Skip This
एकीकृत समाजवादीमा मूल नेतृत्व पुरानै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Sunday, 07 July, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ असार २१ शुक्रबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकीकृत समाजवादीमा मूल नेतृत्व पुरानै

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार o६:२५:oo

अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत, अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत बनाउने प्रयास

नवनिर्वाचित अध्यक्ष नेपाल भन्छन्–विद्रोहको औचित्य पुष्टि गर्न महाधिवेशनले मलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । अब पार्टीलाई थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ । पार्टीमा गुट जन्मदैनन् र सबैलाई मिलाएर लैजान्छौँ ।

एकीकृत समाजवादीको मुख्य तीन पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । यसअघि पनि नेपाल, खनाल र भुसाल सोही पदमा थिए ।

बिहीबार बसेको निवर्तमान सचिवालय बैठकले मुख्य तीन पदमा सहमत गरेको थियो । उक्त सहमतिलाई महाधिवेशन अध्यक्षमण्डलका अध्यक्ष खनालले महाधिवेशन हलमा पेस गरेका थिए । खनालले राखेको प्रस्ताव हलले सर्वसम्मत अनुमोदन गरेको हो ।

अध्यक्ष नेपालले पार्टीलाई एकताका साथ सशक्त ढंगले अगाडि बढाउने बताए । अध्यक्षमा निर्वाचित भइसकेपछि नेपालले नीति र नेतृत्वमा सर्वसम्मत बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । ‘नीतिसहित नेतृत्वमा पनि सहमति भयो । यसले पार्टीमा ऊर्जा भर्ने काम गरेको छ । एकमना एकताका साथ पार्टी अगाडि बढ्छ,’ नेपालले भने ।

विद्रोहको औचित्य पुष्टि गर्न महाधिवेशनले आफूलाई अध्यक्षको जिम्मेवारी दिएको नेपालले बताए । उनले भने, ‘विद्रोहको औचित्य पुष्टि गर्न महाधिवेशनले मलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । अब पार्टीलाई थप सशक्त र प्रभावकारी बनाएर अगाडि जाने मेरो मूल उद्देश्य छ । पार्टीमा गुट जन्मदैनन् र सबैलाई मिलाएर लैजान्छौँ,’ उनले भने ।

सम्मानित नेता झलनाथ खनालले पार्टीमा यथास्थितिवादी नेतृत्व भए पनि महाधिवेशनले समाजवादी क्रान्तिको बाटो तय गरेको बताए । उनले पार्टीलाई उचाइमा पुर्‍याउने गरी अघि बढ्ने बताए । ‘हामीले पुरानै नेतृत्व दोहोर्‍याए पनि नयाँ कार्यक्रमहरू अगाडि सारेका छौँ । यसमा मलाई सर्वसम्मत रूपमा पार्टीको अभिभावक हुनुपर्छ भन्ने मागबमोजिम नै मैले यो सहमति गरेको हुँ,’ खनालले भने, ‘मैले आफैँ नयाँ कार्यक्रममा सहमतिको प्रयास गरेको हुँ । म नयाँ नेतृत्वलाई सम्पूर्ण हिसाबले साथ सहयोग र समर्थन गर्नेछु ।’

महासचिव भुसालले समाजवादी कार्यक्रम र कार्यदिशाका साथ पार्टीलाई देशव्यापी रूपमा सशक्त ढंगले अगाडि बढाउने बताए । उनले वाम एकता र कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन बलियो पार्टी निर्माण गर्न लाग्ने बताए ।

अन्य पदमा पनि सहमति हुने
अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिने भएको छ । खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि निवर्तमान सचिवालयले सहमतिमै टुंग्याउने प्रस्ताव हलमा गरेका थिए । उक्त प्रस्तावलाई पनि हलले सर्वसम्मत अनुमोदन गरेको छ । निवर्तमान सचिवालय बैठक बसेर सहमति गरिने खनालले बताए ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान छ । राजधानीको प्रज्ञा भवनमा गत १६ असारमा सुरु महाधिवेशन एक दिन लम्बिएर २१ असारमा समापन हुँदै छ ।

महाधिवेशनमा विभिन्न दस्ताबेजहरू पनि सर्वसम्मत पारित भएका थिए । राजनीतिक, संगठनात्मक, समाजवादी कार्यक्रम र विधान संशोधन प्रतिवेदन सर्वसम्मत पारित भएसँगै नेतृत्वमा पनि सर्वसहमति गरिएको नेताहरूले बताएका छन् । दस्ताबेजमाथि समूहको निष्कर्ष प्रस्तुत गर्दै समूह नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ ।

यसरी चयन हुनेछन् केन्द्रीय सदस्य 
प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ ।

सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् । निवर्तमान सचिवालयले नाम टुंगो लगाएपछि अनुमोदनका लागि हलमा प्रस्तुत गरिनेछ । महाधिवेशन शुक्रबार नै सम्पन्न हुनेछ ।

ad
ad
ad
ad