१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ महिनामा भित्रिए पाँच लाख ८३ हजार पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार o८:५९:oo

जुनमा ७६ हजार ७३६ पर्यटक घुम्न आए, भारतीय, अमेरिकन र चिनियाँ पर्यटक धेरै

सन् २०२४ को पहिलो ६ महिनामा पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढेको हो । ०२४ को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार १६ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोही अवधिमा चार लाख ७६ हजार चार सय ८१ पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । यो वर्ष एक लाख ६ हजार पर्यटक बढेका हुन् । सन् २०२२ को ६ महिनामा दुई लाख ४० हजार नौ सय एक पर्यटक नेपाल आएको तथ्यांक छ । सो वर्ष कोभिड महामारीको प्रभाव कायमै रहेकाले पर्यटक आगमन कम देखिएको हो । पछिल्लो समय पर्यटक आगमन बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । 

जुनमा ७६ हजार सात सय ३६ पर्यटक
यस वर्षको जुन महिनामा विभिन्न देशबाट ७६ हजार सात सय ३६ पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या जुन २०२३ को तुलनामा ६.२१ प्रतिशतले धेरै रहेको पर्यटन बोर्डले जनाएको छ । सो महिना ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । जुन महिनाको पर्यटक आगमन अघिल्लो वर्षको सोही महिनाको तुलनामा बढेको भए पनि चालू वर्षकै अघिल्लो महिनाको भन्दा भने कम हो । यस वर्ष जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ र जुनमा ७६ हजार सात सय ३६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । मार्च, अप्रिल र मे पर्यटकीय सिजन हुन् । मनसुन सुरु भएसँगै पर्यटक आगमन घट्दै जाने विगतदेखिकै ट्रेन्ड हो । मनसुनमा पनि पर्यटक भिœयाउने गरी प्रचारप्रसार गर्न नसकिएको कोरा टुर्सका सिइओ विजय अमात्यले बताए । 

जुन महिनामा पनि सबैभन्दा बढी पर्यटक भारतबाटै आएका छन् । एक महिनामा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल आएको तथ्यांक छ । तर, यो संख्या न्यून रहेको पर्यटन व्यवसायी योगेन्द्र शाक्यको ठम्याइ छ । ‘यतिवेला भारतीयहरू गर्मीले बेहाल छन्, यता नेपाल ठण्डा छ,’ उनले भने, ‘गर्मी छल्नका लागि ठूलो संख्यामा भारतीयहरू नेपाल घुम्न आउनुपर्ने थियो ।’ यस्तै, अमेरिकाबाट आठ हजार दुई सय ८१ पर्यटक नेपाल भ्रमणमा आउँदा चीनबाट सात हजार चार सय ९४, बंगलादेशबाट तीन हजार आठ सय ५७, युकेबाट एक हजार नौ सय ६९, अस्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३, साउथ कोरियाबाट आठ सय ७५ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
 

ad
ad
ad
ad