Skip This
सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार : विकल पौडेलसहित चारजना दोषी ठहर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 27 July, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ जेठ ९ बुधबार o६:३o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार : विकल पौडेलसहित चारजना दोषी ठहर

भ्रष्टाचार मुद्दामा विकल पौडेललाई दुई वर्ष कैद तथा २५ करोड ४७ लाख जरिवाना र बिगोबराबरको रकम असुल हुने विशेष अदालतको फैसला

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:३o:oo

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल सक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । एक वर्षअघि दायर मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेलसहित चारजनालाई दोषी ठहर गरेको हो । अन्य पाँच आरोपीले भने सफाइ पाएका छन् । 

अख्तियारले नौजनालाई प्रतिवादी बनाएर ३ वैशाख ०८० मा मुद्दा दायर गरेको थियो । पौडेलले सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद गरेको प्रमाणबाट पुष्टि हुने भन्दै सम्झौताको सर्तविपरीत तोकिएको ‘कन्ट्री अफ ओरिजिन’बाट नगरी फरक मुलुकबाट खरिद गरी भुक्तानी गरेको भेटिएको विशेषको ठहर छ । साथै, खरिद सम्झौताबमोजिम गर्नुपर्ने मर्मतको कार्य नगरी झुटा बिलका आधारमा भुक्तानी दिएकोसमेत पुष्टि भएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्दा विद्युत् आपूर्तिको सुनिश्चितताका लागि नेपाल विद्युत् प्राधिकरणसँग ११ केभी फिडर लाइन जडान गर्न अनुरोध गरी सुरक्षण मुद्रण केन्द्रबाट एक करोड ५४ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो । यसअनुसार पूर्वाधार तयार भई लाइन जडान गर्ने काम मात्र बाँकी थियो । यस्तो अवस्थामा आवश्यकता र औचित्य नै नभएको तीन लाख लिटर क्षमताको ‘बल्क फ्युल ट्यांक सिस्टम’ खरिद तथा निर्माण गरी पौडेलले सरकारी सम्पत्तिको गैरकानुनी रूपमा हानिनोक्सानी गरेको इजलासले जनाएको छ । संक्षिप्त फैसलामा पौडेलमाथि अभियोग पुष्टि हुने आधारबारे मुख्य विषय यही उल्लेख छ । 

मुद्रण केन्द्रको प्रमुख कार्यकारी निर्देशक रही निर्णायक भूमिकामा रहेका पौडेलका कारण १९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको इजलासको ठहर छ । पौडेलले आफूमातहतका कर्मचारीलाई टिप्पणी तथा राय पेस गर्न लगाई टिप्पणी स्वीकृत गरी आफैँले नै सम्झौता गरेको, तर सम्झौताविपरीतका सामान स्वीकार गरी भुक्तानीसमेत गरेको भन्दै भ्रष्टाचार मुद्दामा उनीमाथि कसुर पुष्टि हुने फैसला भएको हो । पौडेललाई विशेषले दुई वर्ष कैद तथा बिगोको दामासाहीले हुन आउने रकम २५ करोड ४७ लाख रुपैयाँ जरिवाना र बिगोबराबरको रकम असुल हुने फैसला गरेको छ । 
त्यस्तै, नवीनकुमार पोखरेलले गुणस्तरहीन ट्रान्सफर्मरलाई सम्झौतामा उल्लेख भएअनुसार नै रहेको भनी गलत विवरणसहितको प्रतिवेदन दिएका थिए । साथै, जुन देशबाट ल्याउनुपर्ने हो त्यहाँबाट नल्याएको सामानलाई पनि स्पेसिफिकेसनबमोजिमको रहेको भनी प्रतिवेदन दिएका थिए । 

उनी तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट केन्द्रमा प्रतिनिधिका रूपमा सिडिई (मेकानिकल) पदमा रहेका थिए । सम्झौताबमोजिम जडित यन्त्रको मर्मत कार्य नै नगरिएको अवस्थामा उनले भए–गरेको भनी झुटा बिल चेक जारी गरी भुक्तानीका लागि पेस गरेका थिए । उनलाई विशेषले ६ महिना कैद सजाय सुनाएको छ । साथै, पाँच करोड ८४ लाख रुपैयाँ जरिवाना र बिगोबराबर रकम असुलउपर हुने फैसलामा उल्लेख छ । 

इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान पनि दोषी ठहर भएका छन् । उनले सम्झौताविपरीत कम गुणस्तरको सामग्री र तोकिएको भन्दा फरक मुलुकबाट सामान उपलब्ध गराएका थिए । साथै, मर्मत गर्दै नगरी गरेको भनी चेक भुक्तानी लिएको भेटिएपछि विशेषले सजाय सुनाएको हो । उनलाई पाँच करोड ८४ लाख रुपैयाँ जरिवाना र सोही रकमबराबर असुलउपर हुने फैसला भएको छ । 

विशेषले मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनलाई पनि दोषी ठहर गर्दै सजाय सुनाएको छ । परामर्शदाताका रूपमा रहेका उनले गुणस्तरहीन ट्रान्सफर्मर चेकजाँच गरी सम्झौता र स्पेसिफिकेसनअनुसार नभएको सामानलाई पनि सम्झौताअनुसारकै रहेको भनी प्रतिवेदन दिएका थिए । उनलाई विशेषले पाँच करोड ७९ लाख रुपैयाँ जरिवाना र सो रकम असुलउपर हुने फैसला गरेको छ । 

त्यस्तै, मुद्दाका प्रतिवादीहरू रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरीष उपाध्याय, रामबहादुर बुढा र मित्रलाल गुरौँले सफाइ पाएका छन् । पोखरेल केन्द्रमा प्रतिनिधिका रूपमा थिए भने महर्जन शाखा अधिकृत थिए । उपाध्याय पनि शाखा अधिकृत हुन् । बुढा लेखा अधिकृतबाट सेवानिवृत्त भइसकेका हुन् भने गुरौँ परामर्शदाता कम्पनीको प्रबन्ध निर्देशक थिए । 

 चार महिनादेखि अख्तियारको हिरासतमा रहेका पौडेलविरुद्ध विशेषमा अन्य दुई मुद्दा विचाराधीन
सक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचार मुद्दामा दोषी ठहर पौडेल चार महिनादेखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । उनीविरुद्ध विशेषमा अन्य दुई मुद्दा पनि विचाराधीन छन् । पछिल्लोपटक गत ३० वैशाखमा अख्तियारले प्रेस खरिदमै अनियमितताको आरोपमा ४० करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । त्यसअघि सरकारी पदमै रहँदा अमेरिकाको पिआर लिएको भन्दै मुद्दा दायर भएको थियो ।

अख्तियारले उनको सम्पत्ति समेत छानबिन गरिरहेको छ । जसमा ५० करोड रुपैयाँभन्दा धेरै स्रोत नखुलेको सम्पत्ति भेटिएको स्रोत बताउँछ । सिंगापुरमा बैंक खाता खोलेर ठेक्काका कमिसन उनले त्यहीँ जम्मा गर्दै आएका थिए । अमेरिकामा रहेको सम्पत्तिको पनि अख्तियारले खोजी गरिरहेको छ ।