१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठाैँ विराट गोल्डकप : मच्छिन्द्र र सांग्रिला  उपाधिका लागि भिड्दै 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१९:oo

मच्छिन्द्र फुटबल र घरेलु टोली सांग्रिला मोरङ क्लबले आज आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आमने–सामने गर्दै छन् । पहिलोपटक फाइनलमा पुगेको मच्छिन्द्र उपाधिसहित घर फर्कने योजनामा रहँदा मोरङ भने तेस्रोपटक गोल्डकपको उपाधि घरमै राख्ने दाउमा छ ।

मोरङले इटहरी गोल्डकपको च्याम्पियन चर्च ब्वायज युनाइटेडलाई सडनडेथमा ४–३ र भुटानको आरटिसी एफसीलाई ३–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

यस सिजनमा उत्कृष्ट फर्ममा रहेको मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताका साउर्थन समिति २–१ ले र सेमिफाइनलमा सिक्किम ड्रागान भारतलाई १–० ले पाखा लगाएको थियो । बलियो टोलीमाथि जित निकालेको मोरङ फाइनल जित्ने पक्षमा विश्वस्त देखिन्छ । मच्छिन्द्रले उपाधि भिडन्तमा घरेलु टोलीलाई हल्का रूपमा नलिने योजनामा छ । 

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले मोरङविरुद्ध सुरुदेखि आक्रामक रणनीतिले खेल्ने बताए । ‘हामी फाइनलमा पूरै आक्रामक रूपमा प्रस्तुत हुन्छौँ,’ उनले भने । कप्तान विशाल श्रेष्ठले पहिलोपटक फाइनल पुगेकाले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने बताए । ‘नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नेछौँ,’ श्रेष्ठले भने, ‘हामी ट्रफी उचाल्न राम्रो खेल्छौँ ।’ मोरङका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरेका छन् । मोरङका कप्तान अभिषेक लिम्बूले अघिल्ला खेलको कमिकमजोरी सुधार गरी प्रदर्शन गर्ने बताए । 

यसअघि ०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टोली मोरङ ११ उपविजेता भएको थियो । त्यसवेला भारतको कलकत्ताले गोल्डकपको उपाधि जितेको थियो । ०१९ मा मोरङ–११ ले उपाधि हात पारेको थियो । सातौँ संस्करणमा विराटनगर सिटीले पाहुना टोली भारत, केरलाको लुका सकर क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।  

सिजनमा तेस्रो गोल्डकप जित्ने लक्ष्य हो : सन्तोष न्यौपाने, प्रशिक्षक, मच्छिन्द्र
हामीले यस सिजनमा तेस्रो गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेका छौँ । हामीले केपी ओली कप र बागमती गोल्डकप जितेका छौँ । यहाँ सुरुमा दुई लक्ष्य लिएर आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने । फाइनल पुग्ने सपना पूरा भयो । अब आज उपाधिसहित घर फर्कने लक्ष्य पनि पूरा गर्छौँ । 

घरेलु मैदान र दर्शकको साथ छ : रानु रानामगर, प्रशिक्षक, मोरङ
मच्छिन्द्र राम्रो टोली हो । साथै, यहाँ अनुभवी खेलाडी छन् । हामी उनीहरूविरुद्ध टेक्निकल खेल प्रदर्शन गर्नेछौँ । उपाधि भिडन्तमा केही फरक हुनेछैन । अघिल्लो खेल जस्तो थियो, आज पनि यस्तै हुनेछ । अझ हामीलाई घरेलु मैदान र समर्थकको साथ छ । खेलाडीबीचको तालमेल राम्रो छ । 

ad
ad