१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
ल्यान्डफिल साइटको अवस्था निरीक्षण गर्न मंगलबार बन्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाको टोली ।
शान्ति तामाङ काठमाडाैं
२o८१ असार १९ बुधबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सय वर्षका लागि बनेको बन्चरेडाँडा साइट १५ वर्षमै भरिने चेतावनी

वर्गीकरण नभएका फोहोर ल्यान्डफिल साइटमा लैजान रोक्न सुझाव

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:३६:oo

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका : ल्यान्डफिल साइटमा पुर्‍याइने फोहोरको मात्रा धेरै भएपछि ल्यान्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेकै मात्रामा फोहोर लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ । काठमाडौंले जस्तै अन्य स्थानीय तहले पनि वर्गीकरण गरेर स्रोतमा फोहोर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । 

वर्गीकरण नभएका फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट पुर्‍याउने क्रम तत्काल रोक्न महानगरको अनुगमन टोलीले सुझाव दिएको छ । बन्चरेडाँडामा फोहोर व्यवस्थापनको अवस्था अवलोकन गर्न मंगलबार नुवाकोट पुगेको काठमाडौं महानगरपालिकाको टोलीले यस्तो सुझाव दिएको हो । 

बर्खा सुरु भएसँगै ल्यान्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय खोजीका लागि टोली गएको हो । ‘साइटमा पुर्‍याइने फोहोरको मात्रा धेरै भएपछि ल्यान्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहोर लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ,’ अवलोकनपछि प्रवक्ता नवीन मानन्धरले भने, ‘महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहोर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गरेको छ । यसलाई अरू पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’ यो ल्यान्डफिल साइट सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने उद्देश्यले निर्माण गरिएको थियो । जेठ ०७९ देखि काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । यसअघि उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । 

प्रवक्ता मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरू भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठसहितको टोली साइट गएको थियो । अध्ययनका क्रममा उनीहरूले साइट व्यवस्थापनमा काम गर्ने कर्मचारी, फोहोर ढुवानी गर्ने चालक र स्थानीयवासीसँग हालको अवस्थाबारे जानकारी लिएका थिए ।

साइटको आयु बढाउन फोहोर छुट्याउनुपर्ने
अवलोकन टोलीले साइटको आयु बढाउन वर्गीकरण गरिएको फोहोर मात्र ल्यान्डफिल साइट लैजानुपर्ने जनाएको छ । उनीहरूका अनुसार पुनः प्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहिएर मल हुने कच्चापदार्थ पनि लगिएको छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामानसमेत साइटमा थ्रुप्रिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । ‘फोहोर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनुपर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नुपर्छ । होइन भने विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ,’ वातावरण समितिका संयोजक महर्जनले भने ।

समितिका सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले फोहोर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आ–आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्ने र केन्द्र सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने बताए । ‘व्यक्तिको आचरण परिवर्तनदेखि फोहोर व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुपर्छ,’ समितिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘समस्या सबैलाई थाहा छ, पन्छेर आफू चोखो भएर बस्ने प्रवृत्ति छ ।’ बन्चरेडाँडा क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहोरको पनि मात्रा घटाउने र यसलाई ग्यास उत्पादनजस्ता उद्योगको कच्चापदार्थका रूपमा रूपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेकोसमेत उनीहरूले बताए । यसैगरी, स्यानिटरी ल्यान्डफिल साइटको अवलोकनपछि टोलीले ठूलो थुम्का सामुदायिक वन क्षेत्रमा तेजपातका बिरुवा रोपेको छ । डिभिजन वन कार्यालय नुवाकोटका फरेस्टर मुकुन्द बास्कोटाका अनुसार जग्गा ३४.३७ हेक्टर (करिब ६५० रोपनी) क्षेत्रफलमा रहेको सामुदायिक वनमा दुई हजार आठ सय बिरुवा रोप्ने महानगरपालिकाको योजना छ । वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठका अनुसार बफर जोनमा हरियाली कायम गरिनेछ । 

 

ad
ad
ad
ad