१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सम्पदा क्षेत्रमा साइकल लेनको सम्भाव्यता अध्ययन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १o:१६:oo

काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा डिजाइन भएको माइतीघर–बानेश्वर–कोटेश्वर साइकल लेन योजनालाई थाती राखेर महानगरले नयाँ योजनाको सम्भाव्यताबारे अध्ययन सुरु गरेको छ । महानगरले सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्न सकिन्छ कि भनेर अध्ययन थालेको हो ।

महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले सम्पदा क्षेत्रलाई बाधा नपुर्‍याउने गरी साइकल लेन बनाउन सकिन्छ कि भनेर काम सुरु गर्न लागेको बताए । ‘साइकल लेन बनाउन महानगरभित्र ‘ट्राफिक स्टाटस स्टडी’ गर्न लागेका छौँ । सम्पदा क्षेत्रलाई बाधा नहुने गरी त्यहाँ साइकल गुडाउने अवस्था सिर्जना गर्न सक्छौँ कि भनेर पनि लागेका छौँ,’ राजभण्डारीले भने ।

उपत्यकाकै अर्को महानगर ललितपुरले साइकल लेन विस्तार गरेसँगै काठमाडौं महानगरपालिकामा पनि साइकल लेन निर्माणको चर्चा चुलिएको थियो । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाक्यले चुनावी घोषणापत्रमा साइकल लेन निर्माणलाई प्राथमिकता पनि दिएका थिए । महानगरले मंसिर ०७६ मै डिजाइन सार्वजनिक गरेको थियो । ३.५ किलोमिटर दूरीको लेन निर्माणका लागि महानगरले तीन करोड बजेट छुट्याएको थियो । सोहीअनुसार उनको कार्यकालमा चर्चा मात्रै पायो, पूर्ण रूपमा काम हुन सकेन । त्यसपछिका मेयर बालेन्द्र साह (बालेन) ले भने उनको योजनालाई बेवास्ता गर्दै आएका छन् । ललितपुरमा ३२ किलोमिटर साइकल लेन बनिसक्दा काठमाडौंमा भने कुनै निर्णय हुन सकेको छैन । 

साइकल लेनबारे छैन छलफल 
पाँच वर्षअघिदेखि नै सुरु भएको साइकल लेनको योजना कसरी अगाडि बढाउनेबारे छलफल हुन सकेको छैन भने तत्कालीन मेयर शाक्यको कार्यकालमा बनेको गुरुयोजनासमेत अलपत्र छ । ‘साइकल लेनबारे हामी सुरुवाती अवस्थामै छौँ । साइकल लेनबारे यसरी नै अगाडि बढ्ने भन्नेबारे निर्णय हुन सकेको छैन । हामी छलफलमै छौँ,’ राजभण्डारीले भने । उनको भनाइलाई आधार मान्ने हो भने महानगर साइकल लेन बनाउन इच्छुक देखिँदैन । 

आव ०७८/७९ मा पनि महानगरले सार्वजनिक निर्माणअन्तर्गत माइतीघरदेखि तीनकुने खण्डमा साइकल लेन निर्माणका लागि पाँच करोड विनियोजन गर्‍यो । साइकल लेन बनाउन नसकेको काठमाडौं महानगरले सोही आवमा ओभरहेड साइकल लेनका लागि बजेट विनियोजन गर्‍यो । 

ad
ad
ad
ad