मकवानपुरको मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट निर्माण गरेको तीनवटा पक्की पुल सञ्चालनमा आएका छन् । पालिकाले निर्माण गरेको विभिन्न वडा जोड्ने तीन पक्की पुल शनिबार प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
पालिकाको वडा नम्बर १ र २ जोड्ने च्यापल खोला पुल, वडा नम्बर ३ र ४ जोड्ने मसिने खोला पुल र वडा नम्बर ४ र ५ जोड्ने ट्वांग्राखोला पुल सञ्चालनमा आएका छन् । गाउँपालिकाले पुल निर्माणका लागि करिब २० करोड रुपैयाँ खर्च गरेको अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
अध्यक्ष कालाखेतीका अनुसार १ र २ नम्बर जोड्ने च्यापल खोल पुल ट्रिपल स्पानको ९७ मिटर लामो रहेको छ । उक्त पुल ६ करोड २८ लाख ९८ हजारमा निर्माण गरिएको हो । यस्तै, मनहरीको ३ र ४ नम्बर वडालाई जोड्न बनाइएको ६४.१५ मिटर लम्बाइको मसिने खोला पुल ६ करोड ४९ लाख ६० हजार लागतमा निर्माण गरिएको छ ।
यसैगरी, ४ र ५ नम्बर वडाको गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको ट्वांग्राखोला पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ लागतमा निर्माण गरिएको हो । सात मिटर चौडाइ रहेका तीनवटै पुलको निर्माणको काम हिराचन–बानियाँ जेभीले गरेको हो ।
उद्घाटनपछि बोल्दै प्रदेश सांसद बानियाँले कृषि उत्पादन, तरकारी तथा दूधको पकेट क्षेत्र मानिने मनहरीमा निर्माण भएका पुलले यहाँका किसानलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
थप दुई पुल निर्माणाधीन
गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक स्रोतबाट पाँचवटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिँदै अध्यक्ष कालाखेतीले कुल ३३ करोड ४० लाख ६५ हजार लागतमा पाँचवटा पुलको ठेक्का लागेकोमा तीनवटा पुलको निर्माण कार्य सम्पन्न भएको हो । बाँकी दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उनले बताए ।
ठाडो खोलामा बनिरहेको पुलको निर्माण कार्य ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेका बाँकी दुईवटा पुलको निर्माण कार्य छिट्टै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आवश्यक सहयोगका साथै दबाबसमेत दिइरहेको अध्यक्ष कालाखेतीले बताए । पुल निर्माण भएपछि स्थानीय सर्वसाधारणका साथै कृषक, विद्यार्थी, बिरामी, अशक्त सबैलाई आवतजावतमा सहज हुने उनको विश्वास छ ।