१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १२:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कैलालीका १५ वटा विद्यालयको एसइईको नतिजा शून्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १२:४२:oo

कैलालीका सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ। यस वर्षको एसइईमा कैलालीबाट १८ हजार ६० विद्यार्थी एसइईमा सहभागी भएकोमा ३०.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाे शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ। 

एक सय ७५ वटा सामुदायिकसहित दुई सय ९३ वटा विद्यालय एसइईमा सहभागी भएकामा १५ वटा विद्यालयको नतिजा शून्य आएको छ। १४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको नजिता शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए।

कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडा तथा चुरे गाउँपालिकाको जनता मावि बैसेनी र जनता मावि शान्तिनगर र भगवती मावि कोतढुंगेनीको नतिजा शून्य आएको छ। यी विद्यालयबाट क्रमशः ३५, ४९, ३६, २१ र १६ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए।

त्यस्तै, टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शून्य छ। राष्ट्रिय माविबाट २३ र त्रिभुवन माविबाट २६ जनाले एसइई दिएका थिए। आठजना विद्यार्थी परीक्षामा सहभागी गराएको टीकापुरको निजी विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको समन्वय इकाइले जनाएको छ। 

भजनी नगरपालिकाको सरस्वती मावि नवलपुर, महेन्द्र मावि पगियापसार, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि ढुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा शून्य आएको शिक्षा अधिकृत धामीले जानकारी दिए। यी विद्यालयबाट क्रमशः २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए।

मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडिकाफाइको नतिजा पनि शून्य आएको छ। भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइई दिएकाे समन्वय इकाइले जनाएको छ।

नमुना विद्यालयकै नतिजा कमजोर
कैलालीमा नमुना विकास कार्यक्रम लागू भएका सामुदायिक विद्यालयकै नतिजा कमजोर देखिएको छ। धनगढी नमुना माविबाट परीक्षा दिएका एक सय ७५ जनामध्ये ३२, जानकी गाउँपालिकाको जनता माविबाट परीक्षामा सहभागी ८३ जनामध्ये १० र बर्दगोरिया गाउँपालिकाको वसन्तमुरारी माविबाट सहभागी दुई सय २४ जनामध्ये ३२ जना उत्तीर्ण भएका छन्।
त्यस्तै, जोशीपुर गाउँपालिकाको रघुनाथ आदर्श नमुना माविबाट एसइई दिएका ८२ मध्ये सातजना, कर्णाली मावि टीकापुरबाट सहभागी तीन सय पाँचमध्ये ५९ जना र मोहन्याल नमुना मावि भजनीबाट परीक्षा दिएका एक सय ६० मध्ये आठजना मात्र उत्तीर्ण भएकाे शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। जिल्लाका आठवटा विद्यालयमा नमुना विकास कार्यक्रम लागू भएको छ।

प्रदेशभरि सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने नीतिका एक्ली
कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नीतिका अवस्थी ४ जिपिए ल्याएर एसइई उत्तीर्ण भएकी छिन्। सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभरि सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याएर उत्तीर्ण हुने नीतिका एक्ली हुन्।

गोदावरी नगरपालिका–४, वसन्तपुरकी नीतिका अत्तिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेकी छिन्। पढाइसँगै निबन्ध, हाजिरीजवाफ, वक्तृत्वकलालगायत अतिरिक्त क्रियाकलापमा उनी सधैँ प्रथम स्थान हासिल गर्ने गरेकी दुर्गालक्ष्मी माविका प्रधानाध्यापक शिवराज जोशीले बताए।

‘उनी उत्कृष्ट प्रतिभा भएकी मेधावी छात्रा हुन्,’ जोशीले भने, ‘उनको नतिजाले विद्यालयकै नाम उँचो भएको छ।’ नीतिकाका बुवा टेकराज स्थानीय चण्डेश्वरी सामुदायिक विद्यालयका शिक्षक हुन्। दुर्गालक्ष्मी नमुना माविबाट तीन सय ७३ विद्यार्थी एसइईमा सहभागी भएकोमा एक सय दुईजना उत्तीर्ण भएका छन्। 

कैलालीमा चारजना विद्यार्थी ४ जिपिए ल्याएर एसइई उत्तीर्ण भएका छन्। अत्तरियाको संस्थागत विद्यालय सत्ववती एकेडेमीका निर्मल ठगुन्ना, सैनिक महाविद्यालयका विकास रावत र टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउद ४ जिपिएसहित उत्तीर्ण भएका हुन्। 

केही सामुदायिक विद्यालयको नतिजा राम्रो छ। लम्कीचुहा नगरपालिकाको राष्ट्रिय नमुना मावि मोतिपुरले ५८.७७ नतिजा ल्याएको छ। त्यस्तै, धनगढीको पञ्चोदय माविले ५८.६० प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। राष्ट्रिय माविबाट परीक्षामा सहभागी एक सय १४ जनामध्ये ६७ र पञ्चोदयबाट सहभागी तीन सय दुईजनामध्ये एक सय ७७ जना उत्तीर्ण भएका छन्। 
 

ad
ad
ad
ad