१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ८ मंगलबार o६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गोठबाट सल्केको आगोले १३० घर खरानी

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:४२:oo

सप्तरी महादेवा– १ चिम्टी टोलका शत्रुधन यादवले मंगलबार दिउँसो गाईभैँसीलाई दाना पकाउन गोठमा पराल सल्काएर आगो बालेका थिए, अचानक चलेको हावाले आगोको झिल्का उडाएर छानातिर पुर्‍यायो, बताससँगै फैलिएको आगोको लप्काले सिंगो बस्ती सखाप बनायो 

सप्तरीको महादेवा गाउँपालिका– १ चिम्टी टोलका शत्रुधन यादव मंगलबार दिउँसो भैँसीगोठमा पराल सल्काएर दाना पकाउँदै थिए । २ बजेतिर अचानक चलेको बतासले आगो दन्किरहेको पराल उडाएर गोठको छानातिर पुर्‍यायो । बतास पश्चिमबाट पूर्वतिर चलेको थियो । शत्रुधनको घरगोठको पश्चिमतिर खेत छ, पूर्वतिर लहरै बस्ती । बताससँगै मच्चिएको आगो पूर्व सर्दै एकपछि अर्को गर्दै चिम्टी टोल नै सखाप बनायो ।

वडाध्यक्ष जयकिशोर दासले आगलागीबाट एक सय ३० परिवारको दुई सयभन्दा बढी घरगोठ जलेको र करिब तीन सय विस्थापित भएको बताए । उनका अनुसार मानवीय क्षति नभए पनि भौतिक रूपमा अनुमानित पाँच करोडभन्दा बढीको नास भएको छ । त्यस्तै, सप्तरी प्रहरी प्रमुख एसपी गजुसिद्धि मानन्धरले घर मात्रै एक सय नौ परिवारको जलेको प्रारम्भिक तथ्यांक प्राप्त भए पनि यकिन हुन बाँकी रहेको बताए । 

दलित र मुस्लिम समुदायको घना बसोवास रहेको उक्त बस्तीमा फुस र जस्तापाताले छाएका घर भएका कारण आगो तीव्र रूपमा फैलिएको थियो । स्थानीय रामदेव यादवले आँखैअगाडि आगोले आफ्नो घर ध्वस्त पारेको बताए । ‘घरसँगै लत्ताकपडा र अन्न सबै जल्यो, अब कहाँ बस्ने, के खाने ?’ उनले भने ।

स्थानीय बैजु यादवको घर पनि आगलागीमा पर्‍यो । दुई दिनअघि मात्रै दुलही भित्र्याएका उनलाई घरसँगै सबै सामान जलेर बज्रपात भएको छ । ‘हिजो मात्र भोज सकेर आज ससुरालीबाट दिएको सामान घरमा राख्दै थिएँ । त्यहीवेला छिमेकीको घरमा आगो लाग्यो भनेर मान्छेहरू चिच्याएको सुनेपछि त्यतै दौडिएँ,’ उनले भने, ‘तर, बताससँगै हुत्तिएको आगोको लप्कामा मेरो घर पनि पर्‍यो, घरसँगै भएभरको सम्पत्ति सबै खरानी बन्यो ।’

दाइजो प्रथाले गाँजेको मधेशमा छोरीको विवाह गर्न सहज छैन । चिम्टी टोलकी ७० वर्षीया अहिल्या देवीले नातिनीको बिहेका लागि वर्षौँदेखि गाँस कटाएर केही पैसा जम्मा गरेकी थिइन्, गरगहना जोडिदिएकी थिइन् । तर, आगलागीमा सबै सखाप भयो । ‘नातिनीको विवाहका लागि एक–एक रुपैयाँ जोडेर राखेकी थिएँ, तर नगद, गरगहाना सबै जलेर सखाप भयो, केही बचेन,’ उनले भनिन्, ‘अब नातिनीको विवाह कसरी हुन्छ, अब कसरी जुटाउन सक्छु र त्यत्रो पैसा ?’ 

पाँच घण्टापछि आगलागी नियन्त्रणमा, विस्थापित परिवार खेतमा
दिउँसो २ बजे लागेको आगो साँझ ७ बजेपछि मात्र नियन्त्रणमा ल्याइएको छ । त्यसका लागि चारवटा दमकल प्रयोग गरिएका थिए । सुरुमा हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको प्रयोग भए पनि आगो नियन्त्रणमा नआएपछि शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका र प्रहरीको दमकल पनि झिकाइएको थियो । चार दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय जुटेर आगो निभाएका थिए । 

घर जलेपछि विस्थापितको वास नजिकैको खेतमा भएको छ । खुला आकाशमुनि वृद्धवृद्धा, सुत्केरी र बालबच्चाको बिचल्ली छ । तत्कालका लागि खानाको व्यवस्था गरिएको महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डलले बताए । 

‘तीन सयभन्दा धेरै विस्थापित भएका छन् । उनीहरू बस्तीछेवैको खेतमा बसेका छन् । पालिकाले साँझ खानेकुराको व्यवस्था गरेको छ,’ उनले भने, ‘थप व्यवस्थापनबारे भोलि (बुधबार) बिहान मात्रै योजना बनाउनेछौँ ।’



 

ad
ad