१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १४:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुटवल उपमहानगरमा नेपाली, थारू, मगर र नेवारी भाषामा नागरिक बडापत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:o५:oo

बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ।

कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित थारू, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याएको हो।

बुटवल उपमहानगरमा बसोवास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा चार भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमबीच उपमहानगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरे।

प्रमुख पाण्डेयले जनसंख्याको आधारमा चार भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरू केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए। ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य चार भाषाको बडापत्र तयार गरेका छौँ,’ उनले भने।

आगामी दिनमा आवश्यकताअनुसार अरू भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिने उनले बताए। उनले स्थानीय स्तरमा थारू, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरूको संलग्नतामा बडापत्र तयार गरिएकाले भूगोलअनुसार भाषामा फरक आउन सक्ने बताए।

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषा र अन्यत्रका भाषाहरूमा मेल नखान सक्छ भन्ने विज्ञहरूकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौँ,’ उनले भने, यसमा विज्ञहरूले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकूल परिमार्जन गर्दै लगिन्छ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति, भाषा, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चार भाषामा बडापत्र तयार गरिएको बताइन्। उनले बुटवलले आगामी दिनमा अरू भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८, नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या छ।

बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन्। आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ।

सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिनेछ। कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामबारे जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ।

बडापत्रलाई पुस्तकका रूपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रूपमा सबै वडाहरूमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए। 
 

ad
ad