१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १३ बिहीबार
  • Saturday, 29 June, 2024
डा. शेरबहादुर पुन
२o८१ असार १३ बिहीबार o७:o९:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

हामी संक्रमणजन्य रोगको जोखिममा किन छौँ ?

स्वास्थ्य संस्थाले पर्याप्त परीक्षण गरेर सेवा दिन नसकिरहेको अवस्था र संक्रमणजन्य रोगप्रति आममानिसको बेवास्ताले सरुवा रोग घातक बन्दै गएका छन्

Read Time : > 4 मिनेट
डा. शेरबहादुर पुन
नयाँ पत्रिका
२o८१ असार १३ बिहीबार o७:o९:oo

वर्षायाम सुरु भएसँगै विभिन्न संक्रमणजन्य रोगको समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न संक्रमण डेंगु, मलेरियाका साथै अन्य ब्याक्टेरियल र भाइरसजन्य संक्रमणसमेत बढ्न थालेका छन् । खासगरी खानेकुरा र पानीका माध्यमबाट ब्याक्टेरिया र भाइरस सजिलै एकबाट अर्कोमा सर्ने भएकाले वर्षा सुरु भएसँगै संक्रमण पनि बढेका हुन् । 

पछिल्लो ६ महिनामा मात्रै देशभर एक हजार दुई सय ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । लक्षणसहित अस्पताल पुगेर परीक्षण गराएका ‘केस’मध्ये संक्रमण पुष्टि भएका मात्रै १२ सय नाघेका हुन् । तर, डेंगुका लक्षण देखिनासाथ स्वास्थ्य संस्थासम्म पुगेर औषधी सेवन गर्नेको संख्या निकै न्यून छ । जसमध्ये अधिकांशले मेडिकल वा फार्मेसीबाट लिएर सीधै औषधी सेवन गरिरहेका हुन्छन् भने कतिपयले लक्षणलाई पूर्णतया बेवास्ता गरिरहेको पनि पाइन्छ । 

डेंगु मात्र नभई मौसम परिवर्तनसँगै देखिने झाडापखाला, ज्वरो, दुखाइ, रुघाखोकीजस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा पुग्ने र परीक्षण गराउने दर निकै कम छ । अर्थात्, संक्रमणजन्य रोगका लक्षणलाई बेवास्ता गर्ने प्रवृत्तिले गर्दा यसको असरबारे यकिन अनुमान गर्न सकिँदैन ।

भाइरल वा केही दिनमै आफैँ निको भएर जाने सामान्य संक्रमण पनि पछिल्लो समय घातक बन्दै गएका छन् । पछिल्लो समय मासु खाने ब्याक्टेरिया नाम दिइएको ‘स्ट्रोप्टोकोकलल टक्सिस सक सिन्ड्रोम’ (एसटिएसएस) निकै चर्चामा छ । जापानमा फैलिएको भनिएको यो ब्याक्टेरिया संक्रमण भएमा निकै घातक मानिएकाले नेपालमा समेत फैलिन सक्ने भन्दै आममानिसमा एक खालको डर सिर्जना गरेको छ । तर, निकै घातक भनिएको सो ब्याक्टेरिया नयाँ भने होइन । यो भाइरस आनुवंशिक परिवर्तन भएर घातक बन्दै गएकाले पछिल्लो समय चिन्ताको कारण बन्न पुगेको पछिल्ला रिपोर्टले देखाएका छन् । 

अनावश्यक औषधी प्रयोग गर्दा बिस्तारै ती औषधी हाम्रो शरीरमा कुनै प्रभाव नपार्ने अवस्थामा पुग्छन् र ब्याक्टेरिया, भाइरस या परजीवीले औषधी सेवन गर्दा कुनै पनि प्रतिक्रिया जनाउँदैनन् । परिणामतः एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधी प्रभावहीन हुन थाल्छन् ।

अर्थात्, समयक्रमसँगै स्वभावमा परिवर्तन हुँदै आइरहेका ब्याक्टेरिया वा भाइरस घातक बन्दै गइरहेका छन् । हिजोसम्म सामान्य लक्षण देखिएर केही दिनमै आफैँ निको भएर जाने संक्रमणले समेत अहिले महामारीको रूप लिन थालेका छन् । अर्थात्, भविष्यमा यिनै संक्रमण निकै घातक बन्दै जाने अनुमान गर्न सकिन्छ । सामान्यतया, शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि सामान्य घाउ हुँदासमेत संक्रमणका कारण मृत्यु हुने अवस्था आउन सक्ने वैज्ञानिकको अनुमान छ । जुन भविष्यमा ठूलो चुनौती बन्न सक्छ । 

एउटै लक्षण फरक–फरक रोगको कारक हुन सक्छ : हामीकहाँ वर्षायाममा सबैभन्दा धेरै देखिने भनेको झाडापखाला र ज्वरोको समस्या हो, जुन रोग नभई अन्य रोगका लक्षण हुन् । तर, हामीकहाँ झाडापखाला र ज्वरो के कारणले देखिइरहेको छ भन्ने परीक्षण पर्याप्त भइरहेको छैन । पखाला कम गर्न र रोक्न वा ज्वरो कम गर्न औषधी र अन्य प्राथमिक उपचारमा हाम्रो उपचार सेवा सीमित भइदिँदा मूल समस्या पहिचान चुनौतीपूर्ण बनेको छ । 

झाडापखाला हैजाका कारण हुन्छ भन्ने समान्य बुझाइ छ । तर, पखाला हैजाबाहेक अरू विभिन्न रोगको लक्षणका रूपमा देखिन सक्छ । यस्तै, ज्वरोसमेत टाइफाइडबाहेक अन्य रोगको लक्षण हुन सक्छ । तर, नेपालमा हाल ज्वरो वा पखालाजस्ता लक्षणका लागि बढीमा आठवटा रोगको मात्रै परीक्षण भइरहेको छ, जुन पर्याप्त छैन । जसका कारण यस्ता लक्षण के कारणले देखिइरहेका छन् भन्ने यकिन नहुँदा कुन रोग फैलिइरहेको छ भन्नेसमेत थाहा हुँदैन । 

रोग परीक्षणमा रहेको सीमितताका कारण समेत कुन खालको रोग फैलिइरहेको छ भन्न सकिने अवस्था छैन । जसका कारण एकातिर लक्षणहरूको उपचारमा मात्रै स्वास्थ्य सेवा सीमित भइरहेको छ भने अर्कातिर रोग पत्ता नलाग्दा भित्रभित्रै फैलिने वा निर्मूल पार्न नसकिने जोखिमसमेत उत्तिकै देखिन्छ । जस्तै, पछिल्लो समयमा ज्वरोसहितका लक्षण लिएर अस्पताल पुग्नेमध्ये एकदमै कममा मात्र डेंगु देखिएको छ । अर्थात्, नन–डेंगुमा समेत ज्वरो छ, तर कारण पत्ता लगाउन पर्याप्त परीक्षण उपलब्ध छैनन् । 

अर्थात्, बर्सेनि विभिन्न समस्या लिएर अस्पताल पुग्ने बिरामीमध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ । जुनसुकै संक्रमण फैलिए पनि ज्वरोलगायत लक्षणसहित बिरामी अस्पताल पुग्छन् । तर, ज्वरो देखिएका सबै बिरामीमा तत्कालीन समयमा फैलिइरहेको कुनै अमुक संक्रमण (जस्तै, कोभिड, डेंगु, इन्फ्लुएन्जा आदि) हुँदैन । यी संक्रमण पुष्टि भएबाहेकका बिरामीमा के कारणले ज्वरो आइरहेको छ भन्ने अनुसन्धानको विषय नबन्दा उपचार नै अन्योलमा पर्ने गरेको छ । सरुवा रोगको निदानका लागि सबैभन्दा ठूलो शुक्रराज ट्रपिकल अस्पतालमा समेत संक्रमणजन्य रोगका परीक्षण पर्याप्त नहुँदा सेवा लक्षणको उपचारमा सीमित भएको छ । 

एकातिर स्वास्थ्य संस्थाहरूले पर्याप्त परीक्षण गरेर सेवा दिन सकिरहेका छैनन् भने अर्कातिर संक्रमणजन्य रोगप्रतिको आममानिसको बेवास्ताले सरुवा रोग घातक बन्दै गइरहेका छन् । ब्याक्टेरिया र भाइरसमा समयक्रमसँगै आइरहेको आनुवंशिक उत्परिवर्तनले उपचार जटिल बनाउँदै लगेको हो । भाइरस वा ब्याक्टेरियामा छिटो–छिटो उत्परिवर्तन आइरहनु र औषधी वा भ्याक्सिन समयमा उत्पादन गर्न नसक्नु वा उपलब्ध हुन नसक्नुजस्ता कारणले उपचारको पाटो जटिल बन्दै गएको हो ।

प्रत्येक वर्ष डेंगु संक्रमण बढ्दै जानु, कोभिडका नयाँ–नयाँ भेरियन्ट थपिँदै जानु, पटक–पटक संक्रमण हुनु आदिलाई संक्रमणजन्य रोग घातक बन्दै गएका उदाहरण मान्न सकिन्छ । कोभिड, डेंगु, हैजा, टाइफाइड र अन्य किसिमको इन्फ्लुएन्जा संक्रमण भएमा रुघाखोकी, ज्वरो, पखाला, घाँटी, आँखा, मांसपेशी वा टाउको दुख्नेजस्ता समान खालका लक्षण देखिन्छन् । अर्थात्, यस्ता लक्षण के कारणले देखिइरहेका छन् भन्ने विनापरीक्षण थाहा हुँदैन । अस्पतालमा संक्रमण परीक्षणका लागि आवश्यक जनशक्ति, उपकरण वा परीक्षणको सुविधा नहुँदा सबैखाले लक्षणको मात्र उपचार भइरहेको छ ।

स्वास्थ्य संस्थाहरू यस्ता लक्षण देखिएमा दुखाइ कम गर्ने औषधी, वा पछिल्लो ‘जेनेरेसन’का एन्टिबायोटिकहरू विनाआधार ‘प्रिस्क्राइब’ गर्न बाध्य छन् । अर्कातिर, सदाबहारजस्तै देखिने यस्ता लक्षण देखिनासाथ सोही औषधी सीधै मेडिकल वा फार्मेसीबाट किनेर खान सकिन्छ भन्ने आममानिसमा गलत धारणा व्याप्त छ । जथाभावी दुखाइ कम गर्ने औषधी वा एन्टिबायोटिकको प्रयोगले शरीरमा परिरहेको असरप्रति सेवाप्रदायक त सचेत छैनन् नै, आममानिसले समेत बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । 

अनावश्यक औषधी प्रयोग गर्दा बिस्तारै ती औषधी हाम्रो शरीरमा कुनै प्रभाव नपार्ने अवस्थामा पुग्छन् । अर्थात्, ब्याक्टेरिया, भाइरस र परजीवीले औषधी सेवन गर्दा कुनै पनि प्रतिक्रिया जनाउँदैनन् । परिणामतः एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधी प्रभावहीन हुन थाल्छन् । र, बिस्तारै संक्रमणको उपचार गर्न गाह्रो वा असम्भव हुँदै जाने जोखिम बढ्छ । जसले गर्दा संक्रमणहरू छिटो फैलिने वा उपचार गर्न गाह्रो हुने, रोगको गम्भीरता बढ्दै जाने भएकाले अशक्तता र मृत्युको जोखिमसमेत बढाउँदै लगेको पछिल्ला अध्ययनले देखाएका छन् । 

एन्टिमाइक्रोबियल प्रतिरोध अर्थात् औषधीले काम गर्न छोड्नुको मुख्य कारण जथाभावी औषधीको प्रयोग नै हो । विभिन्न संक्रमणका लक्षण देखिँदा चिकित्सकको सल्लाहविना वा आफैँ किनेर प्रयोगमा ल्याउने प्रवृत्तिले झन् ठूलो समस्या निम्त्याइरहेको छ ।

सही ज्ञानको अभावसमेत संक्रमणहरूको नियन्त्रणमा चुनौतीको कारक बन्न थालेको छ । सामाजिक सञ्जालमा आउने अनावश्यक वा विनाप्रमाणका सामग्रीले गर्दा आममानिसमा संक्रमणप्रति गलत बुझाइ व्याप्त छ । संक्रमण हुँदा के गर्ने–नगर्ने वा के खाने–नखाने भन्ने विषयमा जथाभावी बोल्दा यसको असर सीधै स्वास्थ्य प्रणालीमा परिरहेको छ । यस्तो विषयमा सम्बन्धित निकायले सही सूचना प्रचारप्रसार गर्ने, गलत सूचना चिर्ने खालका सामग्री प्रस्तुत गरेर गलत बुझाइ मेटाउन सकिन्छ । 

यस्तै, कोभिड महामारीपश्चात् पनि आवश्यक सेवा–सुविधा विस्तारमा सरकारको ध्यान नजानु दुःखद छ । कोभिडको दोस्रो र तेस्रो लहर फैलिँदा अक्सिजन र सामान्य उपचार गर्नका लागि हाम्रा स्वास्थ्य संस्था अपुग भए । त्यस्ता महामारी जुनसुकै वेला आउन सक्छन् भन्ने पुष्टि भए पनि प्रकोपसँग लड्ने तयारी शून्य हुनु निकै दुःखद विषय बनेको हो । 

अन्त्यमा, वर्षायाममा डेंगु, फ्लु, हैजा, कोभिड र विभिन्न खालका इन्फ्लुएन्जाको संक्रमण फैलिइरहेको छ । यस्ता समस्याले निम्त्याउने ज्वरो, पखाला, रुघाखोकी शरीरका विभिन्न भागको दुखाइ आदिलाई बेवास्ता नगरौँ । यस्ता, संक्रमण बालबालिका, वृद्धवृद्धा, गर्भवती वा अन्य प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरू बढी प्रभावित हुने भएकाले समयमै सही उपचारमा ध्यान दिऔँ । यस्ता लक्षण गम्भीर हुँदै गएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गर्ने वा चिकित्सकको सल्लाहमा मात्रै औषधीको सेवन गरौँ । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आएका विभिन्न खालका सन्देश कसले दिइरहेको छ भन्नेमा विशेष ख्याल राखौँ । सम्बन्धित निकाय, जस्तै– स्वास्थ्य संस्था, चिकित्सक र सही सूचना दिने सञ्चार माध्यमले दिएको सूचनालाई मात्र आधार मानौँ । जथाभावी औषधी प्रयोग नगरौँ । 

यस्तै, खानेपानी निर्मूलीकरण गरेर मात्रै खाने, वर्षामा बजारबाट ल्याएका खानेकुरा काँचै नखाने वा राम्रोसँग पखालेर मात्र खाने, बाहिर खुला राखिएका खानेकुरा खाँदै नखाने, सरसफाइमा ध्यान दिने, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनेजस्ता आधारभूत आवश्यकतालाई बेवास्ता नगरौँ । हामीले बेवास्ता गरेको सामान्य संक्रमणले महामारी फैलिन सक्ने वा मृत्युसम्म हुने जोखिम भएकाले सचेत बनौँ ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ हुन्)

ad
ad
ad
ad