मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १९ सोमबार
  • Sunday, 23 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १९ सोमबार १७:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एउटा अनुसन्धानमाथि अर्काे छानबिन गर्दा प्रहरी काम गर्न डराउँछ : प्रदीप यादव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार १७:o४:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले एउटा अनुसन्धानमाथि अर्काे छानबिन उचित नभएको बताएका छन्। 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान चलिरहँदा ओभरटेक गरेर छानबिन गर्नु र कमजोरी देखिएको भनेर कारबाही गर भन्नु अपरिपक्व कदम भएको बताए। 

पूर्वन्यायाधीश र पूर्वप्रहरी अधिकारी सम्मिलित जाँचबुझ आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र सिआइबीको अनुसन्धानमा कैफियत देखाएपछि सरकारले महरालाई नियन्त्रणमा लिएर पुन अनुसन्धान थालेको छ भने सिआइबी प्रमुख परिवर्तन गरेको छ। 

सांसद यादवले भने एउटा छानबिन नसकिँदै त्यसमाथि अर्काे छानबिन गर्नु र कारबाही गर्नु उपयुक्त नभएको बताएका हुन्। ‘सुन प्रकरणमा प्रमाणको आधारमा सिआइबीले मुद्दा प्रक्रिया अगाडि बढाएको हो। नेपाल प्रहरीसँग नयाँ प्रविधि नहुँदा म्यानुअलबाट काम गरिरहेको छ। सीमित प्रविधिकै आधारमा काम गरिरहेको छ। तर, पनि सफलता हासिल गरिरहेको छ,’ उनले भने। 

यादवले थपे, ‘तर, सरकार सुन तस्करीमा काम गरिरहेको र प्रतिवेदन बुझाएको सिआइबीमाथि जाँचबुझ आयोग बनाउँछ। वर्तमान प्रहरीमाथि पूर्वप्रहरीले छानबिन गर्छ। अनुसन्धानमा खटिएको प्रहरी अधिकृतमाथि कारबाही गर्न सरकारलाई निर्देशित गर्छ। प्रतिवेदन कार्यान्वयनका निम्ति सरकार सिआइबीका अनुसन्धान अधिकृतलाई कारबाही गर्छ। यसरी छानबिनमाथि छानबिन गर्ने हो भने भोलिका दिनमा कोही पनि प्रहरी काम गर्न चाहँदैन। काम गर्न डराउँछ।’ 

सांसद यादवले प्रहरीले लगेको मुद्दामा जिल्लाले छोडिदिने, उच्चले थुनामा पठाउने र सर्वाेच्चले छोडिदिने अभ्यास रहेको भन्दै छानबिनमाथि छानबिन नीतिअनुसार यसमा उच्चले जिल्लालाई र उच्चलाई सर्वाेच्चले कारबाही गर्ने हो भने यो प्रणालीका लागि राम्रो नहुने चेतावनी दिए। 

‘यदि छानबिनमा कुनै व्यक्तिले गल्ती गरेको छ भने कारबाही गरोस्। तर, संस्थालाई बदनाम गर्ने काम नगरोस्, यसरी मनोबल खस्छ,’ उनले भने।  

सांसद यादवले छानबिनमाथि छानबिनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको बताए। ‘प्रहरीले अनुसन्धान गरी दोषी समातिसके पनि स्थानीयको आन्दोलन थेग्न नसकेको सरकारले छानबिन समिति बनायो, त्यसले काम गर्न सकेन। अर्काे छानबिन समिति बनायो, त्यसले पनि काम गर्न सकेन। र, आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। त्यो पत्ता पनि लाग्न सक्दैन, किनकि हत्यारालाई आन्दोलनको दबाबमा त्यही वेला छोडिसकेको छ,’ उनले भने। 

सांसद यादवले छानबिनमाथि छानबिन गर्नेभन्दा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनतिर लाग्नुपर्ने बताए। ‘त्यसकारण सरकार दबाबमा पर्ने होइन, न्यायोचित काम गर्न आफ्नो अनुसन्धान अधिकृतलाई खटाएर राम्रोसँग अनुसन्धान गरोस्। दोषी नउम्कियोस्, निर्दाेष नफसोस्, त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने।