१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यव्यवस्थाको बैठकमा पनि उठ्यो सहकारी ठगीको प्रसंग, कांग्रेस सांसदले मागे गृहमन्त्रीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार १२:५८:००

कांग्रेस सांसदले संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्। 

समितिका सभापति रामहरि खतिवडाले गृह प्रशासनको समसामयिक विषयमा छलफल गर्न आज बैठक बोलाएका थिए । बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने, गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरीका महानिरीक्ष वसन्तबहादुर कुँवरसहित उपस्थित छन् ।

सोही बैठकमा जिज्ञासा राख्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछानेले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुपर्ने धारणा राखेका हुन् । 

‘सहकारीको रकम दुरुपयोगको विषयमा व्यापक कुरा उठिरहेको छ । पोखराको एउटा सहकारीमा रवि लामिछाने नाम गरेका व्यक्तिले एक करोड रुपैयाँ लिएको देखिन्छ । बचतकर्ताहरूले अनुसन्धानका लागि उजुरी पनि दिएका छन्,’ सांसद बडूले भने, ‘ती लामिछाने भन्ने व्यक्ति अहिले हाम्रोबीचमा रहनुभएका गृहमन्त्री हुन् कि अरू कोही हुन् ? यस्तो विवाद आएपछि राजीनामा दिएर गृहमन्त्रीले निष्पक्ष छानबिनका लागि सघाउनु उपयुक्त हुन्छ ।’ 

सांसद बडूले यस विषयमा आफ्नो पार्टी कांग्रेसले प्रतिनिधिसभामा लगातार कुरा उठाइरहेको चर्चा गर्दै नैतिकता कमजोर हुँदै गएको राजनीतिमा नैतिकता प्रदर्शन गरेर गृहमन्त्री लामिछाने उदाहरण बन्न सक्नुपर्ने बताए । 

उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन ढिलाइ भएको भन्ने प्रश्न पनि गरे । विगतमा यही समितिको सदस्य रहँदा लामिछानेले सुन तस्करीको निष्पक्ष जाँचबुझ हुनुपर्ने कुरा उठाउने गरेको, छानबिन आयोगका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने धारणा राख्ने गरेको स्मरण गर्दै उनले भने, ‘प्रतिवेदन बुझेपछि गृहमन्त्रीले आफू यस्ता प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने पक्षको मान्छे हुँ भनेको सुनियो, तर कहिले हुन्छ सार्वजनिक ?’