रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै आमरण अनशनमा रहेका परिवारजनले १७औँ दिनमा आइतबार अनशन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट उनीहरूको माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाइएपछि अनशन तोडेका हुन् ।
‘प्रधानमन्त्रीका तर्फबाट हाम्रा माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता आएपछि आमरण अनशन स्थगित गरेका हौँ । तर, हामी न्यायको आवाज अन्य तरिकाले जारी राख्नेछौँ,’ रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले नयाँ पत्रिकासँग भनिन् । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ३९ जनाको मृत्यु भएको र थप १८ जनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उनले बताइन् ।
भण्डारीको नेतृत्वमा परिवारले सिंहदरबार घेराउदेखि रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका थिए । रुसी सेनामा रहेकाहरूले करार रद्द गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनशन तोडाएका थिए ।
‘परिवारजनले सरकारमार्फत रुससँग न्याय मागेका हुन् । यसका लागि निरन्तर दबाब दिइरहन्छौँ,’ भण्डारीले भनिन् । उनका अनुसार हालसम्म रुसमा कार्यरत रहेकामध्ये उनीहरूसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् । ‘३९ जना नेपालीको मृत्यु भएको विवरण प्राप्त भएको छ ।