१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा खडेरीले  मकै सुक्न थालेपछि कृषक चिन्तित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:o५:oo

पछिल्लो समय परेको खडेरीको कारण उदयपुरमा मकै बाली सुक्न थालेपछि कृषक चिन्तित बनेका छन् । सिँचाइ सुविधा नभएका खेतबारीमा लगाएको मकै सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । पानी नपरेपछि चैत महिनामा खेतबारीमा लगाएको मकै खडेरीले सुक्न थालेको छ। उदयपुरगढी गाउँपालिकाका कृषक मोहन खत्रीले सिँचाइ सुविधा नभएको खेतबारीमा मकै सुक्न थालेको बताए । उनले भने, ‘ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएकाले सुकेर मर्न थालेका छन् । अब एक हप्ता पानी नपरे पहाडी क्षेत्रमा मकै उत्पादन हुँदैन भन्दा हुन्छ ।’

जिल्लाको आठ पालिकामा पर्ने पहाडी क्षेत्रमा सिँचाइ सुविधा छैन । भित्री मधेशमा पर्ने चुरे क्षेत्रका सीमित क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । जसमा खडेरीको कारण मकैका बिरुवा मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । चैतको अन्तिमयता एकपटक पनि वर्षा नभएपछि पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका, रौतामाई, ताप्ली उदयपुरगढी गाउँपालिका बढी प्रभावित हुने भएको छ । 

यता त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी, बेलका नगरपालिका क्षेत्रमा पनि मकै सुक्न थालेको स्थानीय कृषकको भनाइ छ । कटारी नगरपालिका– ११ का कृषक राजन राउतले पहाडी क्षेत्रमा मकै सुक्न थालेको बताए । उनले भने, ‘सिँचाइ सुविधा छैन, आकाशबाट पानी नपरेकाले मकै बाली सुक्न थालेको छ । खडेरीकै कारणले वर्षभरि खान पुग्ने मकै मर्न थालेपछि चिन्ता थपिएको छ ।’

चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आँपटारका कृषक वीरबहादुर राईले बताए। ताप्ली गाउँपालिका– १ पिपलभन्ज्याङका कृषक तोपबहादुर ठकुरीले वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा नै मर्ने अपेक्षा नभएको दुःखेसो पोखे । तर, खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका उनले बताए । यसपटक मकैखेती नसप्रेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

खडेरीका कारण जिल्लाको भित्री मधेश चुरे क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन् । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीका कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवले खडेरीले उदयपुरमा मकै बालीमा क्षति पुर्‍याएको बताए । उनले भने, ‘हामीले खडेरीले क्षति पुर्‍याएको बालीको तथ्यांकचाहिँ लिएका छैनौँ, तर खडेरी सिँचाइ नपुगेका क्षेत्र र पहाडी क्षेत्र प्रभावित बनाएको छ ।’

ad
ad