१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार o७:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सहमतिबारे कांग्रेसमा एकमत : अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:२१:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्तासहकार्यको सहमति अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन् । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बुधबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने बैठकले सहमतिको अनुमोदन गर्नेछ । त्यसलगत्तै नयाँ सरकार गठन प्रक्रियामा लाग्ने कांग्रेसको तयारी छ । 

मंगलबार बिहान सभापति देउवाले पदाधिकारी बैठक बोलाएर देशलाई स्थायित्व दिन कांग्रेस र एमालेको समीकरण बनेको ब्रिफिङ गरेका थिए । प्रवक्ता महतका अनुसार एमाले र कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्ने गरी सहमति भएको देउवाले जानकारी गराएका थिए ।

‘राजनीतिक स्थायित्व, संविधान संशोधन र आर्थिक वृद्धिमा देखिएको समस्या समाधान गर्न कांग्रेस–एमालेको नेतृत्वमा सरकार गठनको परिस्थिति तयार भयो । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्नेसहित सातबुँदे सहमति भएको छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै डा. महतले भने, ‘राष्ट्रिय हितमा बनेको यो समझदारीको समीकरणमा अरू दललाई पनि सहभागी गराएर लैजान प्रयास हुनेछ । कार्यसम्पादन समिति बैठकबाट सहमति अनुमोदन गरेर वैधानिक रूपमा सरकार गठनको बाटोमा अगाडि बढ्नेछौँ ।’ 

सोमबार मध्यरातमा कांग्रेस र एमालेबीच सत्तासमीकरणको सहमति बनेको थियो । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति छ । सत्तासाझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । तर, हालसम्म सहमति सार्वजनिक भएको छैन । 

कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालालगायत नेताहरूले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको मुद्दामा कांग्रेस र एमाले मिल्नुपर्ने धारणा राख्दै आएका थिए । जसकारण पनि कांग्रेसमा सहमतिका विषयमा विमति नरहेको नेताहरू बताउँछन् । कोइरालाले मंगलबार वीरगन्जमा आयोजित कार्यक्रममा सहमतिबारे प्रतिक्रिया दिँदै कांग्रेस–एमाले एक ठाउँमा उभिनुपर्ने आवश्यकताबारे आफूले उठाउँदै आएको विषय सहमतिले पुष्टि गरेको बताए । ‘मैले सात–आठ महिना अगाडि नै भनेको थिएँ– एमाले–कांग्रेस एक ठाउँमा उभियो भने गन्तव्यमा पुगिन्छ । मैले जुन एजेन्डाको विषय उठाएको थिएँ त्यो अहिले आएर प्रमाणित भएको छ,’ उनको भनाइ थियो, ‘सभापति देउवा र एमाले अध्यक्षबीच भएको सहमतिले त्यही आवश्यकताको पुष्टि भएको छ । सहमतिलाई गम्भीरताका साथ अगाडि बढाउनुपर्छ ।’ कोइरालाको जोडबलमा कोशीमा कांग्रेस–एमाले गठबन्धन सरकार गठन भएको थियो ।

‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी : सानेपामा प्रचण्ड र ओली 
सत्तासमीकरण फेरबदलमा सहमति बनेको भोलिपल्टै मंगलबार तीन दलका शीर्ष नेता कांग्रेस मुख्यालय पुगेका छन् । कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सयौँ जन्मजयन्तीमा सानेपामा आयोजना गरेको ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलगायतका नेता सहभागी भएका थिए । ओली र प्रचण्ड भने फरक–फरक समयमा सानेपा गएका थिए । सानेपामा सभापति देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतले नेताहरूको स्वागत गरेका थिए । सभापति देउवासहित पदाधिकारीहरूले नेताद्वयलाई प्रदर्शनीको अवलोकन गराएका थिए । 

सत्तासमीकरणमा फेरबदलपछि सानेपा पुगेका नेताहरू सौहार्दपूर्ण रूपमा प्रस्तुत भएका थिए । उनीहरूले शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा कोइरालाको योगदानको स्मरण गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका थिए । नेताहरूले प्रदर्शनीमा कोइरालासँग सम्बन्धित २००७ अघिदेखिका १५१ तस्बिरका अवलोकन गरेका थिए । त्यस्तै, कोइरालाको योगदानबारे विमर्शमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता कृष्ण सिटौला र एमाले नेता प्रदीप ज्ञवाली सहभागी थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनीमा कांग्रेसको क्रान्तिकालदेखि शान्ति प्रक्रियाका समयका तस्बिर समावेश थिए । 

प्रतिपक्षी दलसँग देउवाको छलफल 
सभापति देउवाले संसद्मा प्रतिपक्षी भूमिकामा रहेका दलहरूसँग छलफल गरेका छन् । देउवाले सत्तासहकार्यका लागि ती दलसँग आग्रह गरेका छन् । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार छलफलका लागि जसपा नेपाल, लोसपा, राप्रपाका अध्यक्षलाई सभापति देउवाले छलफलमा बोलाएका थिए ।

‘हिजो हामीसँगै विपक्षी मोर्चामा रहेर सहकार्य गरेका दलहरूलाई पछिल्लो सहमतिबारे जानकारी दिन र विश्वासमा लिनका लागि छलफल भयो । पछिल्लो अवस्थाबारे उहाँहरूलाई जानकारी गराइयो । उहाँहरू सकारात्मक हुनुुहुन्छ । थप छलफल गरेर अगाडि बढ्नेछौँ,’ उनले नयाँ पत्रिकासँग भने । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी भने बैठकमा सहभागी थिएनन् । उनले आफू बागलुङमा रहेकाले बैठकमा सहभागी हुन नसकेको बताए । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बुढानीलकण्ठ बैठकमा सकारात्मक छलफल र थप छलफल गरेर सहकार्य गरेर जाने गरी बैठक सकिएको बताए । ‘उहाँहरूले सहमति भएको विषयमा हामीलाई जानकारी गराउनुभयो । सहमतिको विषयमा हाम्रो धारणाको विषयमा उहाँहरूको चासो थियो । हामीले पनि बाहिर आएका विषयमा के कसो हो भन्ने जिज्ञासा राख्यौँ । उहाँहरूले संविधान संशोधनको विषयमा बाहिर आएजस्तो यो–यो विषयमा संशोधन गर्ने भनेर सहमति नभएको जानकारी गराउनुभयो । आवश्यकताअनुसार संविधान संशोधन गर्न तयार भएको बताउनुभयो । साथै, मन्त्रालयको बाँडफाँटको टुंगोसमेत नलागेको बताउनुभयो,’ यादवले भने । 

जसपा नेपालका प्रवक्ता मनीष सुमनका अनुसार देउवाले सत्तासहकार्यका विषयमा विगतमा प्रतिपक्षमा रहेका दलका नेतृत्वलाई छलफलका लागि साँझ ५ बजे बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए । जसपा नेपाल सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ । लोसपा नेता डा. सुरेन्द्र झाका अनुसार अध्यक्ष महन्थ ठाकुर बैठकमा सहभागी भएका थिए । तीनवटै दल कांग्रेस–एमाले गठबन्धनसँग सहकार्य गर्न सकारात्मक देखिएका छन् ।

कांग्रेस–एमाले सहकार्य स्वागतयोग्य : राप्रपा
राप्रपाले कांग्रेस र एमालेबीच सोमबार संविधान संशोधन गर्ने तथा नयाँ सरकार गठन गर्ने सहमतिलाई स्वागत गरेको छ । ‘सार्वजनिक भएअनुसार सहमतिको मूल विषय संविधान संशोधन अनि पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बन्ने सहमतिको कुरा स्वागतयोग्य छ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार पदाधिकारी बैठकपछि भने, ‘संविधान संशोधनका सन्दर्भमा उहाँहरू कसरी अघि जानुहुन्छ, हामी होसियारीपूर्वक हेर्नेछौँ ।’ उनले सार्वजनिक भएका विषयमा कांग्रेस र एमालेसँग छलफल गरेपछि थप धारणा बनाउने बताए । 

उनले सरकारमा सहभागिताबारे सोधिएको प्रश्नमा ‘परको विषय’ भएको टिप्पणी गरेका छन् । ‘हामी दलहरूसँग औपचारिक–अनौपचारिक संवादमा छौँ । संविधान संशोधनका विषय कसरी अघि बढ्छन् । त्यसपछि थप धारणा बनाएर अघि बढ्छौँ,’ लिङ्देनले भने । उनले यही संविधानअनुसार देश अघि बढ्न नसक्ने, तर देश पछि पनि फर्किन नसक्ने टिप्पणी गरे ।

ad
ad
ad
ad