१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १२ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

मामाले नै लुटे भान्जाको घर : नेपाल प्रहरीका हवल्दार प्रयोग गरी तीन करोड ३५ लाख लुटपाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:५९:oo

भक्तपुर सूर्यविनायक नपा–४, दधिकोटस्थित डिल्लीबहादुर राउतको घरमा तीन करोड ३५ लाख रुपैयाँ लुटपाटमा उनकै मामा कुलबहादुर खत्री संलग्न रहेको खुलेको छ । कुलबहादुरले नेपाल प्रहरीका हवल्दार कृष्णबहादुर बोहरालाई समेत प्रयोग गरी लुटपाट गरेका थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डिल्लीबहादुर म्यानपावर व्यवसायी हुन् । उनले व्यवसायबाट कमाएको रकम दधिकोटस्थित घरमै राखेका थिए । जसको सूचना कुलबहादुरले पाएका थिए । स्रोत खोल्न समस्या हुने देखिएपछि डिल्लीबहादुरले रकम बैंकको सट्टा घरमै राखेका थिए । सोही कमजोरीको फाइदा उठाउँदै कुलबहादुरले रकम लुटेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनले भने, ‘यिनीहरूले आफैँले कागजात बनाएर नेपाली युवा विदेश पठाउँदै आएका रहेछन् । तर, उनीहरूको म्यानपावर भने दर्ता भएको देखिँदैन । स्रोत खुलाउन समस्या हुने भएपछि बैंकको सट्टा घरमै पैसा राखेका रहेछन् । त्यसैको फाइदा उठाएर कुलबहादुरले लुटपाट गरेको जस्तो देखिन्छ ।’

प्रहरीका अनुसार कुलबहादुरले रकम लुट्न सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी गापा–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, ओखलढुंगा मानेभञ्ज्याङ गापा–३ का ३६ वर्षीय मुनाराज राई र सिन्धुपाल्चोक भोटेकोशी गापा–२ का ३८ वर्षीय कृष्णबहादुर बोहरालाई प्रयोग गरेका थिए । लुटिएको रकम जिम्मेवारीका आधारमा बाँडफाँट गर्ने भनेपछि कुलबहादुरको योजनामा उनीहरू तयार भएका थिए । 

योजनाअनुसार मोटरसाइकल लिएर ४ असार दिउँसो १ बजे चारजना डिल्लीबहादुरको घर पुगे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट आएको भन्दै प्रहरी हवल्दारसमेत रहेका बोहराले परिचयपत्र देखाए । त्यसपछि चारैजना डिल्लीबहादुरको घरमा सरासर छिरे । रकम राखेको कोठामा छिरेर दुई करोड झोलामा हाले । त्यसपछि उनीहरू तत्काल फरार भए । लुटेको सबै रकम कुलबहादुरले बुझे । पूर्वसर्तअनुसार लुटिएकोमध्ये नौ लाख ३५ हजार रुपैयाँ प्रहरी हवल्दार बोहरालाई दिए । २० लाख रुपैयाँ राईलाई र ६ लाख रुपैयाँ तामाङलाई दिए । केही रकम रसाइलीलाई दिए र करिब आधा रकम आफैँले लिए र चुपचाप बसे ।   

समस्यामा परेका डिल्लीबहादुरले घटना सम्बन्धमा मामा कुलबहादुरलाई खबर गरे । कुलबहादुर तुरुन्तै डिल्लीबहादुरको घर पुगे । कोठामा बाँकी एक करोड ३५ लाख रुपैयाँ थियो । जसमध्ये एक करोड ऋण तिरिदिने र ३५ लाख सुरक्षितसाथ राखिदिने भन्दै सबै रकम लिएर कुलबहादुर हिँडे । प्रहरीका अनुसार सर्तअनुसार एक करोड ट्राभल एजेन्सीलगायत ठाउँमा ऋण तिरिएको देखिएको र बाँकी रकम लिएर कुलबहादुर फरार भए । अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले भने, ‘फिल्मी शैलीमा रकम लुटिएको देखिन्छ । कुलबहादुर अझै फरार छन् । उनी पक्राउ परेपछि घटनाको अर्को पनि नयाँ पाटो खुल्ला । अहिले मामाले भन्जाको रकम लुटेको अनुसन्धानबाट देखिन्छ ।’ 

ad
ad
ad
ad