१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Friday, 28 June, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:o७:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बजेटमा स्थानीय सरकारका कार्यक्रम : तेस्रो सन्तान अभियानदेखि २० वर्षपारि बिहे गर्ने दलित युवतीलाई पुरस्कारसम्म

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o७:o७:oo

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा केही स्थानीय सरकारले नागरिकका ध्यान खिच्ने गरी आकर्षक र रोचक कार्यक्रमलाई प्राथमिकता दिएका छन् । विपन्नलाई पानी, बिजुली नि:शुल्क दिने कार्यक्रम त सुनिएकै हुन्, तर जनसंख्या बढाउन प्रोत्साहन गर्ने गरी तेस्रो सन्तान जन्माउनेलाई नगद पुरस्कार दिनेदेखि एकल पुरुषलाई भत्ता दिनेसम्मका कार्यक्रम बजेटमा आएका छन् । 

भीमेश्वरमा तेस्रो सन्तान जन्माउनेलाई १० हजार
राज्यले अधिकतम दुई सन्तानको नीति लिएका वेला दोलखाको भीमेश्वर नगरपालिकाले ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान– उज्यालो भविष्य’ कार्यक्रममार्फत तीन सन्तान जन्माउन प्रोत्साहन गरेको छ । आगामी १ साउनबाट तेस्रो सन्तानका रूपमा जन्मिने नवजात शिशुको नाममा बैंक खाता खोलेर १० हजार रुपैयाँ प्रोत्साहनस्वरूप जम्मा गरिने मेयर ईश्वरनारायण मानन्धरले जानकारी दिए । जिल्लामा जन्मदर घट्नु, बसाइँसराइ बढेर बस्ती रित्तिनुका साथै विद्यालय विद्यार्थीविहीन बन्न थालेपछि सन्तान वृद्धिका लागि प्रोत्साहन अभियान सुरु गरिएको उनको भनाइ छ । उपमेयर कमला बस्नेतका अनुसार बालबालिकाको पालनपोषण गर्न ‘एक घर, एक महिला रोजगार’ कार्यक्रमसमेत चलाइनेछ । ०७८ को जनगणनाअनुसार भीमेश्वरको जनसंख्या ३४ हजार ७११ छ । 

२० वर्षपछि विवाह गर्ने दलित किशोरीलाई बोदेबरसाइनको २० हजार पुरस्कार
सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बालविवाह न्यूनीकरण गर्न यस्तो कार्यक्रम ल्याएको हो । ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ,’ मेयर आतेशकुमार सिंहले भने । त्यस्तै, स्नातक तह उत्तीर्ण गर्ने सबै छात्रालाई २० हजार उपलब्ध गराउने नीति पनि घोषणा गरेको छ ।

पोखरामा विपन्नलाई पानी, बिजुली र स्वास्थ्य बिमा नि:शुल्क
पोेखरा महानगरपालिकाले विपन्नलाई पानी, बिजुली र स्वास्थ्य बिमा नि:शुल्क तथा रोजगारीमा प्राथमिकता दिने नीति लिएको छ । घरधुरी सर्वेक्षणका आधारमा पहिचान भएका ‘गरिबीको रेखामुनि रहेका’ले यो सुविधा प्राप्त गर्ने मेयर धनराज आचार्यले बताए । उनका अनुसार यस्तो सुविधा पाउने पाँच हजार नौ सय ४८ को संख्यामा हुनेछन् । त्यस्तै, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क सार्वजनिक यातायात सेवासमेत दिने पोखराको नीति छ । टेवा कार्यक्रममार्फत दीर्घरोगी, अपांगता भएका व्यक्ति र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने तथा ९८ प्रकारका औषधि नि:शुल्क दिने भनेको छ । 

भरतपुरमा देशकै ठूलो चार्जिङ स्टेसन 
भरतपुर महानगरपालिकाले ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ नीतिअन्तर्गत विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन गर्दै सहज चार्जिङका लागि रामनगरमा देशकै ठूलो चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगरपालिका परिसरमा समेत चार्जिङ स्टेसन बनाउने नीति लिएको छ । त्यस्तै, ‘एक घर, दुई रुख’ नीतिलाई घर निर्माण सम्पन्न प्रक्रियामै अनिवार्य गरी प्रभावकारी कार्यान्वयन गर्ने भनेको छ । नारायणी लिफ्ट सिँचाइ नहरलाई बाह्रै महिना सञ्चालन गर्ने र भरतपुरको पटिहानी, देवघाट, मेघौली, गोलाघाट क्षेत्रलाई चलचित्र छायांकन केन्द्रको रूपमा विकास गर्ने नीति पनि लिएको छ । 

खैरहनीमा ‘नगरवासीलाई टेवा, घरदैलोमै सेवा’
चितवनको खैरहनी नगरपालिकाले नयाँ कार्यक्रम ‘नगरवासीलाई टेवा, घरदैलोमै सेवा’को नीति लिएको छ । कार्यालय समयमा अत्यन्त व्यस्त हुने वा उपस्थित हुन नसक्ने नगरवासीलाई घरमै पुगेर सेवा दिन यो कार्यक्रम ल्याएको मेयर शशिकुमार खनियाँले बताए । उनका अनुसार नागरिकले आफ्नो नियमित दैनिकी नै बिगारेर सेवाका लागि नगर वा वडा कार्यालय पुग्न नपरोस् भनेर यस्तो कार्यक्रम ल्याइएको हो । त्यस्तै, पालिकाले गत वर्षदेखि सुरु गरेको ‘बाआमा स्वास्थ्य कार्यक्रम तथा घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम’लाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

शैक्षिक पात्रो बनाउनेदेखि बाँझो जग्गामा खेती गर्नेलाई इच्छाकामनाको अनुदान 
चितवनकै इच्छाकामना गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै विद्यालयको शैक्षिक पात्रो नै निर्माण गरिदिने भएको छ । शैक्षिक पात्रो बनाउन अनुदानको बजेट छुट्याइएको छ । त्यस्तै, बाँझो एवं सरकारी जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँझो एवं सरकारी जग्गामा सम्भाव्यताका आधारमा सामूहिक खेती एवं नवप्रवर्तनीय व्यवसाय गर्ने कृषक समूहलाई विशेष सहयोग प्याकेज उपलब्ध गराइनेछ ।’ 

धनगढीले रात्रिकालीन बजार चलाउने
धनगढी उपमहानगरपालिकाले युवालाई स्वरोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ । मेयर गोपाल हमालले बेरोजगार युवालाई पार्क मोडमा रात्रिकालीन बजार सञ्चालन गर्न दिने नीति ल्याएको बताए । त्यस्तै, धनगढीले ‘एक वडा, एक नमुना विद्यालय विकास कार्यक्रम’लाई निरन्तरता दिएको छ । नगरभित्रका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गालगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने नीति पनि समेटेको छ ।

गौरीगंगाले अपांगता भएकाहरूले उत्पादन गरेको सामान खरिद गरिदिने
कैलालीको गौरीगंगा नगरपालिकाले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गरिदिने, अनाथ बालबालिकाको अभिभावकत्व लिने नीति लिएको छ । उपमेयर भोजबहादुर बमका अनुसार गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा कार्यक्रम पनि समावेश छ । गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स कार्यक्रम जोशीपुर गाउँपालिकाको नीतिमा पनि छ । जोशीपुरले हरेक वडामा माटो परीक्षण गर्ने कार्यक्रमसमेत ल्याएको अध्यक्ष चित्रबहादुर चौधरीले बताए । त्यस्तै, टीकापुर नगरपालिकाले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा दिनेलगायत कार्यक्रम ल्याएको छ । जानकी गाउँपालिकाले पनि ‘एक विद्यालय, एक नर्स’, ‘एक वडा, एक नमुना विद्यालय’, ‘एक वडा, एक खेलमैदान’, पोषण कर्नर स्थापना, ‘एक वडा, एक सुपथ मूल्य सहकारी’जस्ता नीति समावेश गरेको छ ।

तातोपानीमा एकल पुरुषलाई भत्ता, अन्तर्जातीय विवाह गर्ने जोडीलाई २० हजार
जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष र व्यावसायिक किसानलाई भत्ता दिने नीति लिएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेबाहेक एकल पुरुषलाई भत्ता उपलब्ध गराउन चार लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, एक सयभन्दा बढी भेडाबाख्रा पाल्ने व्यावसायिक किसानलाई प्रोत्साहन भत्ता वितरण गर्न दुई लाख बजेट विनियोजन भएको छ । पालिकाले एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एकजनालाई पहिलो वर्षको पढाइ खर्चका लागि १५ लाख दिने भएको छ । जेहेनदार तथा विपन्न विद्यार्थीलाई नि:शुल्क लोकसेवा तयारी कक्षाका लागि १० लाख बजेट विनियोजन पनि गरेको छ । त्यस्तै, अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप २० हजार प्रदान गर्ने नीति लिएको छ ।

लहानमा कृषि सिँचाइमा उठेको विद्युत् तथा दलित र विपन्नलाई एम्बुलेन्स नि:शुल्क

सिराहाको लहान नगरपालिकाले दलित, सीमान्तकृत, विपन्न समुदायलाई नगर क्षेत्रभित्र नि:शुल्क एम्बुलेन्स तथा शववाहन सेवा दिने कार्यक्रम ल्याएको छ । दलित समुदायका व्यक्तिको मृत्यु हुँदा पाँच हजार किरिया खर्च पनि दिने भएको छ । त्यस्तै, उत्कृष्ट दलित विद्यार्थीको उच्चशिक्षाका लागि पूर्णछात्रवृत्ति दिने भएको छ भने दलित बस्तीमा नि:शुल्क ट्युसन कक्षा चलाउने नीति लिएको छ । सिँचाइका क्रममा उठेको विद्युत्को बिल किसानले तिर्नुनपर्ने, नगरपालिकाले नै तिर्ने कार्यक्रम पनि ल्याएको छ । 

धनगढीमाईले नेचुरोथेरापीमा १४ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने
सिराहाको धनगढीमाई नगरपालिकाले डिप्लोमाइन नेचुरोथेरापी विषय पढ्ने १४ वडाका १४ विद्यार्थीलाई वडास्तरीय योजनाबाट ५० प्रतिशत सहयोग गर्ने भएको छ । त्यस्तै, उच्च शिक्षामा नगरका दुई छात्र–छात्रालाई पूर्णछात्रवृत्ति दिने भएको छ । हरेक वडाका दलित विपन्न बस्तीमा दुर्ई–दुई ट्युसन कक्षाको व्यवस्था गर्ने तथा ४, ९ र १३ नम्बर वडामा दलित, विपन्न र मुसहर समुदायलाई तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नि:शुल्क आँखा जाँच र शल्यक्रिया गर्ने कार्यक्रम ल्याएको छ । 

गोलबजारमा दलित समुदायका सुत्केरीलाई पाँच हजार भत्ता
सिराहाको गोलबजार नगरपालिकाले नागरिकता बनाउन सिफारिससहित जिल्ला प्रशासन जान–आउन, खाना, खाजा, बसभाडा नगरले व्यहोर्ने भएको छ । त्यस्तै, दलित, विपन्न र असहायलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । दलित समुदायका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिने नीति पनि लिएको छ । दलित, विपन्न तथा असहाय परिवारको मृत्युमा पाँच हजार किरिया खर्च दिने कार्यक्रम पनि समेटेको छ । 

मिर्चैयामा मावि तहका विद्यालयमा नि:शुल्क ट्युसन 
सिराहाको मिर्चैया नगरपालिकाले आधारभूत तहको विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने भएको छ । त्यस्तै, मावि तहका विद्यालयमा नि:शुल्क कोेचिङ र ट्युसन कक्षा सञ्चालन गर्ने नीति लिएको छ । किसान कार्डको व्यवस्था, कृषि विद्युतीकरण नि:शुल्कको घोषणासमेत गरेको छ । नगर अस्पतालमा प्रसूति गराउनेलाई थप पोषण आहारको व्यवस्था गरिने तथा नगर क्षेत्रभित्र नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । 

मर्स्याङ्दीमा बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । बाँझो जमिनको तथ्यांक संकलन गरी कृषि, वनसँग सम्बन्धित खेती सञ्चालन गर्न प्रोत्साहन गर्ने र जमिन बाँझो राख्न नपाइने नीति अवलम्बन गर्दै भूउपयोग कार्यक्रम लागू गर्ने भएको हो । अध्यक्ष अर्जुन गुरुङले सोमबार १७औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक घर एक करेसाबारी, मर्स्याङ्दी गाउँपालिकाभरि’ कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने बताए ।

जुम्लाको तातोपानीमा एकल पुरुष र व्यावसायिक किसानलाई भत्ता

एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेमा पहिलो वर्षको पढाइ खर्चका लागि वर्षमा एकजनालाई १५ लाख

जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष र व्यावसायिक किसानलाई भत्ता दिने नीति लिएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेबाहेक एकल पुरुषलाई भत्ता उपलब्ध गराउन चार लाख बजेट विनियोजन गरिएको छ । एक सयभन्दा बढी भेडाबाख्रा पालन गर्ने व्यावसायिक किसानलाई प्रोत्साहन भत्ता वितरण गर्न दुई लाख बजेट विनियोजन गरिएको छ । 

यसैगरी, एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेमा पहिलो वर्षको पढाइ खर्चका लागि वर्षमा एकजनालाई १५ लाख प्रदान गर्न बजेट विनियोजन गरिएको छ । घर बिमा कार्यक्रमका लागि ७५ लाख, अतिविपन्नको स्वास्थ्य बिमा कार्यक्रमका लागि १६ लाख बजेट विनियोजन गरिएको छ । अन्तर्जातीय विवाह गर्ने प्रतिजोडीलाई २० हजार प्रदान गर्ने प्रोत्साहन तथा सम्मान कार्यक्रम रहेको छ । जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षाका लागि १० लाख बजेट विनियोजन गरिएको छ । 

दोलखामा श्याम खतिवडा, भरतपुरमा विवेक पोख्रेल, पोखरामा रोहितराज पराजुली, लहानमा मणिलाल विश्वकर्मा, जुम्लामा मानदत्त रावल र धनगढीमा तेजराज भट्ट

ad
ad
ad
ad