भ्रातृ संस्थाको भद्रगोल अवस्थालाई किन नेतृत्वले नजरअन्दाज गरिरहेको छ ?
कांग्रेसका १३ मध्ये अहिलेसम्म मुस्लिम संघकोे अधिवेशन भइसकेको छ । आदिवासी जनजाति महासंघको आज (मंगलबार)देखि अधिवेशन हुँदै छ । केही भ्रातृ संस्थाको भने तदर्थ समितिसमेत बन्न सकेका छैनन् । १५ असारभित्र महाधिवेशनको प्रक्रिया थाल्न समयावधि तोकिएका अधिकांशको पनि प्रक्रिया सुरु हुन सकेको छैन । पार्टीले यस विषयलाई नजरअन्दाज गरेको छैन । बाहिरबाट हेर्दा मात्र त्यस्तो देखिएको हो । हामी भ्रातृ संस्थालाई क्रियाशील बनाउन लागिपरेकै छौँ । तर, जे–जति हुनुपर्ने हो त्यति भने हुन नसकेको अवस्थाचाहिँ पक्कै हो ।
अब कसरी टुंगो लगाउनुहुन्छ त यो अस्तव्यस्ततालाई ?
अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे गम्भीर समीक्षा हुनेछ । भ्रातृ संस्थामा भइरहेको भद्रगोलको असर पार्टीले भोगिरहेकै छ । अन्य प्रतिस्पर्धी संगठनको तुलनामा कांग्रेसका भ्रातृ संस्थाको उपस्थिति कमजोर देखिनु पक्कै पनि पार्टीका लागि हितकर विषय होइन । भ्रातृ संस्थालाई गतिशील राख्न विभिन्न गतिविधिमा तिनलाई सरिक गराउन सक्नुपर्छ । कतिपय संगठन गठन भइसकेर पनि क्रियाशील हुन सकेका छैनन् । हामी केन्द्रीय समितिबाट यसलाई गम्भीर रूपमा छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।
कहिले बस्छ त तपाईंहरूको केन्द्रीय समिति बैठक ?
अहिलेसम्म बैठकको मिति टुंगो लागिसकेको त छैन । तर, असार महिनाभित्रै बैठक बस्नेबारे पार्टीमा छलफल भइरहेको छ । छिट्टै बैठक बस्छ । बैठकले नै भ्रातृ संस्थाको म्याद थपलगायत सबै विषय टुंगो लगाउनेछ ।