक सय ६४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, साउन तेस्रो सातासम्म छिचोलिने उनको भनाइ छ । महादेवटारको सुरुङ छिचोल्न भने अझै तीन–चार महिना लाग्न सक्ने उनले बताए । महादेवटारमा बन्ने सुरुङमार्ग द्रुतमार्गमा बन्ने अन्य सुरुङभन्दा लामा छन् । त्यसमा निजगढबाट काठमाडौंतर्फ आउने (दायाँ) सुरुङ ३३ सय २२ मिटर लामो हुनेछ, त्यसमा हालसम्म दुई हजार २९ मिटर खण्ड सकेको छ । अब महादेवटारको दायाँ सुरुङमार्गमा १२ सय ९३ मिटर खण्ड खन्न बाँकी छ । 

यसैगरी, काठमाडौंबाट निजगढ जाने (बायाँ) सुरुङमार्ग भने ३३ सय ८६ मिटर लामो हुनेछ, त्यसमा हालसम्म २२ सय ८८ मिटर खण्ड खनिसकिएको नेपाली सेनाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्योअनुसार बायाँ सुरुङमा अब एक हजार ९८ मिटर खण्ड खन्न बाँकी छ, उक्त खण्ड खन्न अझै तीन–चार महिना समय लाग्ने सूचना अधिकारी केसीले बताए । 

सेनाले ड्रिल–विस्फोट मोडेलमा यी सुरुङहरू खन्दै आएको छ । पहिला ड्रिल गरेर निश्चित ठाउँमा विस्फोटक पदार्थ राखिन्छ । त्यसपछि त्यसलाई विस्फोट गरेर सुरुङ खनिन्छ । 

योबाहेक द्रुतमार्गमा थप तीनवटा सुरुमार्ग निर्माण गर्ने योजना छ । त्यसमा एक हजार मिटरको देवीचौर सुरुङमार्ग र तीन सय ९० मिटरको सिसौटा सुरुङमार्गको डिजाइनको काम भइरहेको छ । यसैगरी, २२ सय ५० मिटरको चन्द्राम भिर सुरुङमार्गको डिजाइन अन्तिम चरणमा पुगेको छ भने प्रवेशदार निर्माणको तयारीको काम पनि सुरु गरिएको छ । यी तीनै ठाउँ आउने–जाने छुट्टाछुट्टै अर्थात् दोहोरो टनेल नै निर्माण हुनेछ । 

थप दुई सुरुङमार्ग निर्माणाधीन
नेपालमा थप दुईवटा सुरुङ निर्माणाधीन छन् । नागढुंगामा दुुई हजार ६ सय ८८ मिटर लामो मुख्य र दुई हजार पाँच सय ५७ मिटर लामो रेस्क्यु टनेल निर्माणका चरणमा छन् । त्यसमा २२ साउन ०८० मा रेस्क्यु र ३ वैशाख ०७१ मा मुख्य टनेलको ब्रेक थ्रु भइसकेको छ । यसबाहेक सिद्धार्थ राजमार्गको पाल्पामा एक हजार एक सय २६ मिटर लामो सुरुङ खन्ने काम पनि गत माघदेखि सुरु भइसकेको छ ।

कति छ आयोजनाको प्रगति ? 
हालसम्म आउँदा आयोजनाको समग्र भौतिक प्रगति भने ३४.८२ प्रतिशत र वित्तीय प्रगति भने ३६.६० प्रतिशत पुगेको सेनाको तथ्यांकमा उल्लेख छ । फास्ट ट्रयाकको समग्र काम भने कमजोर देखिएको छ । कालीगण्डकी करिडोरलगायत परियोजनामा राम्रो प्रतिक्रिया पाएको सेनाले यस आयोजनाको निर्माण भने सन्तोषजनक ढंगले अगाडि बढाउन सकेको छैन । यसको निर्माण निकै सुस्त देखिएको सरोकारवाला बताउँछन् । यद्यपि, सुरुङमार्ग छिचोलिएपछि यसको निर्माण द्रुतगतिमा अघि बढ्ने बताइएको छ । 

संशोधित डिपिआरअनुसार ७०.९७ किलोमिटर लामो द्रुतमार्गको निर्माण गर्ने जिम्मेवारी २१ वैशाख ०७४ मा नेपाली सेनालाई दिइएको थियो । त्यसपछि सरकारले १ भदौ ०७६ मा यसको डिपिआर स्वीकृत गरेसँगै निर्माण सुरु गरिएको थियो । यद्यपि, सेनाले ०७४ बाटै काम सुरु गरेको थियो । पहिला पुस ०८१ मा सक्ने भनिएको यसको म्याद थप गरेर चैत ०८३ सम्म पुर्‍याइएको छ । यसको संशोधित लागत दुई खर्ब दुई अर्ब दुई करोड छ । यो आयोजना बनेपछि प्रतिघण्टा ६० किमिदेखि सय किमिको गतिमा निजगढबाट काठमाडौं एक घण्टा दुई मिनेटमा आउन सकिन्छ ।

ad
ad
ad
ad