१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका म्याग्दी
२o८१ असार २० बिहीबार १४:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १४:४९:oo

बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुन सक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको हो । 

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिए । ‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दै छौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाबारे जानकारी गराउने गरी खटाइएको छ,’ प्रजिअ ढकालले भने । 

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मंगलबार रघुगंगा गाउँपालिका– २ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीनजना यात्रुलाई सकुशल उद्धार गरिएको थियो । सडकखण्डअन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिनेछ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलबारे जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ, तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकखण्डमा ३५ साना–ठूला पहिरा छन् । तीमध्ये बैसरी पहिरो, सिरुबारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेकाे आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु. ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।
 
यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारीचालक र यात्रुलाई विपतबाट हुन सक्ने क्षति, वर्षाको समयमा हुन सक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमसमेत गर्दैआएको छ । 

ad
ad
ad
ad