१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
२o८१ जेठ ७ सोमबार o७:o६:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आन्दोलनबाट आएको नेतृत्व र देश निर्माण

आन्दोलनबाट उठेको नेतृत्वले मात्र देशको विकासलाई गति दिन सबै पार्टी र जनतासहित बृहत् राष्ट्रिय संकल्प तथा सहमति निर्माण गर्न सक्छ

Read Time : > 5 मिनेट
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:o६:oo

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापनापछि नेपाली राजनीतिक आन्दोलनले गति लियो । ७५ वर्षको अवधिमा हामीले संघीय लोेकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौँ । तत्कालीन प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले र समाजवादी आन्दोलनको नेतृत्व नेकपाले गर्‍यो । २००७ वरिपरिदेखि उठेको राजनीतिक आन्दोलनको पृष्ठभूमिमा सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा बिपी कोइराला देखा पर्नुभयो । नेपाली समाजको राजनीतिक रूपान्तरणका लागि सशस्त्र क्रान्तिकै नेतृत्व उहाँले गर्नुभयो ।

राणाशाहीविरुद्ध संसदीय व्यवस्था र प्रजातन्त्रको वकालत गर्दै मुक्तिसेना निर्माण गरी नेपालको राजनीतिमा आन्दोलनको जबर्जस्त धक्का दिने काममा उहाँको अतुलनीय योगदान रह्यो । नेपाली राजनीतिक आन्दोलन अर्थात् वर्ग संघर्षले स्थापित गरेको नेतृत्वका रूपमा बिपी कोइराला तत्कालीन युगको अग्रपंक्तिमा हुनुहुन्छ । विश्व राजनीतिक धरातल मूलतः तत्कालीन अवस्थामा विश्वका ३६ देशमा भएको एकल कम्युनिस्ट शासन र युरोपका कैयौँ देशमा भएको युरो कम्युनिज्मको लहर र नेपालको राजनीतिक आन्दोलनको अवस्थालाई मध्यनजर गर्दै प्रजातान्त्रिक समाजवादको विचारकका रूपमा उहाँ स्थापित हुनुहुन्छ ।

उहाँका विचारलाई आज कांग्रेसले अनुसरण गर्दै आएको छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुँदै शेरबहादुर देउवासम्मले यसको सशक्त नेतृत्व गर्दै आउनुभएको छ । तत्कालीन युगको अर्का नेता पुष्पलालले ९ वैशाख २००६ मा नेकपाको स्थापना गरी नेपाली समाजको राजनीतिक रूपान्तरणका लागि वर्ग विश्लेषण गर्दै अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाली समाजलाई नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादसम्म लैजाने मार्गनिर्देशन गर्नुभयो । तत्कालीन अवस्थामा उठेको किसान आन्दोलन र वर्ग संघर्षमा उहाँको अतुलनीय योगदान छ ।

भारत र चीनमा भएको माओवादी आन्दोलनको प्रभावबाट प्रेरित भएर उठेको किसान आन्दोलन, विभिन्न खालका जातीय तथा वर्गसंघर्षको एकीकृत अभिव्यक्तिका रूपमा जन्मिएको झापा विद्रोह नेपाली राजनीतिक र कम्युनिस्ट आन्दोलनको एउटा अविस्मरणीय परिघटना हुन् । यसबाट जन्मेको सकारात्मक र नकारात्मक परिस्थिति, सन् १९९० पछि विश्व राजनीतिमा देखिएको फेरबदल, शीतयुद्धको अन्त्य, सोभियत संघको विघटन, एकधुव्रीय विश्व व्यवस्था आदिले पैदा गरेको वैचारिक दबाब एकातिर थियो भने अर्कातिर नेपाली राजनीतिक आन्दोलनको शृंखला झापा विद्रोहपछि, २०३१ सालको सत्याग्रह र विमान अपहरण, २०३६ सालको जनआन्दोलन र जनमत संग्रह, २०४२/४३ सालको बमकाण्ड हुँदै २०४६ को जनआन्दोलनसम्म आइपुग्दा त्यसले जन्माएको नेतृत्व मदन भण्डारीे बहुदलीय जनवादको वकालत गर्दै कम्युनिस्टप्रतिको जनलहरलाई जनमतमा रूपान्तरण गर्न सफल हुनुभयो । आज नेकपा एमालेले उहाँको विचारलाई अनुसरण गर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न धारमध्येका मोहनविक्रम सिंह एउटा सशक्त क्रान्तिकारी धारका रूपमा स्थापित नेतृत्व हुन् । 

बलियो र स्थिर सरकार बनाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुरानो संसदीय व्यवस्थाभन्दा माथि उठाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री तथा सबै तहमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी छ
 

विश्व परिस्थितिमा देखा परेको फेरबदल र नेपाली राजनीतिक आन्दोलनका कारण र नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्नमाथिको बहस र अन्तरविरोधबाट जन्मिएको मशाल, चौम हुँदै रूपान्तरण भएको नेकपा (एकता केन्द्र) ले नेपाली समाजको वर्गविश्लेषण, नेपाली वर्गसंघर्ष, राजनीतिक आन्दोलनको शृंखलाको ठिक ढंगले विश्लेषण र संश्लेषण गर्दै संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी क्रान्तिमार्फत नयाँ जनवादी व्यवस्था हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्यसाथ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको नेतृत्व लिनुभयो । नेपालको राजनीतिक आन्दोलनमा नेपाली जनयुद्ध समाज रूपान्तरणको एउटा अतुलनीय परिघटना बन्न पुग्यो । यसले संसदीय पार्टीसमेतलाई गणतन्त्रवादी बनाउँदै दोस्रो ऐतिहासिक जनआन्दोलनसँग जनयुद्धको समायोजन गरी राजतन्त्र अन्त्य र संघीय लोेकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भयो । 

यसको सफल नेतृत्व गर्नुहुने सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा प्रचण्ड आजको समसामयिक कम्युनिस्ट आन्दोलनको मात्र नभई नेपाली राजनीतिक आन्दोलनकै दूरदर्शी र गतिशील नेतृत्वको रूपमा देखा पर्नुभएको छ । बाँकी राजनीतिक क्रान्ति र मूलभूत रूपमा आर्थिक क्रान्ति सम्पन्न गर्नु आजको मुख्य चुनौती हो । यसलाई सामना गर्न हिजोको विचार, कार्यक्रम, कार्यदिशा र नेतृत्वले मात्र पुग्दैन । भूमण्डलीकृत दलाल र वित्तीय पुँजीवादले कुनै पनि देशलाई स्वतन्त्र ढंगबाट आर्थिक क्रान्ति सम्पन्न गर्न दिँदैन । आजको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, नेपालको भूराजनीतिक अवस्था, विज्ञान र प्रविधिको विकास अर्थात् ठोस परिस्थितिको ठोस विश्लेषणबाट मात्र आर्थिक क्रान्तिलाई अगाडि बढाउन सकिन्छ । 

सामाजिक न्यायसहितको वितरण प्रणाली, दिगो विकास र पर्यावरणीय सुरक्षा, सुखी र खुसी नेपाली र सुशासनको प्रत्याभूति दिन सक्ने समसामयिक नेतृत्वको हिसाबले आज पनि त्यसको सामथ्र्य प्रचण्डमै देखिन्छ । माओवादी आन्दोलनको टुटफुट र कम्युनिस्टलाई एकताबद्ध गर्ने, समाजवाद मान्ने शक्तिलाई मोर्चाबन्दी गर्ने र पुँजीवादी शक्तिसँग आर्थिक क्रान्तिका लगि सहकार्य गर्ने क्षमता प्रचण्डमै देखिन्छ ।

जनयुद्ध र शान्ति प्रक्रियाले स्थापित नेतृत्व भएको हिसाबले अबको आर्थिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा पनि इतिहासले प्रचण्डकै काँधमा सुम्पिएको छ । नेपालको राजनीतिक आन्दोलनको शृंखलाले के निष्कर्ष निकाल्छ भने आजको युगको आर्थिक क्रान्ति पूरा नगरी उम्कने अधिकार प्रचण्डलाई छैन । त्यसैले, प्रचण्ड जिम्मेवार, दूरदर्शी, स्थापित, गतिशील र लचकदार बन्न आवश्यक छ । एउटा पार्टीको मात्र होइन, नेपालकै राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको राजनीतिक नेतृव प्रचण्डले लिनुपर्ने देखिन्छ । त्यसका लागि आफ्ना सम्पूर्ण कमी–कमजोरीलाई सच्याउँदै नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरूलाई उच्च सम्मान र एकताबद्ध गर्दै समुन्नत नेपाल बनाउने अभियानमा दृढतापूर्वक लाग्न आवश्यक छ ।

साम्राज्यवादको उत्तर आधुनिकतावादी विचार र भुमण्डलीकृत वित्तीय दलाल पुँजीवाद विज्ञान, प्रविधि, सूचना, सञ्चारको तीव्र विकासपछि साइबरनेटिक डिजिटल युगमा प्रवेश गरेको छ । यो गति नानो टेक्नोलोजी, जेनोम हुँदै कृत्रिम बौद्धिकतातर्फ तीव्र रूपमा अगाडि बढिरहेको छ । यसले विश्व मानव समाजमा पार्ने प्रभाव र साम्रज्यवादले गर्न सक्ने दुरुपयोगलाई समेत ध्यान दिँदै आधारभूत वर्गविश्लेषण र बदलिएको परिस्थितिमा नेपाली समाजको वर्गविश्लेषणको नयाँ परिभाषा संश्लेषण गर्नुपर्ने देखिन्छ । 

आजको विश्वको मूल प्रवृत्ति भूमण्डलीकृत वित्तीय पुँजीवाद (मुद्रा लगानी गरेर मूलतः मुद्रा नै कमाउने पुँजीवादी सुदखोर) र डाटा साम्राज्यवादविरुद्ध वैज्ञानिक समाजवादी क्रान्ति हुन पुगेको छ । जसले सम्पूर्ण उत्पीडितको आन्दोलनको नेतृत्व गर्नेछ । वैचारिक रूपमा नेपाली राजनीतिक आन्दोलन मात्र नभई दक्षिण एसिया, एसिया, हिन्द–प्रशान्त क्षेत्र, विश्वको राजनीतिक आन्दोलनको पुनर्संरचना, साम्राज्यवादीबीच अन्तरविरोधको पहिचान र प्रयोगमा पहल पु¥याई साम्राज्यवादविरोधी अन्य न्यायपूर्ण आन्दोलनसमेतलाई संगठित, परिचालित र घनीभूत बनाउन सचेत पहल गर्नुपर्ने देखिन्छ । 

नेपाल विकासको मार्गचित्र र हाम्रो विशेषताको वैज्ञानिक समाजवादको अर्थराजनीतिका आधारमा मार्गचित्र ठोस गरी त्यसको प्राप्तिका लागि संसद्, चुनाव, जनमतसंग्रह, सरकार, सामाजिक सत्ता, सडक र विज्ञानको उचित प्रयोग गर्नुपर्छ । विज्ञान र प्रविधिको अधिकतम उपयोग गरी पुँजीवादी, साम्यवादी, बहिर्मुखी र व्यवहारवादी अर्थतन्त्रका राम्रा पक्षलाई समेटेर नेपाली मौलिकतासहित जनताको सहभागितामा मिश्रित र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्छ । नेपालको विकासलाई गति दिन सबै पार्टी र जनतासहित बृहत् राष्ट्रिय संकल्प र राष्ट्रिय सहमतिको आधार तयार गरी केही दशकसम्म उत्पादन, उत्पादन र फेरि पनि उत्पादन गर्ने औद्योगिक क्रान्तिको ठोस नीतिबाट मात्र यो देशलाई विकसित बनाउन सकिन्छ ।

छिमेकी चीन र भारतको तीव्र आर्थिक विकासको गतिले नेपालमा ठूलो सम्भावना र चुनौती खडा गरेको छ । यसलाई उपयोग गर्न एकीकृत र सन्तुलित राष्ट्रिय सोच, सहमति र संकल्प आवश्यक छ । साम्राज्यवाद र विस्तारवाद वा बाहिरी शक्तिकेन्द्रको हस्तक्षेप अन्त्य गर्न, कमजोर बनाउन वा तटस्थ राख्न प्रधान र सहायक छुट्याएर कूटनीतिक सम्बन्ध र संघर्षलाई व्यवस्थित र वैज्ञानिक बनाउनुपर्छ । आजको बहुधु्रवीय विश्वको नयाँ परिवेशमा देखिएको भारत–चीन, अमेरिका–चीन, रुस–युरोप–अमेरिकाबीच द्वन्द्वका संकेतबाट बच्दै नेपाललाई तटस्थता र शान्तिको पक्षमा दह्रोसँग विश्वमा देखिने गरी उभ्याउन सक्नुपर्छ । 

नेपालमा रहेका सबै जाति र सबै भाषालाई समेटेर सबै सभ्यता, भाषा, धर्म, संस्कृति र मनोविज्ञानलाई सामूहिक रूपमा संरक्षण गर्न के–के गर्नुपर्ने हो ? हाम्रो संस्कृति के हुने हो ? सामाजिक फजुल खर्चलाई कसरी कटौती गर्ने ? त्यसबाट बाँचेको खर्बौं रुपैयाँलाई उत्पादनमा कसरी लगाउने ? नेपालको परम्परागत मौलिक उत्पादनमध्ये कुनको संरक्षण गर्ने र कुनलाई परिमार्जन गर्ने ? त्यसलाई बजार र प्रविधिसँग कसरी जोड्ने ? नेपाली सभ्यताको संरक्षण कसरी गर्ने ? राष्ट्रिय एकताको नेपाली मौलिकतालाई कसरी मजबुत बनाउने ? यस विषयमा त्यसको खोज अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

बलियो र स्थिर सरकारका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुरानो संसदीय व्यवस्थाभन्दा माथि उठाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री तथा सबै तहमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउँदै पुरानो संरचनामा आधारित सेना, प्रहरी, कर्मचारी, अदालत, शिक्षा र जातीय पहिचान (आन्तरिक राष्ट्रियता) को वैज्ञानिक पुनर्संरचना गर्नुपर्छ ।

राज्यमा जनताको सक्रिय सहभागिता, निगरानी, नियन्त्रण, हस्तक्षेप गर्ने विधिको विकास गर्दै र राज्यलाई दमन गर्ने संस्थाबाट व्यवस्थापकीय संस्थामा बदल्ने, सरकार र जनताको काममा आलोपालो गर्ने, सेनालाई जनताको श्रम र विकास निर्माण तथा उत्पादनमा जोड्ने, भ्रष्टाचार र सुशासनमा शून्य सहनशीलता, निरन्तर क्रान्तिजस्ता २१औँ शताब्दीको जनवादको थप व्याख्या र विकास गरी कार्यान्वयन गर्ने । एक व्यक्ति, एक पद, एक अवसरको नीतिद्वारा बढीभन्दा बढी जनतालाई राजनीतिमा सहभागी गराउने ।

निजी सम्पत्तिको पूर्ण सुरक्षाको प्रत्याभूति गराउँदै सहकारी र सामुदायिक तथा राष्ट्रिय सम्पत्तिको गुणात्मक वृद्धिमा जोड दिने । राज्य नियन्त्रित उद्योगमा जोड दिने । व्यवस्थित र प्रगतिशील कर तथा सबै प्रकारका आम्दानीलाई करको दायरामा ल्याउने । कृषिमा अर्गानिक उद्योगमा जोड दिने, पानी र युरेनियमको सुरक्षा र त्यसको उचित उपयोग तत्काल गर्ने । पर्यटन उद्योगको गुणात्मक विकास गर्नुपर्छ । धेरै उत्पादन धेरै निर्यात, थोरै आयात, धेरै निर्यात गर्ने वैदेशिक व्यापार नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । भ्रष्टाचारमुक्त समाज, निःशुल्क शिक्षा, स्वास्थ्य, सरकारी सेवा, सुरक्षा, पूर्वाधार विकास, आवास, पानी, ट्राफिक, फोहोर व्यवस्थापन, न्याय, मनोरञ्जन, सञ्चार र अनिवार्य बजार व्यवस्थापन, दलित र सुकुम्बासी आवास कार्यक्रम, रोजगारी र स्वरोजगार कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ ।

(गोतामे बागमती प्रदेश सभा सदस्य हुन्)

ad
ad