१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o९:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धन परिवर्तनले संकटमा बागमतीका मुख्यमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o९:३३:oo

मुख्यमन्त्री बनेको १८ महिनाको अवधिमा पटकपटक सत्तागठबन्धन परिवर्तन हुँदा संकटमा परेर पनि जोगिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यसपटक भने अप्ठ्यारोमा परेका छन् । सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेल अप्ठ्यारोमा परेका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै उनको मुख्यमन्त्री पद धराममा परेको छ भने प्रदेशको सत्ताको चाबी उनको हातबाट खोसिने निश्चित भएको छ । 

यसअघि मुख्यमन्त्री जम्कट्टेलले विभिन्न समयमा तीनपटकसम्म विश्वासको मत लिनुपरेको थियो । तैपनि उनको मुख्यमन्त्री पद भने जोगिँदै आएको थियो । अब भने सत्तासमीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मात्रैले पनि सजिलै बहुमत पुग्ने अवस्था छ । 

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहेकोमा यहाँ कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेका छन् । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकीपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् ।

गत वर्ष २५ पुस ०७९ मा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । यसबीचमा उनले तीनपटक विश्वासको मत लिइसकेका छन्। 

जम्कट्टेलले ३ माघ ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत ०८० मा तेस्रोपटक विश्वासको मत लिएका थिए । केन्द्रमा नयाँ गठबन्धन र सरकार बनेपछि प्रदेशमा समेत त्यसको प्रभाव पर्दै आएको छ । यसैबीच कांग्रेस र एमालेले सोमबार सहमति गर्दा प्रदेशको नेतृत्वको विषयमा समेत भागबन्डा लगाएका छन् । सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसको भागमा परेको छ । 

यससँगै कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । यद्यपि, अहिलेसम्म प्रदेश सरकारको परिवर्तनका विषयमा प्रदेशमा नेतृत्व गर्ने दलहरूले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । 

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् । यता प्रदेशमा पनि सत्तासाझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री प्रचण्डकै मार्ग पछ्याउने उनीनिकट स्राेतको दाबी छ।
सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले केन्द्रमा हुने घटनाक्रमका आधारमा प्रदेशमा पनि गतिविधि बढ्ने बताएका छन् ।

ad
ad
ad
ad