Skip This
ढुंगाखानीसँगै जीविका पनि बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Sunday, 16 June, 2024
टेकराज थामी काठमाडाैं
२o८१ जेठ १२ शनिबार o६:१९:oo
Read Time : > 6 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

ढुंगाखानीसँगै जीविका पनि बन्द

गौरीशंकर संरक्षण क्षेत्रले दोलखाको ढुंगाखानी बन्द गर्दा स्थानीय थामीहरू रोजीरोटीका लागि सपरिवार भारत बसाइँ सरेका छन्

Read Time : > 6 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o६:१९:oo

आलाम्पुमा थामीका मात्रै दुई सय ५० भन्दा धेरै घरधुरी छन् । उत्पादन भएको अन्नले दुई महिना पनि खान पुग्दैन । रोजीरोटीका लागि आलाम्पुका स्थानीय थामीको स्लेटखानीभन्दा अर्काे विकल्प छैन । खानी एकाएक बन्द भएपछि वर्ष दिनयता आलाम्पुबाट मात्रै २५ भन्दा धेरै घरधुरी थातथलो छाडेर भारतको पूर्वोत्तर दार्जिलिङ हिँडेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले खानी बन्द गरी स्थानीय थामीको रोजीरोटी प्रभावित गरिनु मानवीय रूपमा ठीक नभएको बताए । ‘आलाम्पुको स्लेटखानी २०१३ देखि राज्यको जानकारीमा आएको देखिन्छ । थामीहरूले विगतदेखि नै खानीबाट स्लेट उत्खनन गर्ने र त्यसैलाई बेचेर जीवन गुजार्ने गरेको सत्य हो,’ उनले भने, ‘अहिले खानी बन्द गरिएको सूचना प्राप्त भएको छ । खानी बन्द गरिनु ठीक होइन । यसलाई व्यवस्थित ढंगले चलाउनुपर्छ । कानुनी जटिलता भए खोल्नुपर्छ । रोजीरोटी नै प्रभावित पार्नु ठीक होइन।’

दोलखा बिगु गापा– ६ आलाम्पुस्थित दोरोङ (गाग्राफुटे) स्थित स्लेटखानी बन्द भएपछि यति वेला ५५ वर्षीय मेकबहादुर थामी संकटमा छन् । बिहान–बेलुकाको छाक टार्ने एक मात्रै स्रोत थियो, स्लेटखानी । तर, गौरीशंकर संरक्षण क्षेत्रले खानी बन्द गरेपछि उनकोे रोजीरोटी नै संकटमा परेको छ ।

सदरमुकाम चरिकोटदेखि ५५ किलोमिटर उत्तरपूर्व (समुद्री सतहबाट १८ मिटर उचाइ)मा पर्छ, आलाम्पुको दोरोङस्थित स्लेटखानी । मेकबहादुरको बाजे बाइसुरे थामीले झन्डै डेढ सय वर्षअघि अन्वेषण गरेका थिए, दोरोङस्थित स्लेटखानी । त्यसवेला बाइसुरेले स्लेट उत्खनन गर्न दोक्चे थामी, आङ्काला(श्रीमान्) थामी र मेहतार थामीको सहयोग लिएका थिए । पछि उनीहरूसँग स्थानीय पन्जु थामी पनि मिसिए । सोही वेलादेखि निरन्तर उत्खनन हुँदै आएको खानी कोभिड–१९ को संकटपछि संरक्षण क्षेत्रले एकाएक बन्द गर्‍यो । जसबाट मेकबहादुरको पुर्ख्यौली पेसामा संकटको बादल मडारियो ।

बिलखबन्धनमा परेका मेखबहादुरले भने, ‘मेरो बाजेले डेढ सय वर्षअघि नै स्लेटखानी पत्ता लगाएका रहेछन् । छिमेकी बाजे दोक्चे, आङ्काला र मेतार मिलेर ढुंगा झिके । दोरोङखानीमा ढुंगा निकाल्ने काम त्यही वेलाबाट सुरु भयो । जुन कोभिड–१९ सम्म ढुंगा झिक्ने काम हुँदै आयो । अहिले आएर एकाएक बन्द भयो । हाम्रो त रोजीरोटी नै खोसियो । घरमा चुलो बल्ने अवस्था छैन । अब कसरी बाँच्ने सोच्न सकिएको छैन ।’

बाइसुरे, दोक्चे, आङ्काला र मेतारले त्यसवेला हाल प्रयोग आएजस्तो आकार–प्रकारमा स्लेट उत्खनन गर्न जानेका थिएनन् । स्लेटबाट घर छाउन सकिने सीप पनि उनीहरूले जानिसकेका थिएनन् । त्यसो हुँदा उनीहरूले खानीबाट उत्पादित स्लेट सानातिना घरायसी काममा प्रयोग गर्दै आएका थिए । यही क्रममा खड्काहरू गाउँमा बसाइँ सरेर आए । उनीहरूले सिन्धुपाल्चोकस्थित गाउँका केही घर ढुंगाका स्लेटले छाएको देखेका थिए । त्यस्तै, ढुंगा दोरोङस्थित खानीबाट पनि निस्कने गरेको सूचना उनीहरूले पाए ।

खड्काहरू आलाम्पुस्थित थामीबस्तीमा पुगे । खानीबाट उत्पादित ढुंगा उपलब्ध गराउन आग्रह गरे । तर, घरको छाना छाउने आकारमा ढुंगा उत्पादन गर्ने सीप थामीहरूले जानिसकेका थिएनन् । खड्काहरूकै सूचनापछि उनीहरू सीप सिक्न सिन्धुपाल्चोक पुगे । स्लेट बनाउने सिप सिके । फर्किंदा कालिगढ पनि सँगै लिएर आए । उनीहरूलाई दोरोङस्थित खानी लगे । खानेबस्ने सबै सुविधा उपलब्ध गराए । र, भटाभट आवश्यक आकारमा स्लेट उत्पादनमा जुटे । 

उत्पादित स्लेटबाट आलाम्पुका थामीले पहिलोपटक स्थानीय खड्काको घर छाए । सोही ढुंगा लगेर बिगुस्थित गुम्बा पनि छाए । दोलखामा दोरोङस्थित खानीबाट उत्पादित स्लेटले घर छाउने क्रम सोही वेलादेखि सुरु भयो । तर, संरक्षण क्षेत्रले दुई वर्षदेखि हठात् खानी बन्द गराउँदा मेकबहादुरजस्तै आलाम्पुका २५० स्थानीय थामी घरधुरीको रोजीरोटी संकटमा परेको छ ।

 बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामीले भनिन्, ‘आलाम्पुका थामीहरूसँग खेती गर्ने पर्याप्त जग्गा–जमिन छैन । थोरै भएको जमिनबाट उत्पादित अन्नले दुई महिना पनि खान पुग्दैन । जीवन धान्न एक मात्रै स्रोत स्लेटखानी नै हो । तर, यो दुई वर्षदेखि बन्द छ । जसको प्रत्यक्ष मारमा स्थानीय थामी परेका छन् ।’

खड्काको घर हुँदै बिगुस्थित गुम्बाको छानोसम्म पुगेपछि दोरोङखानीबाट उत्पादित स्लेटले तत्कालीन समाजमा पहिलोपटक ‘ब्रान्डिङ’ हुने अवरसर पायो । खानीबाट उत्पादित स्लेट अब गाउँका घरानीय परिवारको घरका छानोमा पुग्यो । छ्वाली, फलेक र खरबाट छाइएका घरभन्दा स्लेटले छाइएका घर अलग्गै देखिए । सुन्दर मात्रै होइन, टिकाउसमेत हुने भएपछि दोरोङखानीबाट उत्पादित स्लेटको माग अन्य गाउँसम्म हुन थाल्यो । हुँदाहुँदा दोलखाका घरानियाँ परिवारको घर छाउन दोरङखानीको स्लेट अनिवार्यजस्तै बन्न पुग्यो ।

खानीबाट मनग्य आम्दानी हुन थालेपछि आलाम्पुका स्थानीय थामीले खानीलाई आपसमा अंशबन्डा गरे । त्यसवेला छुट्याइएको अंश बाजेबाट बुबामा सर्दै अहिले नातिमा हस्तान्तरण भएर आइपुगेको छ । तर, उनीहरूसँग खानी उपभोगको स्थायी लालपुर्जा छैन । उनीहरूले बनाउन आवश्यक पनि ठानेनन् । तर, सरकारले २७ पुस ०६६ मा जब उक्त क्षेत्र संरक्षण क्षेत्रमा समावेश गर्‍यो, थामीहरूले उपभोग गर्दै आएको खानीबाट पुर्ख्यौली स्वामित्व गुमाए । 

दोरोङखानीको स्लेट दोलखाको पूर्वोत्तर घरानियाँ घरका छानो हुँदै २०१३ सालतिर जब सदरमुकाम चरिकोट आइपुग्यो, बल्ल आलाम्पुस्थित दोरोङको स्लेटखानी सरकारको जानकारीमा आयो । अब सरकारले खानीबाट उत्पादित स्लेट बिक्रीमा कर लगाउने निधो गर्‍यो । पुर्ख्यौली पेसा उपभोगमा एकाएक कर तिर्नु परेपछि स्थानीय थामी विद्रोहमा उत्रिए । उनीहरूले कर तिर्न इन्कार गरे । 

तर, प्रशासनले दबाब दिइरह्यो । आजित भएका स्थानीय थामी २०३३ मा सदरमुकाम चरिकोट आए । तत्कालीन जिल्ला पञ्चायत कार्यालय अगाडि धर्ना कसे । करिब साता दिनको आन्दोलनपछि तत्कालीन प्रशासन र स्थानीय थामीबीच वार्ता भयो । र, खानी स्थानीय थामीले नै उपभोग गर्न पाउने गरी बोलपत्र आह्वान गर्ने र बिक्री वितरण गरेबापत कर तिर्ने सहमति भयो ।

त्यसवेला आन्दोलनमा सहभागीमध्येका बिगु गापा–६ आलाम्पुका स्थानीय ६२ वर्षीय धनबहादुर थामीले भने, ‘जिजुबाजेदेखि हामीले खानी उपभोग गर्दै आएका हौँ । त्यसवेला भएका अंशबन्डा यद्यपि कायम छ । सरकारले अति गरेपछि हामी ०३३ सालतिर आन्दोलन गर्न चरिकोट गयौँ । जिल्लामा धर्ना बस्यौँ । पछि खानी थामीले नै उपभोग गर्न पाउने गरी टेन्डर निकाल्ने सहमति भयो । तर, कर लिने व्यवस्था भने हटाउन सकिएन ।’

जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्यांकअनुसार आलाम्पुका स्थानीय थामीले तत्कालीन सरकारलाई चर्को शुल्क तिरेर पुर्ख्यौली खानीबाट स्लेट उत्खनन गर्दै आएको देखिन्छ । तत्कालीन जिल्ला पञ्चायत दोलखाले २५ असार ०४३ मा आलाम्पुका स्थानीय धनवीर थामीलाई खानीको स्लेट उत्खनन गर्न अनुमति दिएको देखिन्छ । जसमा करको दर पनि उल्लेख गरिएको छ । खानीबाट स्लेट उत्पादन गर्न उनलाई प्रत्येक ६ महिनामा एकमुस्ट तीन हजार ३८८ रुपैयाँ बुझाउन भनिएको छ । करको दर महँगो भएपछि आलाम्पुका अन्य स्थानीय थामीले स्लेट उत्खनन गर्न अनुमति लिन सकेनन् । तर, स्टेल उत्खनन गर्न भने रोकेनन् । तत्कालीन सरकारसँग उनीहरूले गरेको यो अर्को मौन विद्रोह थियो । 

बिगु गापा–६ का स्थानीय कर्णबहादुर थामीले भने, ‘आलाम्पु थामीको आदिभूमि हो । ढुंगाखानी उनीहरूले नै पत्ता लगाए । उत्खनन पनि उनीहरूले नै गरे । तर, सरकारले पछि चर्को कर लगायो । जुन स्थानीय थामीको पहुँचभन्दा बाहिर थियो । उनीहरूले सरकारलाई कर तिर्न इन्कार गरे । तर, उत्खनन रोकेनन् ।’

०४८ पछि आलाम्पुकै अर्का स्थानीय लालबहादुर थामीले पनि ढुंगा उत्खनन गर्न अनुमति लिए । ०५० सम्म चर्को कर तिरेरै भए पनि कम्पनी नवीकरण गराइरहे । तर, उनले त्यसलाई निरन्तरता दिन सकेनन् । पछि दोक्याङ गैरा सामुदायिक वनभित्र खानी पर्‍यो । वनको उपभोक्ता स्थानीय थामी नै थिए । त्यसो हुँदा खानीबाट स्टेल उत्खनन गर्न उनीहरूलाई केही सहज भयो । जब सरकारले २७ पुस ०६६ मा उक्त क्षेत्रलाई गौरीशंकर संरक्षण क्षेत्रभित्र समेट्यो, स्थानीय थामीको दुर्दिन त्यही बिन्दुबाट सुरु भयो । 

खानी मात्रै होइन, थामीहरूको घना बस्ती रहेको आलाम्पु, क्यार्थल, नाङ्गारा, बिगु, स्याँखु, थामी चागु, खोपा चागु, चिलंखालगायत क्षेत्र अहिले संरक्षण क्षेत्रभित्र पर्छन् । संरक्षण क्षेत्रको अनुमतिविना उनीहरूले खानी उत्खनन गर्न त पाएनन् नै, घरनजिकको जंगलबाट घाँस–दाउरा गर्नसमेत वञ्चित भए ।

रन्थनिएका थामी बिगु गापा–४ सिँगटीस्थित संरक्षण क्षेत्रको कार्यालय पुगे । कार्यालयले केही अवधि खानी उत्खनन गर्न र स्थानीय जंगलबाट घाँस–दाउरा उपभोग गर्न अस्थायी पुर्जी जारी गर्‍यो । तर, त्यसबापत संरक्षण क्षेत्रले चर्को कर असुल्यो । अर्कोतर्फ तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)ले पनि उनीहरूबाट कर असुल्यो । रोजीरोटी जोहो गर्नुपर्ने बाध्यताका कारण थामीहरूले सरकारलाई दोहोरो कर तिरिरहे । तर, जब संरक्षण क्षेत्रले दुई वर्षदेखि पुर्जी दिन बन्द गर्‍यो । थामीहरूको रोजीरोटी बन्द भयो । 

आलाम्पुमा थामीको मात्रै दुई सय ५० भन्दा धेरै घरधुरी छ । जग्गाजमिन सरदर प्रतिघरपरिवार तीन रोपनीभन्दा धेरै छैन । उत्पादन भएको अन्नले दुई महिना पनि खान पुग्दैन । त्यसो हुँदा रोजीरोटीका लागि आलाम्पुका स्थानीय थामीको स्लेटखानीभन्दा अर्काे विकल्प छैन । खानी एकाएक बन्द भएपछि वर्ष दिनयता आलाम्पुबाट मात्रै २५ भन्दा धेरै घरधुरी थातथलो छाडेर भारतको पूर्वोत्तर दार्जिलिङ हिँडेका छन् । उनीहरूका घरमा अहिले ताला झुन्डिएको देखिन्छ । 

बिगु गापा–६ का वडाअध्यक्ष टहलबहादुर थामीले भने, ‘खानी बन्द भयो । स्थानीय थामीको रोजीरोटी टुट्यो । बाँच्नै गाह्रो भएपछि स्थानीय थामी थातथलो छाडेर सपरिवार दार्जिलिङ हिँडेका छन् । पछिल्लो वर्षदिनयता आलाम्पुबाट मात्रै २५ भन्दा धेरै घरधुरी दार्जिलिङ हिँडे । अवस्था देख्दा विरक्त लाग्छ ।’

रोजगारको खोजीमा स्थानीय थामी गाउँ छाडेर बसाइँ हिँडेपछि विद्यालयमा विद्यार्थीको चाप पनि घटेको छ । आलाम्पुको एक मात्रै थम्पु माध्यमिक विद्यालयमा गत वर्ष २२५ विद्यार्थी थिए । अहिले घटेर १९८ मा आइपुगेको छ ।

विद्यालयकी प्रधानाध्यापक तुलसी थामीले भनिन्, ‘थम्पु आलाम्पु, क्यार्थल, नाङ्गारा, स्याँखु क्षेत्रको एक मात्र मावि हो । विगतका दिनमा विद्यालयमा खचाखच विद्यार्थी हुन्थे । गत वर्ष पनि दुई सय २५ भन्दा धेरै विद्यार्थी थिए । अहिले विद्यार्थीको संख्या एकाएक घट्न पुग्यो । गाउँबाट बसाइँसराई गरी जानेहरुको क्रम बढ्दो छ । यसको असर विद्यालयमा देखा पर्‍यो ।’

अलाम्पुका थामीको समस्या संसद्मा नउठेको होइन । बागमती प्रदेश सभामा उठ्यो । संघीय संसद्मा पनि उठ्यो । तर, समस्या समाधान हुन सकेन । बागमती प्रदेश सभाका सांसद ठूला थामीले आलाम्पुका थामीको समस्या संसद्मा पटक–पटक उठाएका छन् । तर, सम्बोधन नभएको छैन । 

‘कानुन पालना गरेका हौँ’
गौरीशंकर संरक्षण क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोषमातहत सञ्चालित छ । पूर्वतर्फ सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्जबीच क्षेत्रलाई समेटेर सरकारले ३ साउन ०६७ मा गौरीशंकर संरक्षण क्षेत्र घोषणा ग¥यो । संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली ०५३ अनुसार सञ्चालित छ । 

ऐनको दफा ५ को उपदफा ‘च’मा विनाअनुमति संरक्षण क्षेत्रभित्र खानी, ढुंगा, कंकड, माटोलगायत खनिज पदार्थ खन्न नपाइने उल्लेख छ । त्यस्तै, नियमावलीको नियम १६ को उपनियम ‘ग’मा अनुमति नलिई संरक्षण क्षेत्रभित्र खानी, ढुंगा, कंकड, माटोलगायत खनिज पदार्थ खन्न नपाइने भनिएको छ । कानुनको सोही व्यवस्था कार्यान्वयन गरिँदा केही स्थानीयले असुविधा भोग्नुपरेको बिगु गापा–४ सिँगटीस्थित गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख तुलसीप्रसाद दाहालले बताए । 

उनले भने, ‘आलाम्पुको स्लेटखानी संरक्षण क्षेत्रभित्र पर्छ । यसअघि उक्त क्षेत्रका स्थानीयलाई स्लेट उत्खनन गर्न पुर्जी दिने गरेका थियौँ । कोभिड–१९ पछि त्यसलाई रोकेका छौँ । बीचमा दिने कोसिस पनि भएको हो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय निकुञ्ज विभागलगायत निकायबाट स्पष्टीकरण सोधेपछि हाललाई पुर्जी दिने काम बन्द गरिएको छ ।’

ad
ad
ad
ad