१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा सेजले सुविधा नदिएको उद्योगीको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार o९:४८:oo

सेज स्वायत्त भए पनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटक–पटक धाउनुपर्ने बाध्यता

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्र नियम तथा सम्झौताअनुसार सेवा–सुविधा पाउन नसकेको भन्दै गुनासो गरेका छन् । उनीहरूले सेजभित्र उद्योग खोलेकोमा पश्चात्ताप हुन थालेको भन्दै बाहिरिनेसम्मको चेतावनी दिएका छन् । 

विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना तथा सञ्चालन र प्रवद्र्धनसम्बन्धी बुधबार ओयोजित अन्तत्र्रिmया कार्यक्रममा आफ्ना समस्या राख्दै उद्योगीहरूले सेजभित्र विभिन्न समस्या देखिएको बताएका हुन् । सरकारले विभिन्न आश्वासन दिएर सेजभित्र उद्योग स्थापनाको आह्वान गरे पनि विद्युत् आपूर्ति, खानेपानीको व्यवस्थापन, असुरक्षा, महँगो भाडादरलगायत समस्या भोगिरहेको बताएका छन् । 

सेजले सम्झौताबमोजिमका सेवा उपलब्ध नगराएको बताउँदै सेजभित्र निरन्तर उद्योग सञ्चालनको वातावरण नरहेको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बताए । पञ्चकन्या स्टिल उद्योग सञ्चालन गर्दै आएको ग्रुपले विद्युत्को समस्या, महँगो भाडादर, उचित व्यवस्थापनको अभाव आदि कारणले उद्योग बन्द गर्न चाहेको बताए । यही अवस्था रहे केही वर्षमा सेजभित्र उद्योगी भरिने होइन सेज छाड्दै जानेछन् उनले भने । ‘सेजमा प्रवेश गर्दा धेरै उत्साह रहे पनि सुरुवातदेखि अहिलेसम्म भोग्नुपरेका समस्याका कारण उद्योगबाहिर सार्ने मनस्थितिमा पुगेका हौँ,’ उनले भने ।

कार्यक्रममा शक्ति मिनिरलका प्रबन्धक दीपककुमार झा, उद्योगी केशव भट्टराई, राजेन्द्र भट्टराई, सरोज कँडेललगायतले सेजभित्र उद्योग स्थापना गर्नु बाहिरको तुलनामा कुनै सहुलियत नपाएको बताए । सेज आफैँमा स्वायत्त रहे पनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटक–पटक धाउनुपर्ने बाध्यता रहेको उनीहरूले बताए । विशेष आर्थिक क्षेत्र भनिए पनि भन्सार तथा आन्तरिक राजस्व कार्यालयमा दोहोरो करको मारमा परेको उनीहरूले गुनासो गरे । 

उद्योगपति अजयमान श्रेष्ठले सरकारको अस्पष्ट उद्योग नीतिका कारण जेठ मसान्तभित्र दुई सय ५० उद्योग बन्द भएको बताए । राजनीतिक अस्थिरता, रेमिट्यान्स निर्भर सोच र उद्योगमैत्री वातावरण नहुँदा नयाँ उद्योग दर्ता हुने क्रम पनि घट्दै गइरहेको उद्योगी श्रेष्ठले बताए । सेजभित्रका उद्योगको अवस्था पनि उस्तै रहेको भन्दै श्रेष्ठले २२ वर्ष पहिला स्थापना गरिएको सेजको पुनर्मूल्यांकन गनुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विशेष आर्थिक क्षेत्र सेज र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रका विकासका आधार भए पनि दुवै सञ्चालन हुन नसक्दा उद्योगी व्यवसायी निराश हुनुपरेको बताए । ‘०५८ सालमा स्थापना भएको सेज अहिले पनि उस्तै अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘नीति–निर्माण गर्ने व्यतिmले उद्योगको विषयमा अध्ययन गर्न जरुरी छ ।’

उद्योगीका समस्या सुनिसकेपछि सेज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले सेजबाट हुन सक्ने सानातिना समस्याको तत्काल सुधार गर्ने प्रतिबद्धता जनाए । सबै समस्यालाई लिपिबद्ध गरेर समितिमा पेस गरी समाधानका लागि पहल गर्नेसमेत उनले उद्योगीहरूलाई आश्वासन दिए । भन्सारसम्बन्धी समस्या समाधानका लागि नीतिगत र व्यावहारिक समस्याको पहिचान गरी समाधान गरिने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

०५८ सालमा स्थापना गरिएको सेजको हालसम्म तीनपटक उद्घाटन गरिएको छ । सेजको वेबसाइटका अनुसार स्थापनाको २२ वर्षमा हाल सेजभित्र जम्मा सातवटा उद्योग सञ्चालनमा रहेका छन् । 

ad
ad
ad
ad