१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले ललितपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:३३:oo

नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । यही चैत २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका– १ इमाडोलमा हुने अधिवेशनको तयारी पूरा भएको बुधबार सातदोबाटोस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ । 

पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेदेखि लिएर राजनीतिक तथा संगठनिक प्रतिवेदन तयारी पूरा भएको प्रचार उपसमिति संयोजक ब्रह्मानन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिवेदन तयार भई प्रकाशनका लागि पठाइएको छ । 

अधिवेशनको उद्घाटनका दिन स्वास्थ्य उपसमितिले स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम राखेको छ । श्रेष्ठका अनुसार सांस्कृतिक उपसमितिले उद्घाटनका लागि आवश्यक विविध सांस्कृतिक कार्यक्रमहरूको तयारी गरेको छ । विभिन्न उपसमितिले अधिवेशनलाई पूर्ण व्यवस्थित बनाउन आफ्नो जिम्मेवारी पूरा गरेका छन् । 

प्रचार उपसमितिका सचिव बालमुकुन्द आचार्यले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, तीनवर्षे कार्ययोजनालगायतका प्रतिवेदन अधिवेशनमा पेस गरिने जानकारी दिए। 

अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधि, लेखा समिति, सल्लाहकार समिति, मनोनीत गरी करिब पाँच सय प्रतिनिधि चयन गरिएको प्रचार उपसमिति सहसंयोजक श्याम शर्मा बजगाईंले बताए। 

अधिवेशनका लागि अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा चार सय ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ । जसअनुसार राजनीतिक तथा सांगठनिक प्रतिवेदन समिति संयोजकमा अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर समद्धिका आधार निर्माण समितिको संयोजकमा पार्टी केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा जिल्लासचिव राम राउत छन् । 

यसैगरी, जनपरिचालन उपसमितिको संयोजकमा जिल्ला उपसचिव श्याम व्यञ्जनकार, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला संगठन विभाग प्रमुख अष्टवीर व्यञ्जनकार छन् । खाद्य व्यवस्थापन उपसमितिको संयोजकमा पवन केसी, सांस्कृतिक उपसमितिको संयोजकमा आशा राई तथा आर्थिक उपसमितिमा गम्भीर राना र निर्वाचन समितिमा पुरुषोत्तम ढुंगाना संयोजक छन् । 

यसैगरी, लेखा समितिमा रघुनाथ घिमिरे, प्रचार उपसमितिमा ब्रह्मानन्द श्रेष्ठ, अतिथि सत्कार उपसमितिमा अन्नपूर्ण बस्नेत, स्वास्थ्य उपसमितिमा कमला थापा र स्वयंसेवक व्यवस्थापन उपसमितिमा साजन दर्लामी (राजकुमार) संयोजक छन् । 

यसैबीच जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले नवौँ अधिवेशनमा प्रतिनिधि छनोट गरेको विषयलाई शंका–उपशंकाका दृष्टिबाट नहेर्न आग्रह गरेका छन् । अधिवेशनको जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्ला अधिवेशन निर्देशिका, २०८० अनुसार नै प्रतिनिधि छनोट गरिएको बताए।

ad
ad