कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा वार्तामा रहेका एमाले र माओवादी केन्द्रका नेताहरू बाहिरिएका छन्।
मुख्यमन्त्री शर्माको निवासमा एमालेका कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, एमाले स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्रीका आकांक्षी यामलाल कँडेल, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्मा र कर्णाली प्रदेश अध्यक्ष विमला केसी रहेका थिए।
कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताबीच छलफल जारी रहेको छ। मुख्यमन्त्रीले अहिले ३ बजे प्रदेश सभामा लिने भनेको विश्वासको मत लिएका छैनन्।
अहिले संसद् बैठक पनि चल्न सकेको छैन। तर, छलफल सकारात्मक रहे पनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली इन्चार्ज लेखराज भट्टले बताए। ‘ठोस सहमति हुन सकेको छैन।’ उनले भने, ‘छलफल सकारात्मक रूपमा भइरहेको छ।’
मुख्यमन्त्री शर्माले आज विश्वासका मत लिन यसअघि नै पत्र संसद् सचिवालयमा दर्ता गरिसकेका छन्। केन्द्रले कर्णालीको नेतृत्व एमालेलाई दिन परिपत्र गरे पनि मुख्यमन्त्री शर्मा नछाड्ने अडानमा छन्।