१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
तिवारी यादव वीरगन्ज
२o८१ असार १५ शनिबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणी अस्पताल : आर्थिक भारको बहानामा ४७ जना निकालिए, एक महिना नबित्दै आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १४:o७:oo

नारायणी अस्पतालले करिब तीन साताअगाडि तलब खुवाउन नसक्ने भन्दै कर्मचारी हटाएको एक महिना नपुग्दै पुन: कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको छ। करिब एक महिनाअगाडि अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टमा नियुक्त भएका डा. एनामुल हकले दरबन्दीबेगर दैनिक ज्यालादारीमा कार्यरतहरूका कारण अस्पताललाई आर्थिक भार थपिएकाे भन्दै  चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएका थिए। 

अस्पतालबाट हट्नेमा आठौँ तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौँ तहका मेडिकल अधिकृत एकजना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट तीनजना, रेडियोग्राफर पाँचजना, अहेब चारजना, कार्यालय सहयोगी सातजना थिए । तर, कर्मचारी हटाएको एक महिना नपुग्दै अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा. हकले विभिन्न पदमा ३३ जनाको माग राख्दै आवेदन खुला गरेका छन्। 

उनले असार १४ मा सूचना जारी गर्दै चिकित्सक, स्टाफ नर्ससहितका कर्मचारी अभाव रहेको भन्दै २७ पदमा कर्मचारी भर्ना गर्न करार सेवामा आवेदन खुला गरेका हुन्। अस्पतालमा कर्मचारीको रूपमा भर्ना हुनका लागि आवेदन खुला भएको ७ दिनभित्र अस्पतालमै पुगेर आवेदन दिनुपर्ने निमित्त मेडिकल सुपरिडेन्ट डा. हकले जानकारी दिए।

उक्त समयमा अस्पताल विकास समितिले विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा प्रवाहमा आएको समस्याको सम्पूर्ण जिम्मेवारी लिन सबैलाई जानकारी गराएको थियो। अस्पतालका मेडिकल सुपरिडेन्टले मनोमानी तरिकाले आफूखुसी सूचना जारी गरेर कर्मचारी हटाउने र भर्ना गर्ने गरेको अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार म्याद सकिएका कर्मचारी हटाउनेलाई समयमा वा भर्ना गर्नका लागि आवेदन खुला गर्न समयमा पनि अस्पताल विकास समितिसँग प्रशासनले कुनै छलफल वा जानकारी नदिएको अवस्था छ। 

नारायणी अस्पतालले ७ दिनको म्याद राखेर अधिकृत नवौ तहदेखि पाँचौँ तहसम्मका २७ पदमा ३३ जना कर्मचारीलाई भर्ना गर्नका लागि आवेदन खुला गरेको छ। लोकसेवासरह नै प्रक्रिया पूरा गरेर करार सेवामा कर्मचारी भर्ना गर्न थालिएकाे आवेदनमा उल्लेख छ। 

ad
ad
ad
ad