१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Sunday, 23 June, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ असार २ आइतबार o८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–चीन सिमानाको खासा बजार अब मिनी सहर बन्दै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ असार २ आइतबार o८:३१:oo

खासा बजारलाई नयाँ रूप दिन निजी तथा सरकारी घर भत्काउने काम तीव्र

नेपाल–चीनको सिमानामा पर्ने तातोपानी–खासा महत्वपूर्ण व्यापारिक नाका हो । भूकम्पअघि यो नाका व्यापार, पर्यटन र कूटनीतिक हिसाबले सहज सञ्चालनमा थियो । भूकम्प र कोरोना महामारीपछि आयात बिस्तारै बढिरहेको छ । तर, निर्यात र मानव आवातजावत करिब बन्दजस्तै छ । सिमाना छुट्याउने मितेरी पुलबाट पाँच सय मिटर पर रहेका दुई दर्जन साना पसलमा पुगेर सीमावासी घरायसी सामान खरिद गर्छन् । घरायसी सामान खरिद प्रयोजनका लागि मात्रै सिन्धुपाल्चोकका नागरिक चिनियाँ क्षेत्र प्रवेश गर्न पाउँछन् । 

विगतमा खासा बजार दिउँसो व्यापार र रातको समय मनोरञ्जनका लागि २४ घण्टा खुला हुन्थ्यो । नेपाल मात्रै होइन, विश्वभरका मानिस खासामा बस्न रुचाउँथे । हिमालमुनि पहाडमा बसेको खासा बजार बाह्रबिसे कटेपछि देख्न सकिन्छ । विनाशकारी भूकम्पले नेपालपट्टि तातोपानी लिपिङमा धेरै क्षति ग¥यो । त्यस्तै क्षति खासा बजारमा पनि भयो । चीन स्वशासित तिब्बतको न्यालम जिल्लाअन्तर्गत रहेको खासा बजार (जाङ्मु पोर्ट) अब मिनी सहरका रूपमा विकास हुँदै छ ।

खासा क्षेत्रमा क्रियाशील स्थानीय सरकारले जाङ्मुलाई मिनी सहरका रूपमा विकास गर्न लागेको हो । अहिले धमाधम घर भत्काउने काम भइरहेको छ । निजी, सरकारी सबै घर भत्काउने काम जारी रहेको खासास्थित पुनर्निर्माणमा संलग्न अधिकारीको भनाइ उद्धृत गर्दै भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले नयाँ पत्रिकालाई जानकारी दिए । सडक पहिलाभन्दा तीन मिटर फराकिलो पार्ने योजना छ । निजी आवास, सरकारी भवन, होटेल तथा रेस्टुरेन्ट र व्यापारिक केन्द्र फरक–फरक स्थानमा बन्दै छन् । मिनी सहरको मुख्य सडकबाट मालवाहक कन्टेनर र भ्यान सञ्चालन गर्न पाइँदैन । नेपालका लागि आउने सामान र नेपालबाट निकासी हुने सामान ढुवानी गर्ने सडक सहरभन्दा मुनिबाट स्थापना गरिँदै छ । पहिला रहेको भ्यान पार्किङ हुँदै खासा सहरको तलबाट ट्रक तथा कन्टेनर कुद्ने सडक निर्माण जारी छ । पहिलाको खासा भन्सारभन्दा मुनिबाट रमिते बजारको तल्लो क्षेत्रमा दुई सय ७० मिटर लामो जाङ्मु पुल बन्दै छ । यी सबै संरचना तयार गर्न कम्तीमा तीन वर्ष लाग्ने बताइएको छ । खासा पुनर्निर्माण जारी रहेकाले नेपाली ट्रक–कन्टेनर खासा पुग्न तत्काल सम्भव नभएको शेर्पाको भनाइ छ । खासामा भएका सवारीसाधनको व्यवस्थापनमा समस्या भएका वेला नेपाली गाडी प्रवेश सम्भव छैन । 

खासाका घरहरू धमाधम भत्काउन थालेपछि त्यहाँका बासिन्दा न्यालम सरेका छन् । सरकारी कार्यालय पनि अस्थायी रूपमा सञ्चालन गरिएको छ । ट्रान्सपोर्ट कम्पनीहरू जेनतेन चलेका छन् । यद्यपि, नेपाली पक्षले खासा जान पाउनुपर्ने माग राखेर सरकारको कूटनीतिक च्यानलमार्फत चिनियाँ पक्षलाई अनुरोध गरिरहेका छन् । तातोपानी नाकामा क्रियाशील सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेड र अन्य ट्रान्सपोर्ट कम्पनीले तातोपानी भन्सारसँग सातामा एकपटकजस्तो बैठक गरेर खासा खुलाउन छलफल जारी राखेका छन् । 

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसी भन्छन्, ‘हामीले चिनियाँ पक्षलाई अनुरोध गरेका छौँ । तर, खासाको अवस्था तयार भएको छैन । नेपाली गाडी खासा पुग्दा पार्किङ गर्ने ठाउँको अभाव र चालकलाई खाने–बस्ने समस्या छ ।’ जिल्ला प्रशासन, तातोपानी भन्सार, सुरक्षा निकाय, अध्यागमन र व्यापारिक संघसंस्था मिलेर खासा जाने विषयमा समान धारणा बनाउनुपर्नेमा उनले जोड दिए । नेपाली गाडी खासा पुगेर सामान ल्याउँदा हाम्रो उपभोक्ताले वस्तु खरिद गर्दा सस्तो भयो भने त्यसको अर्थ हुन्छ । नत्र त्यहाँ जानु मात्रै ठूलो कुरा नभएको उनले स्पष्ट पारे । 

ad
ad
ad
ad